कुशल र रोहितको ब्याटिङ चल्दा नेपालद्वारा अमेरिका पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २९ गते २०७८ मा प्रकाशित


काठमाडौं । कुशल भुर्तेल र रोहित पौडेलको उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्दै सिरिजमा सुखद सुरुआत गरेको छ । निर्धारित ५० ओभर खेल्दै अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ६ बल बाँकी ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्दा नेपालले शानदार जित निकालेको हो ।

सिरिजको सुखद सुरुआत गर्ने क्रममा ओपनर कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । युवा ब्याट्स म्यान कुशलले करियरकै पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक समेत बनाएका छन् ।

सुरुआत राम्रो गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । नेपाली क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो । यस अघि नेपालको उच्च साझेदारी ६१ रन रहेको थियो । कीर्तिमानी साझेदारी बनाउने क्रममा आसिफ २३ रनमा हुँदै पवेलियन फर्किएका थिए । त्यसपछि आएका कप्तान ज्ञानेन्द्र मन्लल १७ रनमा एलबीडब्लूको धरापमा पर्दै पवेलियन फर्किएका थिए । तेस्रो नम्बरमा आएका रोहित कुमार पौडेलले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दै नेपालको स्कोर अगाडि बढाए ।

यस अघि पिएनजीसँगको अभ्यास खेलमा पनि अर्धसतक बनाएका पौडेलले लगातार दोस्रो अर्धशतक पूरा गर्ने क्रममा ८७ बलको सामना गर्दा ३ छक्का र २ चौकाको मद्दतमा अविजित ६२ रन प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार दुई अर्धशतक बनाउने रोहित पहिलो नेपाली खेलाडी पनि बनेका छन् । कुशल मल्ल ७ बल खेल्दै १ रनमा पवेलियन फर्किएपछि विनोद भण्डारीले रोहितलाई साथ दिए । विनोद भण्डारी ३७ रनको योगदान गरेका थिए । करण केसी १ रनमा अविजित रहे ।

बलिङ तर्फ अमेरिकाका निसर्ग पटेल र नोस्तुश केन्जिगेले २÷२ विकेट लिए । सौरभ नेत्रभाल्करले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन जोडेको थियो । अमेरिकाका लागि मोनान्क पटेलले शतकीय इनिङ्स खेल्दा निसर्ग पटेलले २१ रन, करिमा गोरेले १६ रन जोडे । संजय कृष्णमुर्थी र नोस्तुश केन्जिगेले समान १३÷१३ रन जोड्दा जसकरण मल्होत्राले ११ रनमा पवेलियन फर्किए । अभिषेक पराद्करले अविजित १३ र सौरभ नेत्रभाल्कर ६ रनमा अविजित रहे ।
नेपालका सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले २÷२ विकेट निकाल्दा कुशल मल्लले एक विकेट हात पारे ।

जितसँगै नेपालले ५ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ । अमेरिकाले १३ खेलमा १२ अंक जोडेको छ । अमेरिका दोस्रो स्थानमा रहेको छ । सिरिज अन्तर्गत नेपालले अब दोस्रो खेलमा घरेलु टिम ओमानसँग आजै खेल्दै छ ।