सहारा एकेडेमीको सहयोगार्थ समर हाइकिङ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २५ गते २०८३ मा प्रकाशित


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको थियो । यो वर्ष भने सहाराले एकविहानको समर हाइकिङको योजना बनाएको छ । आउने शनिबार समर हाइकिङ मार्फत एकेडेमीलाई आर्थिक सहयोग जुटाउने क्लबको योजना छ । त्यही जुटेको सहयोगले एकेडेमीका बालकहरुको उज्वल भविष्य बनाउन खर्च गरिने क्लबले जनाएको छ ।

पोखरा महानगरपालिका–वडा नं ९ को कार्यालयको समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित सहारा फुटवल एकेडेमीको सहयोगार्थ ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ आयोजना तय गरिएको क्लबले जनाएको छ । पोखरा–९ स्थित फल्चाबाट बिहान करिब ७ बजे सुरु भई १४ सय मिटर अग्लो पर्यटकीय क्षेत्र काहुँडाँडासम्म हाईकिङको यात्रा तय गरिएको क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । प्रकृतिसँग रमाउँदै शारीरिक व्यायाममात्रै नभई सामाजिक सेवामा सहभागी गराउने उद्देश्य रहेको छ । प्रति व्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

पोखरा–१७ दोबिल्लास्थित एकेडेमीमा विभिन्न १६ जिल्लाका ३० जना बालकहरु छन् । सामाजिक सेवाको यस अभियानमा पोखरा महानगरपालिका वडा नम्बर ९, तमुधीं यूके, सहारा यूके, एन्फा कास्की लगायतका विभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोग रहेको सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले जानकारी दिए । हालसम्म हाइकिङका लागि करिब १ सय ५० जनाको नाम दर्ता भइसकेको र थप सहभागीलाई समेट्ने तयारी भइरहेको कार्यक्रम संयोजक पूर्णबहादुर गुरुङले बताए । ३ सय जनासम्म सहभागी गराउने लक्ष्य राखेको छ । सहारा क्लब पोखराले लामो समयदेखि सामाजिक सेवाका विभिन्न गतिविधिसँगै सहारा फुटबल एकेडेमी तथा आहा रारा पोखरा गोल्डकप सञ्चालन गर्दै आएको छ ।

“आशा, करुणा र उज्ज्वल भविष्यका लागि सँगै हिँडौँ भन्ने भावना सहित आयोजना हुन लागेको यस अभियानमा सबै क्षेत्रका नागरिकलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ । उक्त कार्यक्रम सफल पार्न पोखरा महानगरपालिका वडा नम्बर ९ ले २ लाख, तमु धिँ यूकेबाट २ लाख, अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीबाट ५० हजार, सहारा क्लवका मानार्थ सदस्य तथा सहारा यूकेका पूर्व अध्यक्ष एमबीई दिपीलकुमार गुरुङले २५ हजार, सहारा युकेका निर्वतमान अध्यक्ष कृष्णकुमार गुरुङबाट १० हजार, क्लवका आजीवन सदस्य मनोज गुरुङबाट १० हजार सहयोग गरेका छन् ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रन्जितले सहारा क्लवले निरन्तर फुटवल खेल विकासको लागि सहित सामाजिक कार्यमा लाग्दै आएकोले क्लवलको कार्यप्रति प्रोत्साहन गर्न उक्त सहयोग गरेको बताए ।