शनिबार इराकसँगै मैत्रीपूर्ण खेल खेल्दै नेपाल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १४ गते २०७८ मा प्रकाशित


प्रशिक्षणमा व्यस्त नेपाली टिम ।

पोखरा-तीन दिन अघि इराक पुगेको नेपाली फुटबलको राष्ट्रिय टोली शनिबार मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसको लागि टोलीले प्रशिक्षण गर्दै आन्तरिक तयारीको रणनीति बुन्न व्यस्त छ । विश्वकप र एएफसी एशियन कपको छनोटको लक्ष्यसहित नेपाली टोली इराक प्रस्थान गरेको हो । नेपालले शनिबार १०३ स्थान माथि रहेको इराकसँग खेल्दै अनुभव सँगाल्ने छ ।

आशा र विश्वास एकैसाथ छ । इराकसँगको खेलमा उत्कृष्ट नतिजा आत्मसात गर्ने छ । त्यसपछि विश्वकप र एशियन कपको छनोटको लागि कुवेत जाने छ । टोलीमा अधिकांश युवा खेलाडी छन् । प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले धेरै युवा खेलाडीलाई अवसर दिदैं इराक पुगेका हुन् । पाका खेलाडीले विश्राम दिईएको छ । नयाँ खेलाडीलाई इराक जस्तो वरियातामा माथि रहेको टोलीसँग अनुभव बटुल्ने स्वर्णिमा मौका मिल्ने आशा र विश्वास छ ।

नेपाली टोलीका गोलकिपर किरण चेम्जोङले आफू भन्दा माथिल्लो स्तरको टोलीसँगको मैत्रिपूर्ण खेलको अनुभवले टोली निकै खुसी भएको प्रतिक्रिया दिएका छन् । किरणले तयारी राम्रो भएको भन्दै इराकसँग राम्रो खेलेर छनोट खेलमा जाने प्रतिक्रिया जनाए ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा पहिलो पटक मैदानमा उत्रिन लागेको नेपाली टोलीको प्रदर्शन प्रशिक्षकका लागि अग्नि परीक्षा हो । युवा खेलाडीलाई समावेश गरिएको टोलीले गरेको प्रदर्शन जिम्मेवारी लिने यस अघि नै बताएका छन् ।

नेपालको भन्दा गर्मी मौसम रहेको इराकसँग राम्रो खेल्ने नेपाली टोलीका सदस्य रोहित चन्दले बताए । उमेर समूहमा इराकसँग खेलि सकेको र सिनियर टोलीसँग खेल्न पाउँदा खुसी लागेको बताए । चिसो मौसममा आफ्नो टोलीले अभ्यास गरेको र गर्मी मौसम टोलीका लागि चुनौतिपूर्ण रहेको चन्दले बताए ।

बंगलादेश, किर्गिस्तान–२३ र नेपाल सम्मिलित त्रिदेशय कपको उपाधि जितेको नेपाली टोली उच्च मनोबलमा रहेको छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धामा नेपालले बंगलादेशलाई हराउँदै उपाधि उचालेको थियो । सोही नतिजाले नेपाललाई थप हौसला मिलेको हो ।

साथै बन्द रंगशालामा सम्पन्न पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिगमा पनि खेलाडीले नयाँ अनुभव लिएका छन् । सोही कारण इराक सँगको खेलमा सुखद नतिजाको अपेक्षा गरिएको छ ।

इराकसँगको खेल पछि नेपाली टोली फिफा विश्वकप छनोट खेल्न उतैबाट कुवेत पुग्ने छ । कुवेतामा नेपालले विश्वकप र एसियन कप छनोट खेल्ने छ । कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जेठ २० गते चाइनिज ताइपे, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

छनोट खेलअन्तर्गत पाँच खेल खेलेको नेपालको समूह तालिकामा ३ अंक रहेको छ । चाइनिज ताइपेयलाई २–० ले पराजित गरेको नेपाल चौथो स्थानमा छ ।

त्यस्तै १२ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ भने १० अंक जोडेको कुवेत दोस्रो स्थानमा छ । त्यसैगरी समान १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा छ भने चाइननिज ताइपेय तालिकाको अन्तिम स्थानमा अंक विहिन छ । छनोट खेल खेले पछि टोली जेठ २९ गते स्वदेश फर्किने तालिका रहेको छ ।