रोहितलाई सहारा पत्रकारिता पुरस्कार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ३० गते २०८३ मा प्रकाशित


पोखरा-सहारा क्लब पोखराले प्रदान गर्दै आएको सहारा पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार रोहितराज पराजुलीलाई पुरस्कृत गरेको छ । २८औँ वार्षिक साधारण सभाका अवसरमा मंगलबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले नगद ३० हजार ५ सय ५५ रुपैयाँ राशि सहित दोसल्ला, सम्मानपत्र सहितको पुरस्कार पराजुलीलाई पुरस्कृत गरिन ।

फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लबले खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्न हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । क्लबले २०६३ सालमा स्थापना गरेको यो पुरस्कार खेल पत्रकारिता विधामा नेपालकै पहिलो भएको दाबी गरेको छ । यसअघि २० जना पत्रकारलाई यो पुरस्कार प्रदान गरिसकिएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सहारा क्लबले खेलकुद र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरिन् । उनले सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने प्रवृत्तिले विकासमा समस्या सिर्जना गरेको भन्दै त्यसलाई निरन्तरता दिन नहुने बताइन् । सरकारले सहारा जस्ता संस्था तथा निजी क्षेत्रसँगको सहकार्य अगाडि बढाउनुपर्ने उनले बताइन् । मन्त्री गुरुङले विकास र समृद्धिको यात्रा सफल बनाउन सरकारलाई सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिन् । उनले सहारा क्लबलाई सरकार साथमा रहेको अनुभूति गराउने गरी विगतभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

पोखरा बुद्धचोककी सञ्जु गुरुङले आफ्नी आमा चित्रकुमारी गुरुङको स्मृतिमा सहारा क्लबलाई नगद ७८ हजार रुपैयाँ सहयोग गरिन् । सभामा उत्कृष्ट सदस्यका रूपमा सिद्धान्त थापामगर सम्मानित भए । यसका अलावा विभिन्न व्यक्तिलाई सम्मान तथा शैक्षिक पुरस्कार वितरण समेत गरियो ।