थ्री स्टार हारबाटजोगियो, सातदोबाटो शीर्ष स्थानमा उक्लियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १७ गते २०७८ मा प्रकाशित


काठमाडौं –मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लब अंक बाँड्दा दिनको दोस्रो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली एपिएफले तेस्रो हार व्यहोरेको छ । एपीएफलाई पराजित गरेको सातदोबाटो लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्थामा मिक्चेन तामाङले गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँगको हारबाट जोगिएको हो । यस सँगै दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दोस्रो चरणको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित भएको थ्री स्टारविरुद्ध फ्रेन्ड्सले पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो । तर दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्दै सुरुआती अग्रता लिन सफल भएको थियो ।

५१औं मिनेटमा नाथानिल जुडे गार्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीको त्रसलाई सदुपयोग गर्दै जाली चुमाउँदै बलियो टोलीविरुद्ध अग्रता निकालेका थिए । त्यसपछि दबाबमा परेको थ्री स्टारले काउन्टर अट्याकको रणनीति अपनाउँदै फ्रेन्ड्सलाई दबाबमा राख्न पुग्यो । कप्तान प्रकाश बुढाथोकी चोटग्रस्त हुँदै उपचारका लागि बाहिरिएको अवस्थामा कम खेलाडी भएको फाइदा उठाउँदै थ्री स्टारले बराबरी गोल फर्काउन सफल भयो । ८३औं मिनेटमा हेमन्त थापामगरको चलाखीपुर्ण पासमा ऋतिक खड्काले दिएको क्रसलाई मिक्चेन तामाङले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याए र उक्त नतिजा नै निर्णायक बन्यो । त्यसपछि पनि स्पष्ट अंकका लागि प्रयास गरे पनि थ्री स्टार सफल हुन सकेन ।

बराबरीपछि थ्री स्टारले ३ खेलबाट तालिकामा ४ अंक जोडेको छ । समान ३ खेल खेलेको फ्रेन्ड्सको २ अंक भएको छ । यसअघि पहिलो खेलमा थ्री स्टारले च्यासललाई ३–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग १–० ले स्तब्ध भएको थियो । फ्रेन्ड्सले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बरबरी र दोस्रो खेलमा संकटालाई २–१ को नतिजा सुम्पिएको थियो ।

ए डिभिजन लिग अन्तर्गत आजै भएको अर्को खेलमा सातदोबाटोले विभागीय टोली एपिएफलाई हराउने क्रममा विदेशी खेलाडी अजयी मार्टिनले ह्याट्रिक पूरा गर्दा सातदोबाटोले एपिएफमाथि ४–१ को शानदार जित निकालेको हो । जारी लिगमा अजयीको यो नै पहिलो ह्याट्रिक हो । जितसँगै यसै सिजन बढुवा भएको सातादोबाटो तीन खेलबाट ७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोलाई जित दिलाउन अजयीको ह्याट्रिकको अलावा सुशील राईको नाममा एक गोल रह्यो । एपीएफका बिकी तामाङले एक गोल फर्काए । सुरुआत केही प्रतिस्पर्धात्मक बनेको भए पछि आधा घण्टाको खेलपछि सातादोबाटो एपिएफलाई दबाबमा राखेको थियो । ४२ औं मिनेटमा मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए । इन्जुरी समयमै मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–० को अग्रता दिलाए । पहिलो हाफमा दुई गोलले पछि परेको एपीएफले दोस्रो हाफको सुरुआतमै गोल फर्कायो । ४७ औं मिनेटमा आशिष लामाको पासमा बिकीले गोल गर्दै एपीएफलाई २–१ गोलको स्थितिमा ल्याएका थिए । तर, खेलको ५० औं मिनेटमा निरज चौधरीको पासमा सुशिलले गोल गर्दै सातदोबाटोलाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको ५८ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत तेस्रो गोल गर्दै सातदोबाटोलाई ४–१ को जित दिलाएसँगै ह्याट्रिक पनि पूरा गरे ।

खेलमा सातदोबाटोका मार्टिन्स म्यान अफ दि म्याच चुनिए । सातदोबाटोकै आकाश बुढा मगर इमर्जिङ प्लेयर चुनिए । सातदोबाटोले तीन खेलबाट ७ अंक जोड्दा एपीएफले लगातार तेस्रो हार भोगेको छ । अंक विहीन एपीएफ पुछारमा छ ।