अमरसिंह ब्वाईजलाई हेटौंडामा भेट्रान्स सेभेन ए साईड फुटबलको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २३ गते २०७५ मा प्रकाशित


हेटौंडा(खेलाडी न्युज)- हेटौंडामा सम्पन्न भेट्रान्स एट् ए साइड राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि एबीसी भेट्रान्स पोखराले हात पारेको छ ।

फाइनलमा एबीसी भेट्रान्स पोखराले बुटवललाई १–० ले हराएको हो । १३ औं मिनेटमा मनोज राजले गरेको एकमात्र गोल निर्णायक बनेको थियोे । बुटवल भेट्रान्स गोल गर्ने धेरै प्रयास गरे पनि गोल गर्नबाट चुकेको थियो । एबीसीले नगद एक लाख, प्रमाणपत्र तथा शिल्ड प्राप्त गरेको छ भने बुटवल भेट्रान्सले नगद ५० हजारसहित प्रमाणपत्र र शिल्ड प्राप्त गरेको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीमा एबीसीका क्याप्टेन मानकाजी गुरुङ, हाइस्कोरर हेटौंडा भेट्रान्सका अनुप लामा, फरवार्डमा बुटबलका सोमबहादुर गर्बुजा, मिडफिल्डमा एबीसीका विजय गुरुङ, डिफेन्डर एबीसीका जय थापा र गोलकिपरमा रविन शाही पुरस्कृत भए ।

विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्दै नेपाली कांग्रेस ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले खेलले खेलाडी र यस क्षेत्रमा खेलकुद विकासमा सहयोग पुग्ने बताए । बुधबारदेखि हेटौंडा–६,चौघडामा भएको खेल हेटौंडा भेट्रान्स क्लबको आयोजना तथा ६ नम्बर वडा कार्यालयको सहआयोजनामा भएको थियो । प्रतियोगितामा १४ टिम सहभागी थिए ।