अर्जेन्टिना अष्ट्रेलियासँग स्तब्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ७ गते २०७८ मा प्रकाशित


पोखरा-दशखेलाडीमा समेटिएको अर्जेन्टिनालाई ओलम्पिक २०२० अन्तर्गत यु २३ फुटबलमा अष्ट्रेलियाले २-० गोलले पराजित गरेको छ ।

पहिलो हाफको इन्जुरी समयमा दश खेलाडीमा समेटिएको अर्जेन्टिनालाई पहिलो हाफ अघि र दोस्रो हाफमा एक एक गोल गर्दै अष्टर्ेलियाले जित दर्ता गरेको हो । पहिलो हाफको इन्जुरी समयमा फ्रान्स्सिको ओर्टेगाले रातो कार्ड खाँदै मैदान छाडेपछि खर्जेन्टिना दश खेलाडीमा समेटिएको थियो ।

अष्ट्रेलियाले पहिलो हाफमै अग्रता लिएको थियो । खेलको १४ औं मिनेटमा लाचलान वालेसले पहिलो गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । मिचेल डुकेको पासलाई सदुपयोग गर्दै वालेसले टोकियो ओलम्पिकमा अर्जेन्टिना विरुद्ध अग्रता दिलाएका हुन् ।

मिचेल डुकेकै पासमा अष्ट्रेलियाले दोस्रो गोल थप्दै जित पक्का बनायो । खेलको ८० औं मिनेटमा डुकेको पासमा मार्को तिलियोले गोल गरेका थिए ।

यसैगरी अर्को खेलमा ब्राजिलले रिर्चालिसनको ह्याट्रिकमा जर्मनीलाई ४-२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । ब्राजिलले फराकिलो अन्तरको जित निकाल्ने क्रममा जर्मनीले पनि दश खेलाडीमा खेल टुंग्याएको थियो । रिर्चालिसनले ७, २२ र ३० मिनेटमा गोल गर्दै पहिलो हाफ अघि नै ह्याट्रिक पुरा गरेका थिए ।

अर्को गोल पाउलिन्होले इन्जुरी समयमा गोल थप्दै फराकिलो जित पक्का बनाएका थिए । जर्मनीका लागि नादिएम अमिरीले ५७ औं र रेग्नर आचेले ८४ औं मिनेटमा गोल फर्काएका थिए । ६३ औं मिनेटमा भने म्याम्सिमिलियन आर्नोल्डले रातो खाएपछि जर्मन दश खेलाडीमा सीमित भएको थियो ।