विच भलिबल कोर्ट, लगानी बालुवामा पानी नबनाउन सरोकारवालाको ध्यानाकषर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २८ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-एकातिर पूर्वाधार निर्माणमा सरकारी लगानी भईरहेको छ । अर्को तिर निर्माण गरिएको पूर्वाधार संरक्षण हुन सकेको छैन् । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा निर्माण गरिएको बिच भलिबल कोर्ट अहिले संरक्षण विहीन छ ।

१३ औं दक्षिण एशियाली खेलकुदको लागि युवा तथा खेलकुद मन्त्रालयले पोखरामा ८ खेल खेलाउन निर्णयसँगै फेवाताल किनारमा बिच भलिबल निर्माण गरिएको थियो । गत मंसिरमा नेपाल ट्रष्टको स्वामित्वमा रहेको फेवाताल किनार(बाराही घाट)मा बिच भलिबल कोर्ट निर्माण गरिएको थियो । तीन कोर्ट बनाउन ६० लाख रुपैयाँ खर्च गरिएको थियो । फेवाताल किनारमा बनार्एको विच भलिबल कोर्ट विश्वकै उत्कृष्ट छ । बिच भलिबल समुद्री किनारमा खेलिन्छ । तर नेपालमा समुद्री किनार छैन् । ताल किनारमा बनाईएको यो नै उत्कृष्ट बिच भलिबल कोर्ट हो । जहाँ सागको समयमा वटा कोर्ट बनाइएको थियो । एउटा भने पुरानो कोर्टलाई मर्मत सम्भार गरी प्रशिक्षणको लागि तयार गरिएको थियो ।

‘बिच भलिबल कोर्ट संरक्षण गर्नुपर्ने खाँचो छ । त्यसको लागि स्थानीय सरोकारसँग छलफल भईरहेको छ’ कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले भने–‘कोर्टबाट पानी जम्ने परिस्थितिको अन्त्य गरिएको छ । ह्युप पाईप राखेर पानीको निकास गरिएको छ ।’ ट्रष्टको जग्गा भएकोले नेपाली सेनाको मातहतमा रहेको छ । कोर्ट बनाउन फेवातालको माटो हालेर पुरिएको थियो । त्यसमाथि पानीले छानिएको बालुवा राखेर दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।

ट्रष्ट भित्र भएकोले संरक्षणमा सरोेकारवालाको ध्यानाकर्षण भएपनि ठोस निर्णय भने भईसकेको छैन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद तथा कास्की जिल्ला भलिबल संघले संरक्षणको पहल गरिरहेका छन् । यद्यपी त्यसलाई पूर्ण रुपमा उपयोग गर्ने तर्फ समेत भलिबल संघले चासो दिदैं आएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पनि संरक्षणको लागि ट्रष्टसँग छलफल गरेको जनाएको छ । ‘कोर्टमा भलिबल खेल्दा ताल र हिमाल देखिन्छ एकैसाथ देखिन्छ’ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका उपाध्यक्ष राजन पौडेलले भने–‘दक्षिण एशियाली खेलकुद सञ्चालन गर्न आईपुगेका विदेशी प्राविधिकले समेत उत्कृष्ठ भएको ठहर गरेका थिए ।’ कोर्टलाई संरक्षण गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय बिच भलिबलको गन्तव्यस्थल बनाउने तर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो ।

‘ट्रष्टको जग्गामा बनाइएको छ । ट्रष्टलाई नै संरक्षण गर्नुपर्ने छलफल गरिएको छ । यद्यपी कोर्ट खेलकुदको मातहतमा राखेर संरक्षण गर्ने तर्फ पहलकदमी समेत गरिएको छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने–‘अर्को बिच भलिबल बनाउन कठिन छ । भईरहेको कोर्टलाई संरक्षण गर्दै निरन्तर उपयोग गर्नुपर्छ ।’ कोर्ट बनाएपनि संरक्षण नहुदाँ लगानी भने औचित्यहीन बन्दै गएको छ । संरक्षण गर्नुपर्ने खाँचोसहित सबैतिरबाट आवाज उठिरहेको छ ।