नवलपुरमा आधा दर्जन कभर्डहल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशका ११ जिल्लामा कभर्ड हल छन् । केही सञ्चालन छन् । केही निर्माणको अन्तिम चरणमा त केही निर्माणकै चरणमा छन् । कतिपयमा पुरानोलाई यथावत राख्दै नयाँ बनाउन शुरु गरिएको छ । जिल्लामा इण्डोर र सेमी इण्डोरहरु छन् । राष्ट्रिय खेलकुद परिषदले नयाँ हल निर्माणमा जुटिरहेको छ ।

कास्कीमा चार वटा हल छन् । पोखरा रंगशालाभित्र बहुउद्देश्यीय कभर्ड हल छ । जुन १६ करोड ३५ लाखमा निर्माण गरिएको हो । दर्शक क्षमता २ हजारको छ । त्यही हलमा १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला तथा पुरुष ह्याण्डबल आयोजना गरिएको थियो । रंगशालाभित्रै सेमी कभर्ड हल छ । जहाँ बक्सिङको रिङ राखिएको छ । प्रशिक्षण लगायत प्रतियोगिता समेत आयोजना गरिदैं आएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
दुई कभर्ड हल निर्माणकै चरणमा छ । पोखरा–१९ लामाचौर घार्मीस्थित ज्येष्ठ नागरिक कभर्ड हल छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको आफनै जन्मथलोमा कभर्ड हल एक वर्ष अघि निर्माण शुरु गरेका हुन् । डेढ करोड रुपैयाँ खर्च भईसकेको छ । अन्तिम चरणमा छ । एउटा व्याडमिन्टन कोर्ट क्षमताको छ । यद्यपी कभर्ड हल अन्य प्रयोजनाको लागि उपयोग समेत गर्न सकिने खेलकुदका अधिकारीहरु बताउँछन् । हल २० मिटर लम्बाई र १२ मिटर चौडाईको छ ।

पोखरा–२९ भण्डारढीकमा तीन वर्ष अघि शुरु गरिएको बहुउद्देश्यीय कभर्ड हल निर्माणकै चरणमा छ । राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको ५५ लाख रुपैयाँबाट हलको शिलान्यास गरी काम शुरु गरिएको थियो । अहिले गण्डकी प्रदेश संसद विकास कोषबाट २५ लाख रुपैयाँबाट काम अघि बढाइएको छ । पोखरा महानगरपालिकाले १ करोड र गण्डकी प्रदेश सरकारले छुट्टाएको २५ लाख रुपैयाँ आर्थिक वर्ष टुंगिनै लाग्दा फिर्ता भएको छ । ४५.५ मिटर लम्बाई र ३० मिटर चौडाईको रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले बताए । दर्शक क्षमता ५५० छ । लागत साढे सातकरोडको अनुमान गरिएको

नयाँ जिल्लाको रहेको नवलपुर भने अन्य जिल्ला भन्दा खेलकुद पूर्वाधारको लागि अब्बल छ । जिल्लामा ६ वटा कभर्ड हल छन् । केही तयार भएर प्रतियोगिता सञ्चालन गरिसकिएको छ । केही निर्माणकै चरणमा छ । केही शिलान्यास गरेर काम अघि बढाइएको छ । भईसकेको छ । नवलपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठका अनुसार चार नगरपालिकामा सबै ठाँउमा कभर्ड हल छन् । मुकुन्दपुरमा एउटा छ । ७६ फिट लम्बाई र ५६ फिट चौडाईको हल दुईवर्ष अघि तयार गरिएको हो । डेढ करोडमा निर्माण गरिएको कार्यालय प्रमुख श्रेष्ठले सुनाए । गण्डकी प्रदेश सरकारबाट २० लाख, परिषदबाट ६५ लाख रुपैयाँ र नगरपालिकबाट ११ लाख सहयोग जुटाईको थियो ।

त्यसैगरी कावासोतीको दुम्कीबासमा ६० फिट चौडाई ११० फिट लम्बाईको कभर्ड हल छ । हलमा छाना छाउने काम बाँकी छ । स्थानीय स्रोत, जिविस लगायतले सहयोग जुटाएका थिए । मध्यविन्दु नगरपालिकाको अरुणखोलामा अर्को कभर्ड हल बनिसकेको छ । संघीय र प्रदेश एव माननीय तथा स्थानीय स्रोतबाट सामुदायिक बन लगायतबाट सहयोग जुटाएर बनाइएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । मध्यविन्दुमै अर्को हल शिलान्यास गरिएको छ । नगरपालिकाले आफनै स्रोतबाट निर्माण अघि बढाएको छ । तीनवटा व्याडमिन्टन कोर्टयुक्तको हल हो ।

गैडाकोटस्थित क्षेत्रीय रंगशालामा समेत कभर्ड हल शिलान्यास गरिएको छ । एउटा भने प्रतियोगिता आयोजना गरिदैं आएको नवलपुर खेलकुद विकास समितिले जनाएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा जेठकै पहिलो सातादेखि कभर्ड हल निर्माण शुरु गरिएको छ । नयाँ हलको लागत साढे आठ करोडको अनुमान छ । ४५.५ मिटर लम्बाई र ३० मिटर चौडाईको छ । राष्ट्रिय खेलकुद परिषदबाट ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ । एक निर्वाचन क्षेत्र एक खेल मैदान अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख र स्थानीय घरपझोङ गाउँपालिकाबाट २५ लाख रुपैयाँ गरी १ करोड १५ रुपैयाँको लागतमा काम शुरु गरिएको छ ।

त्यसैगरी म्याग्दी जिल्लामा एउटा कभर्ड हल छ । जुन पुरानो हो । दुईवटा व्याडमिन्टन कोर्ट युक्त छ । २२.५ मिटरको लम्बाई र चौडाईयुक्त कभर्ड हल छ । बाग्लुङ जिल्लामा पनि दुईवटा कभर्ड हल छन् । पुरानो हल टेबल टेनिसको लागि उपयोग गर्न सकिने खालको छ । नयाँ हल निर्माणको चरणमा छ । नयाँ हल एक करोड १० लाखको लागतमा निर्माण गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्बतमान अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । उनका अनुसार नयाँ हलको लागि राष्ट्रिय खेलकुद परिषदबाट ४५ लाख रुपैयाँ निकासा भएको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि समेत उपयोग गर्ने गरी निर्माण गरिएको हललाई क्षेत्रीय खेलकुद विकास समितिले ३० लाख रुपैयाँ माग गरिएको उनले सुनाए । एनआरएन जापान बाग्लुङ शाखाबाट १७ लाख एवं जिल्ला समन्वय समिति तथा नगरपालिकाबाट १६ लाख रुपैयाँ रकम सहयोग भएको थियो । बाँकी रकम स्थानीय स्रोतबाट जुटाइएको थियो । पुरानो हल भने तत्कालिन जीवनराम श्रेष्ठ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव हुदाँ निर्माण गरिएको थियो ।

त्यसैगरी पर्वत जिल्लामा पनि मिनी कभर्ड हल पुरानो छ । नयाँ हल निर्माणाधिन छ । २४ मिटर लम्बाई र २० मिटर चौडाईको नयाँ हल तयारी गरिदैं । लक्ष्य नवौं राष्ट्रिय खेलुकद प्रतियोगिताकै लागि हो । ९१ लाख रुपैयाँको लागत अनुमानित छ । ४० लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषदबाट उपलब्ध गराइएको छ । तनहुँमा पनि सेमी कभर्ड हल छ । २१ मिटर लम्बाई र १६ मिटर चौडाईको छ । हिमालपारीको जिल्ला मनाङमा पनि सानो टेवलटेनिस खेल्न मिल्ने सानो हल रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए । लमजुङको भोर्लेटारमा सेमी कभर्ड हल छ । नयाँ हल भने बेशिशहरमा निर्माण शुरु गरिएको छ । गोरखामा एउटा मात्रै कभर्ड हल छ । २४ मिटर लम्बाई र २२ मिटर चौडाईको हल छ ।

गण्डकी प्रदेशमा आगामी फागुन २०–२७ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएका पूर्वाधारको मर्मत सम्भार तथा नयाँ निर्माणको लागि राष्ट्रिय खेलकुद परिषदसँग बजेट माग गरिएको छ । सबै जिल्लामा विभिन्न खेलहरु आयोजना गरिने छ ।

तस्बिर विष्णुलाल श्रेष्ठ(कार्यालय प्रमुख न.खे.वि. स.)