पोखरा क्रिकेट क्लबको १–० को अग्रता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ३ गते २०७८ मा प्रकाशित


मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष डिल्लीराम पनेरुले अम्पायर दुर्गा चन्दलाई बल हस्तान्तरण गर्दै ।

पोखरा-प्रो ३५ वुमन्स मैत्रीपूर्ण दुई दिवसीय सिरिजमा पोखरा क्रिकेट क्लबले १(० ले अग्रता लिने क्रममा शुक्रबार पाहुना टोली अल्फा क्रिकेट एकेडेमीलाई २२ रनले पराजित गरेको छ ।
मैत्रीपूर्ण सिरिजको दोस्रो खेल शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा हुने छ ।

पोखरा क्रिकेट क्लबको आयोजना तथा वाईनकिङको मुख्य प्रायोजनमा आयोजित प्रो–३५ वुमन्स क्रिकेट प्रतियोगितामा घरेलु टोलीले टस जितेर व्याटिङ गर्ने क्रममा सात विकेटको क्षतिमा १७० रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । कविता कुँवरले अर्धशतकीय पारी खेल्दै गतिलो शुरुवात गरिन् । उनले ६८ बल खेल्दै ८ चौका हिर्काउँदै सर्वाधिक ७१ रनको योगदान गरिन् । शिला रेग्मी क्षत्रीले पनि ४० बल खेल्ने क्रममा २४ रन बनाईन् । सम्झना खड्काले पनि २१बल खेल्दै १८ रन बनाईन् । अल्फा एकेडेमीका बलर सोनी पोखरेलले ३ ओभरमा ११ रन दिदैं २ विकेट लिईन् ।
त्यसैगरी कृष्णा गुरुङले पनि ४ ओभरमा १६ रन खर्चिएर १ विकेट नाममा लेखाईन् । अस्मिता कर्मचार्यले ५ ओभरमा २४ रन दिएर १ विकेट लिदाँ निशा भेलन तामाङले पनि ५ ओभरमा ३१ रन खर्चिएर १ विकेट हातमा राखिन् ।

१७१ रनको लक्ष्य पछ्याएको अल्फा क्रिकेट एकेडेमी भने १४८ रनमा समेटिन पुग्यो । कन्चन श्रेष्ठले सर्वाधिक ८१ रनको योगदान दिएपनि जितसम्म डोहोर्याउने भने सकिनन् । अन्य वुमन्सको प्रभावकारी प्रदर्शन भने देखिएन् । उनले ६ चौका हिर्काईन् । सुमन श्रेष्ठले २८ बलमा १८ रन जोडिन् । दुई चौका उनको स्कोर कार्डमा लेखियो ।

पोखरा क्रिकेट क्लबका बलर शिला रेग्मीले ५.१ ओभरमा ३३ रन खर्चिएर २ विकेट लिईन् । त्यस्तै कविता कुँवरले डली भट्टले ६ ओभरमा २८ रन दिदैं २ विकेट लिईन् । कविता कुँवरले ६ ओभरमा ३२ रन दिदैं २ विकेट लिदाँ रितु कोनोजियाले ६ ओभरमै २३ रन खर्चिएर १ विकेट आफनो नाममा राख्न सफल भईन् । प्लेयर अफ दि म्याचको पुरस्कार कविता कुँवर घोषित भईन् ।

मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष डिल्लाराम पनेरुले प्रतियोगिताको उदघाटन गरेका थिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष रविन्सन प्रजु, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेनसन प्रजु, पोखरा क्रिकेट क्लबका अध्यक्ष निकेश श्रेष्ठ लगायतले क्रिकेटको चर्चा गरेका थिए ।

प्रतियोगितामा विजयी हुने टिमले ट्रफि सहित प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ भने उपविजेतालाई प्रमाणपत्र प्रदान गरिने छ । दुई खेलमा म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।