तनहुँ कास्कीसँग ३१ रनले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ७ गते २०७७ मा प्रकाशित


म्यान अफ दि म्याच दिपेश खत्रीलाई पुरस्कार प्रदान गर्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ । तस्बिर सौजन्य विजय भुजेल ।

पोखरा-युवा खेलाडी अर्जुन कुमालको सुझबुझपूर्ण व्याटिङ र अनुभवी दिपेश खत्रीको उत्कृष्ट बलिङ स्पेल प्रदर्शन गरेपछि कास्कीले तनहुँलाई ३१ रनले पराजित गरेको छ । खत्रीको लोभलाग्दो बलिङ शैली पोखरा रंगशालामा देखिने क्रममा १० ओभरमा ५ मेडन राख्दै केवल ९ रन दिएर ४ विकेट लिएपछि तनहुँलाई जितको लक्ष्य पुरा गर्न सामथ्र्य रहेन् । उनी म्यान अफ दि म्याचको हकदार बने ।

टस जितेर व्याटिङ गरेको कास्कीले अर्जुन कुमाल र अभिषेक थापाले दोस्रो विकेटको लागि ६४ रनको साझेदारी गर्दै १५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मंगलबार पोखरा रंगशालामा गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा कास्कीका व्याट्सम्यानलाई सेट हुन नपाउँदै तनहुँका बलरले एकपछि अर्को गरी पभेलियनको बाटो देखाएपछि कास्कीले मध्यम लक्ष्यको स्कोर तयार पारेको थियो । खासगरी कास्कीका मध्यम र बटम अर्डरका खेलाडी सस्तैमा आउट भएका थिए । ओपनर आएका अर्जुन कुमाले विकेट जोगाउँदै टिकिरहँदा अर्का ओपनर दिपेश खत्री भने दोहोरो अंकको रन विनालै क्रिजबाट प्लेयरबक्समा फर्किए ।

कास्कीले ९ रन बनाई खेलिरहदाँ खत्रीको विकेट गुम्यो । कुमालले दोस्रो विकेटको लागि अभिषेक थापासँग महत्वपूर्ण साझेदारी निभाए । ६४ रनको साझेदारी निभाउने क्रममा कुमालले ९७ बल खेल्दै ४३ रन बनाए । तीन चौका हिर्काए । थापाले पनि ३५ रन बनाई खेल्ने क्रममा ४६ बल खैल्दै ४ चौका र १ छक्का हिर्काउन सफल भए । उनीहरुको विकेट पतनपछि कास्की कमजोर बन्दै गएको थियो । ७३÷२ को अवस्थाबाट खेल्न थालेको कास्कीले ९ रन जोड्दा अर्को विकेट गुमाउन पुग्यो ।

९९ रन बनाउँदा कास्कीले चौथो विकेट गुमाईसकेको थियो । थप दुई रन जोड्ने क्रममा कास्कीले पाँचौ विकेट गुमाएपछि धरासायी अबस्थामा पुग्यो । सातौ विकेटको लागि अमृत गुरुङ र सुवास भण्डारीले ३२ रनको साझेदारी गर्दै इनिङलाई उकास्ने प्रयास गरे । अमृत गुरुङ तनहँुका कप्तान राजु गुरुङको बलमा बोल्ड हुदैं पभेलियन फर्किएपछि क्रिजमा आएका कृष्ण पौडेल पनि दोहोरो अंकको रन विना नै क्रिज छाड्दै प्लेयरबक्समा पुगे । अमृतले २० रन बनाउने क्रममा तीन चौका हाने । ४७.५ ओभर खेलेको कास्कीका लागि भण्डारी भने १८ रनमा अविजितिरहे । दिनेशजंग बुढामगरले ८–१–१५–३ को प्रदर्शन गरे । राजु गुरुङले पनि ९ ओभरमा १ मेडनसहित १३ रन दिएर २ विकेट लिएका थिए ।

१५५ रनको लक्ष्य पछ्याएको तनहुँलाई ३९ ओभरमा १२३ रनमै समट्दै कास्कीले दोस्रो जित दर्ता गर्यो । समीर कडेंलले ८२ बल खेल्दै ४ चौकाको सहयोगमा ४१ रन हिर्काउँदै कास्कीका बलरलाई दबाव राख्ने प्रयास गरे । उनको एकल प्रयास देखिएपनि अन्य व्याट्सम्यान भने सस्तैमा आउट भए । ओपनिङ आएका दिनेश अधिकारीलाई १८ रनमा खेलिरहँदा खत्रीले पहिलो विकेट लिएपछि तनहुँको विकेट पतन शुरु भएको थियो । लगातार चौथो ओभरसम्म बलिङ गर्ने क्रममा खत्रीले एक वाइड फाल्दै दुई विकेट लिई सकेका थिए । खत्रीले दोस्रो विकेटको रुपमा प्रवेश खड्कालाई बोल्ड आउट गरेपछि तनहुँलाई सम्हाल्ने जिम्मेवारी समीर कडेंलको काँधमा आएको थियो । खड्का केवल १० रनमा आउट भएका थिए । स्पीनर सुवास भण्डारीले पनि उत्कृष्ट बलिङ स्पेल देखाउने क्रममा १० ओभरमा २ मेडन राख्दै ३३ रन खर्चिएर ३ विकेट लिएका थिए ।