न्यू डायमण्ड पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २० गते २०७७ मा प्रकाशित


न्यू डायमण्ड विरुद्ध आर्मी प

काठमाडौं- ह्वाङ्गजी न्यू डायमण्ड क्लब पाँचौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप २०७७ मा सेनाको टिएसीसंग पराजित भएको छ । पहिलो दिन ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको डायमण्ड दोश्रो दिन आफ्नै क्लबकी पूर्व खेलाडी कृपा अधिकारीको कप्तानीमा कोर्टमा उत्रेको विभागिय टोली नेपाली सेनाको टिएसी संग पराजित भएको हो । पहिलो सेटमा १७-२१ ले पछाडी परेको न्यू डायमण्ड खेलमा फर्कदै दोश्रो सेटमा २५ -२० ले जित हात पार्न सफल भयो ।

यस्तै तेश्रो सेटमा पुनः २३ -२५ ले खेल गुमायो । चौथो सेटमा सम्हालिंदै २५-१५ ले खेललाई आफ्नो पक्षमा पारेको डायमण्ड पाँचौ तथा निर्णायक सेटमा १२-१५ ले पछि पर्दै अंक बाट्न बाध्य भयो । टिएसीले २ अंक जोड्यो भने डायमण्डले १ अंक हात पा¥यो । डायमण्डको ४ अंक भएको छ भने टिएसीको २ अंक भएको छ ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको च्याम्पियनसिपको महिला तर्फ दोश्रो दिन विभागिय टोली एपिएफ र नेपाल पुलिसले पनि जित निकाल्न सफल भए । एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३ -० को सहज जित निकाल्यो ।

एक पक्षिय खेलमा एपिएफले ढोरपाटनलाई २५- ३, २५-९ र २५ -५ ले पराजित गर्दै ३ अंक जोड्यो । यस्तै पुलिसले पनि भरतपुर मेट्रो खेलकुदमाथि ३-० कोनै जित निकाल्यो । पुलिसले भरतपुरलाई २५- ४, २५-८, २५-१२ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो ।

पुरुष तर्फको प्रतिस्पर्धामा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले जित हात पार्दै आफ्नो खातामा ३ अंक जोड्यो । हेल्प नेपालले नयाँबजार सामाजिक युवा क्लबमाथि ३ -१ को जित निकालेको हो । पहिलो सेट २५-१४ ले जितेको हेल्प नेपालले दोश्रो सेट २३ -२५ ले गुमाउन पुग्यो । पुनः खेलमा फर्कदै हेल्प नेपालले तेश्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै जित हात पा¥यो । तेश्रो सेटमा २५-२२ र चौथो सेट २५-१६ अंकका साथ जित हात पारेको हो ।