गर्विलो इतिहास लेखेको पश्चिमाञ्चलको भलिबल अहिले शून्यता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १३ गते २०७६ मा प्रकाशित


धन बस्नेत(खेलाडी न्युज)-हिजोको पश्चिमाञ्चलको भलिबलमा गर्विलो छवि थियो । हरेक उपाधि पश्चिमाञ्चलको नाममा लेखिन्थ्यो । तर समय फेरिएको छ । पश्चिमाञ्चलको महिला तथा पुरुष भलिबल शून्यता झरेको छ । शून्यतामा झरेसँगै काठमाडौंमा सञ्चालन भईरहेको एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन सकेन् । सहभागिता नहुनुले पश्चिमाञ्चलको भलिबलस्तरलाई मापन गरिदिएको छ ।

भलिबलमा पश्चिमाञ्चल उर्वर भूमी हो । क्षेत्रीय तथा राष्ट्रियस्तरको भलिबलको उपाधि एकपछि अर्को गरी पश्चिमाञ्चलको नाममा रहन्थ्यो । काठमाडौंमा आयोजित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा ६ वर्ष निरन्तर आफनो नाममा लेखाएको पश्चिमाञ्चल अहिले राष्ट्रियस्तरका खेलाडी खोज्नुपर्ने बाध्यता छ । उपाधि निरन्तर कब्जा जमाएपनि त्यसपछिको समय भने ओरालिदैं गयो । चौथो स्थानमा चित्त बुझाउनुपर्ने बाध्यतामा सीमित हुन पुग्यो । केही वर्ष यता त्यो स्थितिबाट तल झरेर केवल सहभागिता मात्रै सीमित हुने बातावरणमा छ । अहिले सहभागिताको बातावरण पनि रहेन् । खेलाडी छैनन् । भएका केही खेलाडी विभिन्न क्लबमा अनुबन्धित भएर आफनो खेललाई उचाईसँगै निरन्तरता दिईरहेका छन् ।

कुनै समय पश्चिमाञ्चलबाट खेल्ने सरस्वती चौधरी(हाल एपिएफ), सिपोरा गुरुङ(हाल अमेरिका), मन्जु गुरुङ(विवाह पछि युके), परीक्षा गुरुङ(युके), नेपाल राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही(हाल डायमन्डमा अनुबन्धन भएर खेल्दै, सन्जु पुर्जा(अष्ट्रेलिया), मान्ती आले(हङकङ), कमला पौडेल(दन्त चिकित्सक), हिरा केसी(एफीएफ), मनिष चौधरी(नेपाल पुलिस), शशि चौधरी(एपीफएफ), रन्जना खाँण थिए । अहिले सबै छिन्नभिन्न भईसकेका छन् । दरिलो उपस्थिति थियो । तर अहिले भलिबलमा उनीहरुको बिडों थाप्ने खेलाडी पश्चिमाञ्चलमा छैनन् । खेलाडी छन् तर राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने छैनन् ।

‘महिला भलिबल अहिले अस्ताएको जस्तै छ । फेरी उदाउन समय लाग्छ । त्यसको लागि ग्रास लेभलदेखि नै फmेरी प्रशिक्षण शुरु गर्नुपर्छ ।’ कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले भने–‘पुरानो गर्विलो इतिहास दोहोर्याउन एक दशक समय लाग्छ ।’ उनका अनुसार हिजो भलिबलको आवश्यक पुर्वाधार नहुदाँ इतिहास थियो । अहिले पुर्वाधार तयार छ, तर भलिबल इतिहासमा पुगेको छ । विभागिय टोलीलाई कडा चुनौति दिने एकमात्र टोली पश्चिमाञ्चल थियो । अहिले एकादेशको कहानी जस्तै भईसकेको छ ।

‘पुर्वाधार बनेका छन् । अब विद्यालयस्तरदेखि नै भलिबललाई फोकस गर्नुपर्छ ।’ उनले भने–‘हिजो स्कुलले पनि भलिबलमा लगानी गरेको अवस्था थियो । तर अहिले विद्यालयले भलिबलप्रति अभिरुची देखाउनै सकेका छैनन् । खेलकुद विकास समितिहरुले पनि त्यस तर्फ ध्यान दिन सकेको जस्तो देखिदैन् ।’ उनका अनुसार विभिन्न राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिता आयोजना हुदाँ जिल्ला र क्षेत्रीय संघसँग नेपाल भलिबल संघले समन्वयकारी भूमिका नखेल्दा समेत भलिबल उकास्न सकिएको छैन् । ‘समन्वय नै छैन् । जिल्लालाई राष्ट्रिय प्रतियोगिताको बारेमा जानकारी नै हुदैनन् ।’ उनले थपे–‘नेपाल भलिबल संघले पश्चिमाञ्चल हुदैं जिल्ला संघलाई पनि खबर गरेको अवस्थामा खेलको विकास हुन्छ ।’ केन्द्रीय संघले जिल्ला र क्षेत्रमा समन्वय नै नगर्ने परिपाटीले पनि खेलको स्तर हिजोको भन्दा आज खस्किदैं गएको छ । उनले हिजोको अवस्था जस्तो खेलाडी नभएपनि जिल्लामा खेलाडी भएपनि समन्वय नहुदाँ खेलाडीले खेल्ने अवसर नै नपाएको गुनासो गरे ।

नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले संघको समन्वय भन्दा पनि पश्चिमाञ्चल भलिबल संघका पदाधिकारीको कमजोरीले भलिबलको यस्तो हालत भएको बताउँछन् । खेलाडी अन्यत्र क्लबबाट खेलिरहेको छन् । ‘पश्चिमाञ्चल भलिबल संघको कमजोरी छ । संघले प्रतियोगिता आयोजना गराएको छैन् । प्रतियोगितामा खेलाडीलाई सहभागिता गराउने विषयमा ध्यान समेत दिन सक्दैन्’ उपाध्यक्ष गुरुङले भने–‘प्रतियोगितात्मक कार्यक्रम ल्याउन नसक्ने संघको कमजोरीले केन्द्रीय समितिमा समेत प्रश्न उठ्न थालिसकेको छ ।’ उनका अनुसार काम गर्न नसक्ने पदाधिकारीले पदीय जिम्मेवारीबाट मुक्त हुनुपर्छ । भलिबको विकास र विस्तारको लागि योजनाबद्ध रुपमा कार्यक्रम ल्याउँदै प्रशिक्षण गराउनुपर्नेमा जोड दिएका छन् ।

संघले जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिसँग प्रशिक्षक माग्नुपर्छ । ‘प्रशिक्षक मागेर प्रशिक्षण गराउँदै फेरी पुरानै लयमा फर्काउन संघले विशेष ध्यान दिनुपर्छ ।’ उनको भनाई थियो । पछिल्लो समय पोखरामा क्षेत्रीयस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजनै हुन सकेको छैन् । भएका खेलाडीहरु पनि पलायन हुदैं गएका छन् ।
भ्लिबल प्रशिक्षक कौशला खत्रीले भने आफुलाई प्रशिक्षणको बातावरण मिलाईदिए जुनसुकै समयमा पनि प्रशिक्षण गराउने प्रतिबद्धता जनाईन् । ‘टिम तयारीसँगै व्यवस्थापन भए प्रशिक्षणको बातावरण हुन्छ ।’ उनको भनाई थियो ।

पश्चिमाञ्चलको भलिबलको स्तर फेरी फर्काउन भलिबलको एकेडेमिक सञ्चालन गर्नुपर्ने प्रशिक्षक खत्रीको जोड छ । ‘एकेडेमीक रुपले सञ्चालन गर्न सकिएको अवस्थामा लगातार तीन वर्ष प्रशिक्षण गराए पश्चिमाञ्चलको भलिबलस्तर पुरानै अवस्थामा फर्काउन सकिन्छ ’–उनले भनिन–‘नत्र भलिबलको स्तर माथि उठाउन सकिने अवस्था छैन् । उनका अनुसार हिजो ज्ञानुबावा र फिष्टेल स्कुलले भलिबलको लागि खेलाडी खोजेर ल्याउँथे । रोल मोडलको भूमिका खेले । अहिले विस्तारै हात झिके अवस्था खस्किदैं गएको उनको ठम्याई छ ।