कोषाध्यक्षद्वारा राजीनामा

- घरासयी कारणले राजीनामा दिनुभयो–अध्यक्ष गुरुङ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २ गते २०७७ मा प्रकाशित


पोखरा-कास्की जिल्ला फुटबल संघकी कोषाध्यक्ष विजयाकुमारी गुरुङले आफनो जिम्मेवारीबाट राजीनामा दिएकी छन् । तीन वर्ष अघि निर्वाचित कास्की जिल्ला फुटबल संघको कार्यसमितिले गुरुङलाई मनोनयन गर्दै कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको थियो । जिम्मेवारी सम्हालेको वर्षदिनपछि नै कास्की जिल्ला फुटबल संघको नेतृत्व विशेष गरी अध्यक्ष मिलन गुरुङसँगको विवाद शुरु भएको थियो ।

कोषाध्यक्ष गुरुङ पोखरा–१ बगरस्थिति बिटी क्लबको अध्यक्ष समेत हुन् । कोषाध्यक्षले आफुलाई राजीनामा दिन अध्यक्षले आग्रह गरेपछि राजीनामा दिएको खुलासा गरिन् । ‘आफनै क्लबले आयोजना गरेको फुटबलमा व्यस्त थिएँ । फुटबलमा व्यस्त हुदाँ अध्यक्ष ज्यूले नै काम गर्न नसक्ने हो भने राजीनामा दिनोस भन्नुभयो । मैले समय पनि दिन भ्याएको थिईन् । राजीनामा दिए ।’ विजयाकुमारी गुरुङले भनिन–‘आफनै क्लब र परिवारलाई समय दिन नभ्याएपछि एन्फा कास्कीको कोषाध्यक्ष पदमुक्त हुने निर्णय गरे ।’

राजीनामा पत्र

कास्की जिल्ला फुटबल संघको बैंक खाता सञ्चालनको लागि कोषाध्यक्षको हस्ताक्षर अनिवार्य छ । महासचिव तथा अध्यक्ष मध्ये एकको हस्ताक्षरले बैंक खाता सञ्चालन हुने छ । कोषाध्यक्षले राजीनामा दिएको झण्डै दुईसाता वित्यो । दुईसाता अघि कोषाध्यक्ष बिटी कप सेभेन ए साईड फुटबल प्रतियोगितामा व्यस्त थिईन् । प्रतियोगिताकै दौरानमा चेकमा हस्ताक्षर गर्न अध्यक्षले आग्रह गरेपछि कोषाध्यक्षले अस्वीकार गरिन् । व्यस्तताकै कारण अस्वीकार गरेपछि अध्यक्षले राजीनामा मागेको उनको भनाई थियो ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले कास्की जिल्ला फुटबल संघको खातामा मसलन्द खर्चको रुपमा ५० हजार रुपैयाँ पठाएको फुटबल संघ कास्की स्रोतले जनायो । स्रोतका अनुसार त्यही रकम निकाल्न कोषाध्यक्षलाई हस्ताक्षर गर्न आग्रह गरेपछि नमानेपछि अध्यक्षले राजीनामा मागेको हो । स्रोतका अनुसार संघका अध्यक्षको एकल निर्णयले गर्दा काम गर्न कठिनाई भएको गुनासो पदाधिकारीहरुले सुनाउने गरेका छन् ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले कोषाध्यक्षले आफनो घरासयी कारण देखाउँदै राजीनामा दिएको बताए । कोषाध्यक्षको राजीनामा स्वीकृतिसँगै नयाँ कोषाध्यक्ष नियुक्तको लागि बैठक बस्ने उनले जानकारी दिए । ‘कोषाध्यक्षले घरासयी देखाउँदै काम गर्न नभ्याउने जनाएपछि राजीनामा दिनुभएको हो ।’ अध्यक्ष गुरुङले भने–‘अब बैठक बसेर काम गर्ने र समय दिन सक्ने कोषाध्यक्ष राख्ने विषयमा छलफल गर्दै छौं ।’

२०७४ सालमा फुटबल संघको निर्वाचनमा मिलन गुरुङ अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएको एकवर्षपछि २०७५ सालमा मनकामना केवलकार पोखरा कप आयोजना गरियो । आयोजनाको समापनपछि आयव्यय सार्वजनिक गरिएको छैन् ।