संघले बुझाउदैनन् वार्षिक प्रतिवेदन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १२ गते २०७७ मा प्रकाशित


जिल्ला खेलकुद विकास समितिको कार्यालय । तस्बिर खेलाडी न्युज

खेलकुदका संघसंस्था तथा क्लबहरुले नियमन निकाय जिल्ला खेलकुद विकास समितिको नीति तथा विधिविधानलाई कुल्चिएका छन् । समितिको निर्देशनलाई ख्याल गर्दैनन् । मनोमानी गर्छन् । संघ संस्था एवं क्लबहरुले खेलकुद प्रतियोगिता आयोजना गर्दा जिल्ला खेलकुद विकास समितिसँग न स्वीकृति लिन्छन् नत ती संघसस्थाले वार्षिक प्रतिवेदन तथा आयेजनाको आयव्यय विवरण नै पेश गर्छन् ।

खेलकुदका संघसंस्थालाई त्यो विषयमा हेक्का नै छैन् । समितिले पनि वर्षेनी पत्रचार गर्दै आएको पनि छ । तर त्यसलाई भने कसैले ध्यान दिएर हेर्ने सुन्ने परिपाटी नै छैन् । त्यसैले पनि कास्कीको खेलकुद गतिविधिमा बेथिती बन्दै गएको छ ।

कास्कीमा वर्षेनी खेलकुदका संघसंस्था एवं क्लबहरुले साना तथा ठूला प्रतियोगिता आयोजना गर्छन् । संघसंस्थाले वार्षिक कार्यक्रम तय गर्छन् । तर ती कार्यक्रम आयोजनाको स्वीकृति र प्रतिवेदन पेश हुदैन् । संघसस्था र क्लबले अनिवार्य रुपमा स्वीकृति र प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान छ । तर त्यसलाई सबैले लत्याउँदै आएका छन् । ‘कुनैपनि संघसंस्थाले प्रतियोगिता आयोजनाको स्वीकृति जिल्ला खेलकुद विकास समितिसँग लिएका छैनन् । लिने गरेका पनि छैनन् ।’ कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘केही बाहेक अधिकांश संघसंस्थाले वार्षिक प्रतिवदेन समेत बुझाएका छैनन् ।’

संघसंस्थाले जिल्ला प्रशासन कार्यालयमा जानकारीपत्र पठाउँछन । तर जिल्ला खेलकुद विकास समितिमा भने स्वीकृतिको लागि पत्रचार गर्नुपर्ने विषयमा कसैले ध्यान दिएको पाईदैन् । कार्यालय प्रमुख बरालले वर्षेनी संघसस्थालाई वार्षिक प्रतिवदेन, आगामी वर्षको कार्ययोजना विवरण, आयव्यय विवरण पेश गर्न आग्रह गर्दै आएको बताए । तर त्यसप्रति संघसंस्थाहरु चासो नदिएको गुनासो गर्छन् । संघसंस्था एवं क्लबको विधानमा पनि वर्षेनी आयव्यय एवं वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ ।

‘सघसंस्थाले आयोजना गरेको प्रतियोगिताको स्वीकृति नलिदाँ त्यसको तथ्यांक समेत जिल्ला खेलकुद विकास समितिमा हुदैन् ।’ उनले भने–‘प्रतियोगिताको आधिकारिकताको लागि जिल्ला खेलकुद विकास समितिसँग स्वीकृति लिन जरुरी हुन्छ ।’ उनले आफुले जिल्ला खेलकुद विकास समिति कास्कीको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेदेखि अहिलेसम्म कुनैपनि संघसंस्थाले स्वीकृति पत्र लिएर गएको तथ्यांक नै नभएको दावी गरे ।

प्रत्येक संघले वर्षेनी प्रतिवेदन पेश, आयव्यय विवरण तथा वार्षिक कार्य योजनासहितको प्रतिवेदन पेश नगर्ने संघसस्थालाई निलम्बन समेत गर्न सक्ने कानूनी प्रावधान छ । खेलकुद विकास ऐन २०४८, खेलकुद विकास नियम २०४९ को परिच्छेद ५ को २०९ग०मा ‘जिल्ला खेलकुद विकास समितिले जिल्ला भित्रका जिल्लास्तरीय खेलकुद संघसंस्था र स्थानीय क्लब वा टिमलाई आवश्यक निर्देशन दिने छ । साथै आवश्यकता अनुसार समय समयमा उक्त संस्थाहरुको हिसाब किताबको जाँचबुझ गर्न सक्ने छ ।’ उल्लेख गरिएको छ ।

कार्यालय प्रमुख बरालका अनुसार जिल्लामा दर्ता भएका मध्ये टेनिस, ट्रायथोलन, टेबल टेनिस, व्याडमिन्टन, तेक्वान्दो, क्रिकेट, आर्चरी र बास्केटबल संघले मात्रै वार्षिक प्रतिवेदन तथा वार्षिक कार्ययोजना पेश गरेका छन् । गल्फ संघले पनि तीन वर्ष अघिसम्म प्रतिवेदन बुझाएपनि पछिल्लो समय भने निरन्तर पेश गरेको छैन् । रिपोर्ट बुझाएपनि प्रतियोगिता आयोजना गर्दा स्वीकृति भने लिने गरेका छैनन् । वार्षिक प्रतिवेदन एवं कार्ययोजना पेश गर्न नगर्ने संघहरुमा भलिबल, ह्याण्डबल, फुटबल, कबड्डी, उसु, जिम्न्याष्टिक, शारीरिक सुगठन, भारोत्तोलन, बुद्धिचाल, हक्की, बक्सिङ, सितेरियो कराँते, फुल कन्ट्याक्ट कराँते, एथलेटिक्स, सेपाक ताक्रो, स्की, कुस्ती, जुडो लगायत छन् ।

‘हामीले वर्षेनी आयोजना गर्ने प्रतियोगिता, वार्षिक साधारण सभा लगायत खेलकुदका गतिविध पूर्ण रुपमा जानकारी गराउँदै आएका छौं ।’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले भने–‘संघहरुले खासै कसैले चासो दिएको देखिदैन् । तर हामीले वार्षिक रिपोर्ट बुझाउँछौं ।’ उनले लिखित रुपमा रिपोर्ट पेश गर्न नभ्याएको अवस्थामा उतारिएको विवरणलाई मौखिक रुपमा भने पनि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखलाई प्रष्टयाउने गरिएको उनले बताए ।

केही दिन अघिमात्रै नयाँ कार्यसमितिको जिम्मेवारी लिएका कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले भने भलिबल संघले प्रतियोगिता आयोजनाको स्वीकृति तथा वार्षिक प्रतिवेदनसहितको विवरण पेश नगरेको स्वीकारेका छन् । ‘विधानले निर्देशित गरेको कुरालाई जिल्ला खेलकुद विकास समितिले सर्कुलर गर्नुपर्छ ।’ उनले भने–‘यदि विधानले निर्देशित गरेको छ भने हामी पेश गर्ने छौं ।’

कास्की जिल्ला हक्की संघले पनि जिल्ला खेलकुद विकास समितिले वार्षिक प्रतिवेदन पेश नगर्नेलाई माग्नुपर्ने जोड दिएको छ । हक्की संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका हिमाल खड्काले प्रतिवेदन पेश नगर्ने संघलाई समितिले घचघच्याउनुपर्ने बताए । ‘हामीले अहिलेसम्म कुनै पनि विवरण पेश गरेका छैनौं ।’ अध्यक्ष खड्काले भने–‘समितिले नै घचघच्याए पो संघले पनि पेश गर्ने थिए ।’ उनका अनुसार खेलकुद समिति आफैं सक्रिय हुनुपर्छ ।

स्वीकृति नलिने र वार्षिक प्रतिवेदन पेश गर्ने संघसंस्थाको भन्दा जिल्ला खेलकुद विकास समितिको पदाधिकारी तथा कर्मचारीको कमजोरी भएको संघहरुको ठहर छ । समितिका कर्मचारी तथा पदाधिकारीको उपस्थितिमा वार्षिक साधारण सभा तथा अधिवेश हुने हुदाँ समितिलाई प्रतिवदेन पेश गर्नुपर्छ भन्ने तर्फ कसैले ध्यान दिन नदिएको खेलुकद विकास समितिको ठम्याई छ ।