
पोखरा-लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एमले पोखरामा आगामी वैशाख तेस्रो साता राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिप २०८२ आयोजना गर्ने जमर्को गरेको छ । सामाजिक क्षेत्रमा सक्रिय रहेको लायन्सले पहिलो पटक अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिता गर्ने तयारी गरेको हो ।
प्रतियोगिता आगामी बैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने छ । प्रतियोगितामा चार स्वदेशी क्लब र दुई विदेशी क्लबले प्रतिस्पर्धा गर्ने डिष्ट्रिक गर्भनर चण्डीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार पाकिस्तान भलिबल क्लब इस्लामावाद, नेपालका विभागीय क्लकहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश भलिबल संघ रहेका छन् । त्यस्तै अर्को विदेशी क्लबमा भारत तथा इरानको टोलीसँग छलफल भईरहेको उनले सुनाए ।
पोखरा पर्यटनको राजधानी घोषणा भईसकेको छ । भ्रमण वर्ष समेत घोषणा भएको अवस्थामा भलिबलको माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लायन्सको मुख्य ध्येय रहेको उनले बताए । भलिबल खेल मार्फत अन्तराष्ट्रियस्तरमा जोड्ने प्रयास हुने विश्वास लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एमले जनाएको छ ।
विजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ र तेस्रो स्थानमा रहने टोलीले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्ने अर्यालले जनाए । सर्वोत्कृष्ठ खेलाडीले १४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि लायन्स क्लबले ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।


पोखरा-पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६ अन्तर्गत भएको उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले नवलपुरलाई १९ रनको जित दर्ता गरेको छ। प्रतियोगिताको औपचारिक उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपेन्द्र…