ओमानमाथि ७ विकेटको फराकिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ३ गते २०७८ मा प्रकाशित


पोखरा-ज्ञानेन्द्र मल्लको कप्तानी पारी र सन्दीप लामिछाने तथा करण केसीको किफायती बलिङ गरेपछि ओमानलाई ७ विकेटले पराजित गरेको छ ।

ओमानलाई आईतबार सस्तैमा समेट्ने क्रममा नेपाली बलरको लोभलाग्दो प्रदर्शन देखियो । अघिल्लो दिन अमेरिकासँग पराजित भएको नेपालले ओमान यात्रालाई टुग्याउँदा सुखद नजिता आत्मसात गरेको हो । ओमानले दिएको १२२ रनको लक्ष्यलाई नेपालले केवल १८.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्दै जित निकाल्यो ।

ओपनर कुशल भुर्तेललाई ६ रनमा पभेलियन फर्काएपछि नेपालको इनिङे्सलाई कप्तान मल्ल र आशिफा शेखले सम्हाले । शेखले ४० रनको महत्वपूर्ण योगदान गरेपछि नेपाल सम्भावित जित नजिक पुग्यो । मल्लले अर्धशतकीय पारी खेल्दै जितको हकदार बनाए । मल्लले नटआउट ५२ रन बनाउने क्रममा ४४ बल खेल्दै ४ चौका र २ छक्का हिर्काएका थिए । रोहित पौडेल पछि व्याटिङमा आएका शरद भेषवाकरले भने विजयी एक रन बनाए ।

यसअघि ओमानले सबै विकेट गुमाउँदै १२१ रनमा समेटिएको थियो । ओमानलाई सस्तैमा समेट्ने क्रममा करण केसीले ८ ओभरमा १ मेडन राख्दै २५ रन खर्चिएर ४ विकेट लिए । गुगलीब्वाय सन्दीप लामिछानेले पनि ८.१ ओभरमा २ मेडन राख्दै १८ रन खर्चिएर ४ विकेट लिए । बाँकी दुई विकेट भने शरद भेषवाकरको नाममा रह्यो । भेषवाकरले ६ ओभरमा १ मेडन राख्दै २१ रन दिएर दुई विकेट दिएका थिए ।

जिसान मक्सदले सर्वाधिक ४१ रन बनाए । ६६ बल खेल्ने क्रममा २ चौका र १ छक्का हिर्काएका मक्सद करण केसीको बलमा विकेटकिपर विनोद भण्डारीबाट समातिए । जतिन्दर सिंहलाई १३ रनमै गुमाएको ओमानका ६ व्याट्सम्यान दोहोरो अंकको रन बनाउनबाट चुके । विश्वकप लिग २ अन्तर्गत नेपालले दुई जित दुई हारको नजिता आत्मसात गरेको छ ।