आर्मीको पहिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १९ गते २०७८ मा प्रकाशित


file pic

काठमाडौं-कप्तान भरत खवासको निर्णायक गोलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको दिनको एक मात्र खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लब ९बिबिसी० माथि १–० को संघर्षपूर्ण जित निकाल्दै जारी लिगमा पहिलो जित निकालेको हो । यस्तै बिबिसीले जारी लिगमा पहिलो हार भागेको छ । यस अघि बिबिसीले एक खेलमा जित निकाल्दा एक खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो । यससँगै बिबिसीको अपराजित यात्रामा पूर्ण विराम पनि लागेको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा उपाधि दाबेदार मानिएको आर्मी र बिबिसीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । स्पष्ट अंकका लागि मैदान उत्रिएका दुबै टोलीले पहिलो हाफमा निकै राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न चुकेका थिए । बलियो मानिएको आर्मीलाई बिबिसीले दबाबमा राख्दै गोलका लागि प्रयास गरेको थियो । तर बिबिसीको टार्गेट पोस्टमा लागेको थिएन भने केही राम्रा प्रहारलार्इृ आर्मीका गोलकिपर विकेश कुथुले रोकेका थिए । त्यस्तै आर्मीले पनि केही राम्रा अवसर सिर्जना गरेको थियो । कप्तान भरत खवासले केही अवसर पाए पनि सदुपयोग गर्न असफल रहेका थिए ।

पहिलो हाफ गोल रहित बराबरीमा रोकिएका दुबै टोलीले दोस्रो हाफमा पनि आक्रामक खेलको प्रयास गरे । खेल सकिन ५ मिनेट बाँकी रहँदा कप्तान भरतले पेनाल्टी क्षेत्रमा रक्षकसँगको वान भर्सेस वानको अवस्थामा जाली चुमाउन सफल भएका हुन । १२ वर्ष विभागीय टोलीको कप्तान सम्हालेका भरतको गोल नै आर्मीको जितका लागि पर्याप्त बनेको हो भने जारी लिगमा आर्मीले पहिलो स्पष्ट अंक जोड्न पनि सफल भयो ।
जितसँगै आर्मी तालिकाको चौथो स्थानमा उक्लिएको छ । आर्मीले तीन खेलबाट ५ अंक जोडेको छ भने पहिलो पराजय भोगेको बिबिसीको समान खेलबाट ४ अंक भएको छ । खेलमा आर्मीलाई विजयी गोल गरेको भरत खवास म्यान अफ दि म्याच चुनिँदा बिबिसीका मनोज राई इमर्जिङ प्लेयर घोषित भए ।