स्याङजा क्रिकेट संघको अनलाईन मार्फत १०९ खेलाडी दर्ता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-जिल्ला क्रिकेट संघ स्याङजाले महिला र पुरुष गरी १०९ जना खेलाडीको दर्ता गरेको छ । शुक्रबारसम्म अन्तिमम्याद राखेर अनलाईन दर्ताको लागि दुईसाता अघि शुरु गरिएको छ ।

संघमा दर्ता भएका १६ क्लबमध्ये १२ वटा क्लबमा खेलाडी दर्ता भएको संघका अध्यक्ष दिवाकर थापाले सुनाए । महिला १६ खेलाडीले विभिन्न क्लबमा दर्ता भएका छन् । पुरुष तर्फ ९३ खेलाडीले दर्ता गरेको उनको भनाई थियो । संघले खास गरी खेलाडीको अभिलेख राख्नको लागि पनि दर्ता गरेको जनाएको छ । १२ वटा क्लब सबैममा समान खेलाडी दर्ता भएका छैनन् । थोरै खेलाडी दर्ता भएका क्लबले अर्को क्लबसँग मिलेर जिल्लास्तरीय छनोट प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको अध्यक्ष थापाको भनाई थियो ।

जिल्लास्तरीय छनोटको लागि ८ वटा क्लबले सहभागिता जनाउन सक्ने छन् । संघले दर्ता भएका खेलाडीहरुकै आधारमा क्लबस्तरीय एक दिवसीय, टी–२०, लिग लगायतका खेलहरु सञ्चालन गरिने छ । वार्षिक क्यालेण्डर अनुसार नै खेलाडीहरुलाई सहभागिता गराईने छ ।

यतिबेला कोरोना भाईरस(कोभिड–१९)को संक्रमणले सताएको छ । जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका कुनैपनि खेलकुद गतिविधि गरिएको छैन् । राष्ट्रिय खेलकुद परिषदले पनि फागुनको अन्तिम साता नै सबै खाले खेलकुद गतिविधि नगर्न निर्देशन समेत गरिसकेको छ ।

स्याङजाले क्रिकेट विकासको लागि वार्षिक क्यालेण्डर समेत तय गरिसकेको छ । यद्यपी कोरोनाको महामारी कै कारण आफनो वार्षिक क्यालेण्डरमा भने केही असर पर्ने देखिएको छ । जिल्ला छनोटपछि प्रदेश छनोटको लागि क्लब पोखरा आईपुग्ने छ । प्रदेशस्तरीय छनोट प्रतिस्पर्धाबाट गण्डकी प्रदेशको क्रिकेट टिम तयार गरिने छ । यता कास्की जिल्ला क्रिकेट संघले भने जिल्ला छनोटको लागि योजना सार्वजनिक गरिसकेको छैन् । क्लबस्तरीय छनोट प्रतियोगिता गर्नुपर्ने आवश्यकता छ ।

संघले आगामी जेठपछि मात्रै क्यालेण्डर अनुसारका खेलकुद गतिविधि शुरु गर्ने योजना छ । लकडाउनसँगै एसईई परीक्षा तथा दशजोड दुई(प्लस टु)को परीक्षा सकिएपछि मात्रै क्रिकेटको गतिविधि अगाडि बढ्ने स्पष्ट पारे । ‘अहिले दर्ता भएका खेलाडीहरु सबै एसईई र प्लस टुका विद्यार्थी छन् ।’ उनले भने–‘उनीहरुको परीक्षा सकिएपछि मात्रै क्रिकेटका गतिविधि अगाडि बढाउने छौं ।’ स्याङजामा क्रिकेट मैदान भने छैन् । यद्यपी क्रिकेटको क्रेज बढ्दै गएको छ । क्रेजकै कारण आईसिसीको स्वीकृतिका १६ वटा क्लब संघमा आवद्ध छन् । यो गण्डकी प्रदेशकै सबैभन्दा धेरै क्लब भएको क्रिकेट संघ पनि हो ।

स्याङजामा क्रिकेट मैदान भने छैन् । पुतलीबजार नगरपालिकास्थित पुतलीखेत आँधखोला नजिकै रहेको लामेबगर मैदानमा क्रिकेट प्रशिक्षण गर्दै आएका छन् । संघले विकेट समेत तयार पारेको अध्यक्ष थापाले बताए ।