एपिएफ र सुदूरपश्चिमको विजयी सुरुआत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २१ गते २०७७ मा प्रकाशित


ललितपुर मेयर कप

काठमाडौं- विभागीय टोली एपिएफ र सुदूरपश्चिम प्रदेशले आजबाट राजधानीमा सुरु भएको ललितपुर मेयर महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले प्रदेश–१ माथि ८ विकेट शानदार जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । अधिकांस राष्ट्रिय खेलाडीले भरिएको एपिएफका लागि कप्तान सीता राना मगरको अर्धसतकीय इनिङ महत्वपूर्ण रह्यो । रुविना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ ले दिएको १ सय ७ रनको एपिष्एफले १८ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।

एपीएफको जितमा सिता राना मगरले नटआउट ५२ रन बनाउँदै टोलीको जितलाई निश्चित गरेकी हुन । यस्तै ज्योति पाण्डेले ३२ रन जोड्दा सरिता मगरले ६ रन जोडिन । इन्दु बर्मा ८ रनमा अविजित रहिन । प्रदेश–१ की रुबिना क्षेत्री र संगीता राईले १÷१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ४५ रन जोड्दा रोमा थापाले ३३, काजल श्रेष्ठले ५, निग्मा तामाङ ७ र निशा साह ५ रनमा अविजित रहे । एपिएफकी रेखा रावल, करुणा भण्डारी, सिता राना मगर र बिन्दु मगरले १/१ विकेट लिए ।

शनिबारकै अर्को खेलमा सुदूपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ माथि ७ विकेटको जित निकाल्यो । ललितपुर मेयर्सले दिएको १ सय ८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमलाई जित दिलाउन मन्जु बोकाटीले ४१ रनको पारी खेले । डोली भट्ट २२मा अविजित रहिन । रेवती धामी १८ रनमा आउट हुँदा कविता जोशी १० रनमा अविजित रहिन । ललितपुरकी सुमन खतिवडा र आरती विडारीले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन जोडेको थियो । ललितपुरका लागि कन्चन श्रेष्ठले अर्धशतकीय इनिङ्स खेलिन । अविजित रहेका कन्चनले ६३ रन बनाए । यस्तै सुमन खतिवडाले १६ रन जोड्दा अश्मिना कर्माचार्यले १३ रनको योगदान गरिन् । सुदूरपश्चिमकी कविता जोशी, ऋतु कनोजिया र सम्झना खड्काले १÷१ विकेट लिए । प्रतियोगितामा आइतबार पहिलो खेल एपिएफ र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेल ललितपुर मेयर्स–११ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।