प्रदेश मोफसलका जिल्लामा एथलेटिक्स ट्रयाक एण्ड फिल्डको अभाव, राष्ट्रियस्तरका प्रतियोगिता पोखरामै केन्द्रीत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २७ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशका मोफसलका जिल्लाहरुमा एथेटिक्स ट्रयाक एण्ड फिल्डका प्रतियोगिता आयोजना भएका छैनन् । कास्की बाहेक अन्य दश जिल्लामा एथलेटिक्स ट्रयाक एण्ड फिल्ड छैन् । ट्रयाक एण्ड फिल्ड नहुदाँ दश जिल्लामा एथलेटिक्सका राष्ट्रिय प्रतियोगिता अहिलेसम्म आयोजना हुन सकेको छैन् । नवलपुर, गोरखा, तनहुँ, लमजुङ, स्याङजा, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बाग्लुङ प्रदेशका जिल्लाहरु हुन् । मापदण्डस्तरीय एथलेटिक्स ट्रयाक एण्ड फिल्ड नभएपनि राष्ट्रियस्तरका खेलाडी उत्पादन भने भईरहेको खेलकुदको इतिहासले भने झल्काईसकेको छ । आवश्यक पूर्वाधार नहुदाँ एथलेटिक्सका इभेण्ट सञ्चालन गर्न सकिदैन् ।

ट्रयाक एण्ड फिल्डमा फुटबल मैदानसहित ४ सय मिटर दौडको ट्रयाक र अन्य पूर्वाधार पर्छन् । एथलेटिक्स अन्तर्गत हर्डल्स, स्ट्ेपल चेस, पोल भोल्ट, ह्याम्मर थ्रो, ज्याभलिन थ्रो, सटफुट, हाईजम्प, लङजम्प, त्रिपलजम्प, डिसकस थ्रो एवं दौडका विभिन्न इभेण्ट पर्छन् । ती खेल पोखरा रंगशालामा मात्रै खेलाउन सकिन्छ । अन्य जिल्लामा पूर्वाधार बनाइएको छैन् । पूर्वाधार नहुदाँ राष्ट्रियस्तरका प्रतियोगितालाई मोफसलसम्म लैजान सकिएको छैन् ।

‘अन्य जिल्लामा एथलेटिक्स ट्रयाक एण्ड फिल्डको आवश्यक पूर्वाधार छैनन्’ कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘पूर्वाधार नहुदाँ अन्य जिल्लामा एथलेटिक्सका खेल आयोजना गर्ने सम्भावना देखिदैन् ।’ पोखरामा युवा तथा खेलकुद मन्त्रालयको एक अर्ब २८ करोडको लागतमा एथलेटिक्स ट्रयाक एण्ड फिल्डसहित फुटबल प्यारापिट निर्माण गरिएको छ । ट्रयाक सिन्थेटिक हो । यसभन्दा अघि ईटाको धुलो(सुर्की) प्रयोग गरिने ट्रयाक थियो ।

एक निर्वाचन क्षेत्र एक खेलमैदान सरकारको नीति हो । नीति भएपनि मोफसलका जिल्लाहरुमा एथलेटिक्स ट्रयाक एण्ड फिल्ड बनाउन आवश्यक बजेट विनियोजन हुन सकेको छैन् । फुटबल मैदान बनाउन बजेट विनियोजन हुदैं आएपछि ट्रयाक निर्माणमा खासै चासो नदिदाँ पूर्वाधार विकास हुन नसकेको ठम्याई छ । ‘एथलेटिक्स ट्रयाक एण्ड फिल्डको पूर्वाधार छैन्’ तनहुँ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवहरी पण्डितले भने–‘पूर्वाधार विकासको लागि बजेट पनि कतैबाट आएको छैन् । उनका अनुसार ट्रयाक एण्ड फिल्डको पूर्वाधार बनाउन आवश्यक जग्गा छैन् । सार्वजनिक जग्गा भएपनि बजार क्षेत्रभित्र नभएको उल्लेख गरे । तनहुँमा ६ वटा नगरपालिका छन् । ती नगरपालिकामा समेत पूवर्धार बन्न सकेको छैन् । भीमाद नगरपालिकास्थित भीमाद खेल मैदान छ । जहाँ वर्षेनी फुटबल प्रतियोगिता आयोजना हुने भएपनि एथलेटिक्सको पूर्वाधार भने बनाउन स्थानीय निकायका पनि चासो कम छ ।

एथलेटिक्सको पूर्वाधार नहुदाँ सबै खेलहरु पोखरामै खेलाउनुपर्छ । त्यसले खेलकुद केन्द्रीकृत भएको आभाष समेत हुने गरेको छ । प्रदेशकै नयाँ जिल्ला नवलपुरमा भने अर्को वर्ष एथलेटिक्सको ट्रयाक एण्ड फिल्ड बनाउने अभियानमा जुटेको छ । जिल्ला खेलुकद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले कावासोती रंगशालालाई स्तरोन्नति गरी ट्रयाक एण्ड फिल्ड सहितको पूर्वाधार बनाउने जनाए ।

‘कावासोती रंगशालालाई अन्तराष्ट्रिय मापदण्ड अनुसार ट्रयाक एण्ड फिल्डसहितको पूर्वाधार तयार गर्छौ’ उनले भने–‘त्यसको लागि विस्तृत परियोजना प्रतिवदेन तयार हुदैं छ ।’ पूर्वाधारको लागि २० विघा (२ सय ६० रोपनी ) क्षेत्रफल छुट्टाइएको छ । ४० लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषदबाट बजेट उपलब्ध भएको समेत उनले जानकारी दिए । file pic