
पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा खोप लगाउन नाम दर्ता गर्दै खेलाडीहरु ।
पोखरा-लामो समयको प्रतिक्षापछि कास्कीका विभिन्न खेलका खेलाडीहरुले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । शुक्रबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा संघले सिफारिस गरिएको खेलाडीहरुले कोरोना विरुद्धको खोप लगाएका हुन् । झण्डै ४ सय ५० खेलाडीले खोप लगाएका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा यसै वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिदैं छ । आयोजनाको संघारमा रहँदा खेलाडीले खोपको अभावमा प्रशिक्षण लिने बातावरण बनेको थिएन् । राष्ट्रिय खेलकुद परिषदले समेत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटेको छ । भदौ भित्रमा खेलाडीलाई खोप उपलब्ध गराई प्रशिक्षण लगाउन सकिएमात्रै राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्न सकिने जिकिर खेलकुद संघले गर्दै आएका थिए ।
‘स्वास्थ्यको मापदण्ड अपनाएर खेलाडीको प्रशिक्षण गराउनुपर्छ ’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘खोप लगाएपनि सर्तकता भने अपनाउनुपर्छ ।’ दुई डोज खोप लगाएपनि कोरोनाको संक्रमण हुने त्रासकै कारण विभिन्न संघले खोप लगाएपनि खेलाडीलाई स्वास्थ्य मापदण्डभित्र राखेर प्रशिक्षण गराउनुपर्ने उनको भनाई थियो । ‘खोपले आत्मविश्वास बढाउँछ । तर स्वास्थ्य मापदण्डलाई ध्यान दिनुपर्छ ।’ उनको भनाई थियो ।
खेलाडीलाई कोरोना विरुद्धको खोपको व्यवस्था पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको समन्वयमा गरिएको थियो । खेलाडी खोप लगाउने व्यवस्थापकीय जिम्मेवारी भने जिल्ला खेलकुद विकास समिति तथा गण्डकी प्रदेश खेलकुद परिषदले गरेको थियो । महानगर खेलकुद विकास समितिले एक महिना अघि नै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर खोप उपलब्ध गराउन माग गरिएको महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए । ‘एक महिना अघि नै पत्र पठाएर खेलाडीलाई खोप उपलब्ध गराउन आग्रह गर्दै आएका थियौं’ उनले भने–‘ढिलै भएपनि खेलाडीले खोप पाए । खोप लगाएपछि खेलाडीले सुरक्षित मापदण्ड अपनाएर प्रशिक्षण गराउनुपर्छ ।’ खेलाडीले आफनो अनुकुलको प्रशिक्षणस्थलमा प्रशिक्षण गर्न पाउने छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि खेलाडीलाई पहिलो चरणको खोप लगाइएको गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले बताए । उनले छुटेका खेलाडीलाई लगाउन थप ५ सय खोप माग गरिएको सुनाए । ‘छुटेका खेलाडीलाई लगाउन ५ सय खोप माग गरिएको छ ।’ उनले भने–‘खोप लगाईसकेपछि प्रशिक्षण गराईने छ ।’ उनका अनुसार फरक खेलका खेलाडीहरु बीच भेटघाट नहुने गरी प्रशिक्षण गराउन संघलाई निर्देश गरिएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका सचिव भीम पराजुलीले संघहरुलाई स्वास्थ्य मापदण्ड अपनाई खेलाडीलाई मास्क र सेनिटाईजरको प्रयोग गरेर प्रशिक्षण दिनुपर्ने स्पष्ट पारे । ‘स्वास्थ्यको मापदण्ड अपनाएर प्रशिक्षण दिने संघहरुसँगको छलफलबाट निर्णय गरिएको छ ।’ उनले भने–‘संघले आफनो खेलाडीलाई अन्य बाहेक अन्यत्र नजान निर्देश समेत गरिएको छ ।’
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडीलाई खोप लगाउनु अनिवार्य थियो । खोप विना खेलाडीलाई प्रशिक्षण दिनुपर्ने भएपनि खोपकै अभावमा प्रशिक्षण हुनै सकेको थिएन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरासहित प्रदेशका ११ जिल्लामा विभिन्न खेल आयोजना गरिने छ । आयोजनाको लागि आवश्यक भौतिक पूर्वाधार समेत तयारी गरिदैं छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…