‘सागको पैसा कहिले आउँछ’

- सागकै मात्रै २ करोड रुपैया तिरनतारन गर्न बाँकी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित


पोखरा रंगशालामा आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै राखेपका सदस्य सचिव सिलवाल ।

पोखरा-१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) सकिएको एक वर्ष वित्यो । एक वर्षको अवधिमा समेत बनाइएको पूर्वाधारको रकम अझै निकासा भएको छैन् । रकम निकासा नहुदाँ संघहरु ऋणमा छन् ।

वर्षदिनसम्म रकम निकासा नहुदाँ मर्कामा रहेका संघका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवसँग गुनासाका पोकाहरु एकपछि अर्को गरी फुकाए । अधिकांश गुनासो भने रकम निकासा नहुदाँ भोग्नुपरेको पीडा बारे थयार्थ वर्णन सुनाए । २०७६ मंसिर १५ गतेख २४ गतेसम्म पोखरा रंगशालामा आयोजित सागमा ८ वटा खेलहरु खेलाइएको थियो । आर्चरी, ह्याण्डबल, विच भलिबल, क्रिकेट, फुटबल, व्याडमिन्टन, ट्रायथोलन र भारोत्तोलन आयोजना गरिएको थियो ।

‘साग आयोजना गरिदाँ पूर्वाधार निर्माण र प्रतियोगिताकै रकम निकासा भएको छैन्’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जकान्त सिग्देलले भने–‘वर्षदिनसम्म रकम नआउँदा अन्य काम गर्न कठिनाई भएको छ ।’ सागकै लागि क्रिकेट मैदान भित्र टे«निङ सेन्टर, मोबाईल शौचालय तथा साईटस्क्रिन लगायत अन्य पूर्वाधार बनाइएको थियो । तिनीहरुको रकम राखेपबाट निकासा नहुदाँ रुनु न हाँस्नुको अवस्थामा पुगिएको गुनासो अध्यक्ष सिग्देलको थियो । उनका अनुसार २८ लाख रुपैयाँ भन्दा बढी रकम आउनुपर्ने छ । ‘क्रिकेटको सागको एकपैसा पनि आएको छैन् ।’ उनको भनाई थियो । क्रिकेट प्रतियोगिता आयोजना खर्च समेत आएको छैन् ।

समुद्रको किनारका खेलिने विच भलिबल समेत फेवा किनारमा सागकै लागि विच भलिबल कोर्ट तयार गरिएको थियो । तयार गरिएपनि पुरा पैसा नआउँदा समस्यामा घेरिनुपरेको पीडा कास्की जिल्ला भलिबल संघको थियो । ‘७ लाख रुपैयाँ पाउन बाँकी छ । ५० लाख रुपैयाँ आएको थियो । खर्च ५७ लाख रुपैयाँ हुन पुग्यो ।’ कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले भने–‘कोर्टसँगै दर्शकको लागि प्यारापिट समेत निर्माण गरिएको थियो ।’

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पनि परिषदसँग तिर्नुपर्ने फेहरिस्ते तयार गरी पत्रचार गरिसकेको छ । पत्रचार गरेपनि परिषदबाट रकम निकासा नहुदाँ गुनासो दैनिकजसो सुन्नु परेको बताउँदै आएको छ । ‘सागकै मात्रै २ करोड रुपैया तिरनतारन गर्नुपर्ने छ’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डम्बरबहादुर (डि.बी) नेपालीले भने–‘परिषदलाई एकमुष्ठ हिसाब गरी भुक्तानीको लागि पत्राचार गरिसकिएको छ । तर निकासा भएको छैन् ।’ उनका अनुसार व्याडमिन्टन कभर्ड हलको ८४ लाख रुपैयाँ आउनुपर्ने छ । परिषद सदस्य सचिव रमेशकुमार सिलवालले पनि संघहरुको गुनासोलाई बढीमा डेढहप्ता भित्रमा निकासा गर्ने प्रतिबद्धता जनाए ।