फाईनल प्रवेश रोमाञ्चक, अन्तिम खेलको प्रतिक्षा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २९ गते २०७८ मा प्रकाशित


पोखरा-एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै हेल्प नेपाल स्पोर्टस क्लबले विभागीय क्लब शसस्त्र प्रहरीलाई ३–१ को सेटले पन्छाएपछि दोस्रो संस्करणको टाईगर कप फाईनल प्रवेशको लागि अंक तालिका रोमाञ्चक बनेको छ ।

टाईगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा सञ्चालित क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ नेपाल पुलिस क्लब तीन जितसँगै शीर्षस्थानमा छ । पुलिसको ८ अंक छ । हेल्प नेपालले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ । हेल्प नेपालको ७ अंक छ । नेपाल पुलिससँग पाँचै सेट खेलेर हार व्यहोरेको हेल्प नेपालले एक अंक प्राप्त गरेको थिाये । त्रिभुवन आर्मीले तीन खेलमा दुई जित र एक हार व्यहोरेको छ । दुई जितले ६ अंक छ । गण्डकी प्रदेशले एक जित र दुई हार व्यहोरेको छ । शसस्त्र प्रहरी बल भने जित विहीन हुदैं उपाधि होडबाट बाहिरिसकेको छ । फाईनल प्रवेशको लागि अन्तिम खेलले निर्धारण गर्ने छ । अन्तिम खेल हेल्प नेपाल स्पोर्टस क्लबले गण्डकी प्रदेशसँग खेल्ने छ । नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्ने छ ।

निकै महत्वपूर्ण मानिएको खेलमा शसस्त्र प्रहरी बलले पहिलो सेट जित्दै हेल्प नेपाललाई दबावमा राख्यो । पहिलो सेट २३–२५ ले गुमाएको हेल्प नेपालले बाँकी तीन सेट आफनो पक्षमा पार्दै फाईनल प्रवेशको सम्भावना बलियो बनाएको छ । दोस्रो सेट हेल्प नेपालले २५–२०, तेस्रो सेट २५–१५ र चौथो सेटमा २५–१९ ले पराजित गर्दै फाईनलमा स्थान बनाउन सम्भावनालाई कायमै राख्यो ।

त्यस्तै त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाईनलको सम्भावनालाई जिवितै राखेको छ । पहिलो सेट १८–९ को स्थितिमा अघि बढेको आर्मीले २५–१५ मा आफनो नाममा लेखायो । तर दोस्रो सेटमा गण्डकी प्रदेश खेलमा फर्किएपछि आर्मीले दोस्रो सेट २०–२५ सेटमा गुमाउन पुग्यो । प्रतिस्पर्धात्मक अपेक्षा गरिएको खेलमा तेस्रो सेट आर्मीले २५–१५ कै अवस्थामा लिएपछि दबावमा परेको गण्डकी प्रदेशले चौथो सेट भने २६–२४ मा आर्मीलाई सुम्पिएपछि फाईनल यात्रा कठिन बन्न पुग्यो ।