राईजिङ वाईनकिङ टी–२० कास्की लिग च्याम्पियन (फोटो फिचरसहित)

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १९ गते २०७८ मा प्रकाशित


पोखरा-अरण्यज्योति क्रिकेट क्लबलाई ५१ रनले पराजित गर्दै नवप्रवेशी क्लब राईजिङ क्रिकेट क्लब शनिबारीय टी–२० क्रिकेट लिगको च्याम्पियन बनेको छ । आफनो पाँचै खेलमा अपराजित रहँदै राईजिङ च्याम्पियन वाईनकिङ टी–२० कास्की अन्तरक्लबस्तरीय लिग च्याम्पियन बनेको हो ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा शनिबार भएको अन्तिम खेलमा राईजिङले अरण्यज्योतिसँग प्रतिस्पर्धा गरेको थियो । टस जितेर व्याटिङ उत्रिएको राईजिङले ८ विकेटको क्षतिमा १३६ रन बनाएको थियो ।

अब्दुल खालिकले मिलन थापालाई बोल्ड आउट गरेपछि राईजिङको विकेट पतन शुरु भएको थियो । खालिकले ने सागर लामिछानेलाई क्याच आउट गरे । ७ रन जोड्ने क्रममा तीन विकेट गुमाईसकेको राईजिङलाई कप्तान अमृत गुरुङले सम्हालेका थिए । प्रदीप पौडेलको बलमा आउट हुनु अघि अमृतले ४२ रनको पारी खेले । नविन पौडेल पनि १ रनमै रनआउटको शिकार भएपछि धर्मराएको राईजिङलाई कप्तानी इनिङ खेल्ने क्रममा ५ चौका र १ छक्का हिर्काउँदै ४२ रन बनाए ।

भीमसेन थापाले केवल ६ रनको योगदान दिदाँ सातौ नम्बरमा आएका विश्वास दुलालले १५ रन बनाए । आठौं नम्बरमा आएका कृष्ण पौडेलले ३६ रनको योगाद दिए । पौडेलले २ चौका हिर्काए । १९ बल खेले । निरज गुरुङले अविजित १० बनाउँदा विशाल रिमालपनि ८ रनमा अविजित रहे । बलिङ तर्फ अब्दुलले ३ ओभरमा १५ रन दिएर ३ विकेट लिदाँ मुकेश गुप्ताले ३ ओभरमा २९ रन दिए २ विकेट लिए ।

१३७ रनको लक्ष्य पछ्याएको अरण्यज्योति क्रिकेट क्लब भने ८५ रनमा समेटिन पुग्यो । अमृत गुरुङले ४ ओभरमा १० रन खर्चिएर ५ विकेट लिएपछि अरण्यज्योति सस्तैमा समेटिन पुग्यो । अरण्यज्योतिका व्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । मुकेश गुप्ता ६ रनमा अविजित रहँदा दिवस गिरी ६ रनमै आउट भए । त्यो नै अरण्यज्योतिका लागि सर्वाधिक रन थियो । मोहम्मद खालिदले ५ रन बनाए ।

यसअघि भएको प्रतिस्पर्धामा कास्की क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई पराजित गरेको थियो । पोखरा क्रिकेट क्लबले दिएको ६२ रनको लक्ष्यलाई कास्की क्रिकेट क्लबले ७ विकेटले पराजित गरेको थियो । कास्की क्रिकेट क्लबका कप्तान एवं ओपनर विष्णु शर्माले अविजित ३७ रनको योगदान दिएपनि जित सहज भएको थियो । सोहेल कुँवरले २० रन बनाएका थिए ।

नौ हप्ता चलेको प्रतियोगितामा म्यान अफ दि सिरिज राईजिङ क्रिकेट क्लबका कप्तान अमृत गुरुङ घोषित भए । बेष्ट व्याट्सम्यान पोखरा क्रिकेट क्लबका अनिल गुरुङ, बेष्ट बलर राईजिङ क्रिकेट क्लबका अमृत गुरुङ घोषित भए । उनीहरुलाई प्रादेशिक क्रिकेट संघ गण्डकी प्रदेशका अध्यक्ष देवेनसन प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल, संघका कोषाध्यक्ष विरेन पुन, सदस्य एवं सेलेक्टर रमेशकुमार सिंह लगायतले पुरस्कार प्रदान गरेका थिए ।