त्रिभुवन आर्मीसँग शसस्त्रको दुवै टोली पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २७ गते २०७८ मा प्रकाशित


शसस्त्र प्रहरी विरुद्ध स्पाईक गर्दै आर्मीका खेलाडी ।

पोखरा-टाईगर कप दोस्रो आमन्त्रित महिला तथा पुरुष क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मीको महिला तथा पुरुष टोलीले जित आत्मसात गरेको छ । विभागीय डर्बी प्रतिस्पर्धामा आर्मीले शसस्त्र प्रहरी बलको टोलीलाई पराजित गरेको थियो । आर्मीको महिला तथा पुरुष दुवै टोलीले जित निकाल्ने क्रममा चार सेट खेलेका थिए ।

नेपाल पुलिस क्लब दोस्रो जितसँगै टाईगर कप क्लब च्याम्पियनसिपको उपाधि निकट पुग्दा शसस्त्र प्रहरी बल दोस्रो हारसँगै दोस्रो टाईगर कप क्लब च्याम्पियनसिपको उपाधिबाट लगभग बाहिरिएको अवस्था छ । विभागीय डर्बी प्रतिस्पर्धामा त्रिभुवन आर्मीसँग शसस्त्र प्रहरी बल ३–१ को सेटमा पराजित हुदंै उपाधि होडबाट लगभग बाहिरिएको छ ।

हेल्प नेपाल स्पोर्टस क्लबलाई पराजित गरेको नेपाल पुलिस क्लबले डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई सोझो सेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । गण्डकीले पहिलो सेटमा अग्रता जोगाउन नसक्दा पुलिसलाई सुम्पिन पुग्यो । २०–१८ को स्थितिमा रहेको गण्डकीले अन्तत २२–२५ ले पुलिसलाई सुम्पिएपछि दबावमा पर्यो । दोस्रो र तेस्रो सेट भने पुलिसले २५–१८ र २५–२० को सेटमा लिदैं सोझो सेटको जित निकाल्दै शीर्षस्थानमा उक्लियो । विभागीय डर्बी प्रतिस्पर्धामा नेपाल आर्मीले शसस्त्र प्रहरी बललाई पराजित गरेको छ । २५–१६, २२–२५, २५–१५, २५–२१ को सेटमा आर्मीले शसस्त्र प्रहरी बलको चुनौतिलाई पन्छायो ।

टाईगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भईरहेको आमन्त्रित महिला तथा पुरुष क्लबस्तरीय च्याम्पियनसिप अन्तर्गत त्रिभुवन आर्मीले ४–१ सेटको जित निकाल्दै महिला तर्फ शसस्त्र प्रहरी बलको दवदबालाई मत्थर बनायो । उत्कृष्ट खेल प्रदर्शन गरेको त्रिभुवन आर्मीले शसस्त्र प्रहरी बलमाथि पुनरागमन जित निकाल्ने क्रममा पछिल्लो तीनै सेट आफनो पक्षमा पार्यो । पहिलो सेट १८–२५ मा शसस्त्रलाई सुम्पिएको आर्मीले लगातार दोस्रो,तेस्रो र चौथो सेटमा जित आत्मसात गर्यो ।

दोस्रो सेट २५–१९ ले लिदैं आर्मी खेलमा फर्किएको थियो । तेस्रो सेटमा पनि शसस्त्रलाई कुनै मौका नदिई २५–२० को सेटमा लिएर शसस्त्रमाथि दबाव बढायो । चौथो सेटमा २५–१४ ले लिएर आर्मीले जित निकाल्दै प्रतियोगितामा पहिलो जितको खुशी मनायो । अघिल्लो दिन आर्मी होङगाजी न्यु डायमण्डसँग पराजित भएको थियो ।

घरेलु कोर्टमा टाईगर ग्रुप अफ पोखराले आफनो पहिलो खेल सुखद बनाउन सकेन् । होङगाजी न्यु डायमण्डले दोस्रो जित निकाल्ने क्रममा आयोजनक टोली टाईगर ग्रुप अफ पोखरालाई सोझो सेटमा पराजित गर्यो । टाईगर ग्रुप न्यु डायमण्डसँग २५–१९, २५–१३ र २५–१६ को सेटमा पराजित हुन पुग्यो ।