स्पोर्टस क्यासलको फराकिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २ गते २०७८ मा प्रकाशित


पोखरा-धरानको राइजिङ फुटसल क्लबले राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगितामा विजयी शुरुवात गर्दा स्पोर्टस क्यासलको फराकिलो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा द राइजिङ क्लब धरानले स्काइ गोल्डमाथि पुनरागमन जित निकाल्यो । पहिलो हाफमा १–० गोलले पछि परेको धरान दोस्रो हाफमा भने निकै उत्कृष्ट लयमा फर्किदैै ५–४ गोलको नजितासँगै जित आत्मसात गर्यो ।

धरानको जितमा रिवोस मास्केले २ तथा मिलन लिम्बु र दोेर्जे तामाङले समान १–१ गोल गरे । मास्के खेलको म्यान अफ दि म्याच समेत घोषित भए । उनले ५ हजार रुपैँया सहित ट्रफि हात पारे ।पहिलो हाफको १३ औं मिनेटमा स्काइ गोलका श्रीकृष्ण श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए । उनले खेलको ३० र ३५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । उनको ह्याट्रिक प्रतियोगिताको पहिलो ह्याट्रिक थियो ।

धरानले २१ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । १ मिनेटपनि वित्न नपाउँदै धरानले लगातार दुई गोल गर्दै अग्रता तेब्बर पार्ने काम गरे । खेलको २२ औं मिनेटमा मिलन लिम्बु र सुदिप गुरुङले गोल गरे । रिवोस मास्केले खेलको २५ र ३२ औं मिनेटमा गोल गरे । यस्तै स्काइ गोल्सका लागि श्री कृष्ण श्रेष्ठले ह्याटिक गरे । धरानका विकु तामाङले उपहार स्वरुप स्काइलाई एक गोल दिए । जित संगै धरानले स्पष्ट ३ अंक जोडको छ । पहिलो हाफमा १ गोलले पछि परेको धरान दोस्रो हाफमा भने खेलमा हाबि भयो । निकै आक्रमक खेल खेलको धरानले स्काइ गोल्सलाई दोस्रो हाफमा भने निकै दबाबमा राख्यो

शनिवार भएको खेलमा घरेलु टोलीले काठमाण्डौँको प्रभातफेरी युथ क्लबलाई ७–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै स्पोर्टस क्यासलले फुटसलमा आफनो छाप छोड्यो । खेलको सुरुवात देखिनै प्रभातफेरीमाथि हावी भएको स्पोटर्स क्यालले ३ मिनेटमै गोल गर्दै अग्रता लियो । दिपेश घलेको पासमा सुमित श्रेष्ठले गोल गरे । सुमितले खेलको २४ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । यस्तै खेलको छैटौँ मिनेटमा खिमराज गुरुङले गोल गर्दै अग्रतालाई फराकिलो बनाए । विजय गुरुङले गोल थप्दै अग्रता बढाउने काम गरे । किशोर गुरुङको पासमा उनले ७ औं मिनेटमा उत्कृष्ट गोल गरे ।

खेलको २१ औं मिनेटमा खिमले व्यक्तिगत दोस्रो गोल गरे । खेलको २५ औं मिनेटमा दिपेश घलेले गोल गर्दै अग्रता जित निश्चित पारे । यस्तै किशोर गुरुङ ३४ औं मिनेटमा टोलीका लागि ७ औं गोल गरे । क्यासलका सुमित श्रेष्ठ र अञ्जन देवकोटाले पहेंलो कार्ड पाए । उता प्रभातफेरीको हरेक प्रहारमा क्यासलका गोलरक्षक विश्वास पौडेल बाधक बने । उनले प्रभात फेरीको कुनैपनि प्रहारलाई गोलमा परिणत हुन दिएनन् । प्रभातफेरीका कप्तान विशाल सारु मगर, विवेक सारु मगर र सुनिल मगरले पहेंलो कार्ड पाएका थिए । अर्को घरेलु टोली सविन मेमोरियललेको परीक्षा भने आईतबार हुने छ ।