पानीले प्रभावित हुदाँ पहिलो दिन बराबरीमा टुंगियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २६ गते २०७८ मा प्रकाशित


पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि एकदिवसीय क्रिकेट सिरिज शुरु भएको छ । एक दिनवसिय अन्तगृत दुई दिने सिरिजको पहिलो दिन पानीले रोकिदाँ कास्की ए र कास्की बीले एक एक अंक बाँडेका छन् । कास्कीको क्रिकेट विकासमा नयाँ आयाम थप्ने उद्देश्यसहित कास्की जिल्ला क्रिकेट संघले एकदिवसिय सिरिज शुरु गरेको हो । अघिल्लो सातामात्रै संघले क्लबस्तरीय शनिबारीय टी–२० क्रिकेट लिग आयोजना गरेको थियो ।

शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा शुरु भएको एकदिवसिय क्रिकेट अन्तर्गत कास्की ए ले टस जित्दै व्याटिङ शुरु गर्यो । ५० ओभर पुरै खेल्ने क्रममा ८ विकेट गुमाउँदै १८२ रन बनायो । ओपनर व्याटर सोहेल कुँवर र विकास अधिकारीले मध्यम शुरुवात गरे । कुवँर नितिश गिरीको बलमा क्याच आउट हुने क्रममा १८ रनमा क्रिजमा थिए । उनले ४० बल खेल्दै २ चौका हिर्काए ।

पहिलो विकेटको लागि कुँवर र अधिकारीले ५८ रनको साझेदारी गरे । गिरीकै बलमा अधिकारी पनि बोल्ड आउट हुन पुगे । अधिकारीले २७ रन बनाउने क्रममा ३ चौका र १ छक्का हिर्काउँदै सुखद शुरुवात गरे । उनले ४२ बलको सामना गरे । तेस्रो नम्बरमा आएका प्रविन पौडेलले पनि महत्वपूर्ण इनिङ्स खेल्ने क्रममा २६ रन बनाए । सुमन खड्काको बलमा बोल्ड हुदैं पभेलियन फर्किनु अघि नउले ५१ बल खेल्दै १ चौका र १ छक्काको मद्धतमा २६ रन बनाए ।


प्रतिक आचार्य र रोहित चन्द भने सस्तैमा आउट भए । छैटौं नम्बरमा आएका सुवास भण्डारीले भने कप्तानी इनिङ्स खेल्ने क्रममा अर्धशतकीयर पारी खेले । उनले ७३ बल खेल्दै ५६ रन बनाए । अमृत गुरुङको बलमा किरण पौडेलको हातबाट क्याच भएपछि भण्डारीले क्रिज छाड्न पुगे । उनीपछि आएका व्याटरको योगदान भने उल्लेख्य रहेन् । नितेश गिरीले ८ ओभरमा ३३ रन दिएर ४ विकेट लिदाँ सुमन खड्काले ६ ओभरमा ४१ रन दिदैं ३ विकेट लिए । १८३ रनको लक्ष्य पछ्याएको कास्की बी २२ औं ओभरको खेल चलिरहाँ ११२ रन मा खेलिरहँदा पानी परेपछि खेल रोकिन पुग्यो । अम्पायरको निर्णय अनुसार पहिलो खेल पानीले रोकिदाँ दुवैलाई एक एक अंक प्रदान गर्ने निर्णय गरिएको थियो ।

छैटौं नम्बरमा आएका अमृत गुरुङको उत्कृष्ट पारी खेल्ने क्रममा ४४ रन बनाए । ४७ बल खेल्दै ४ चौका र २ छक्का हिर्काए । उनी भन्दा अघिका ५ जना व्याटर सस्तैमा आउट भएका थिए । ओपनर मुश्कान थापा शून्यमै आउट हुदाँ सन्चेत कार्कीले ५ रन बनाई आउट हुन पुगे । सागर लामिछाने पनि २ बल खेल्दै आउट हुदाँ ईशान श्रेष्ठले पनि १४ बल खेल्दे ५ रनमा पभेलियन फर्किए ।

एकपछि अर्कोगरी विकेट गुमाएपछि कप्तान अमृतले इनिङ्स सम्हाल्नुपर्ने जिम्मेवारी आईलाग्यो । उनी निरज गुरुङको बलमा आउट भएपछि विष्णुप्रसाद शर्मा पनि दोस्रो बलमै आउट भएपछि कास्की बी कमजोर हुन पुग्यो । अनुभवी व्याटर विधान श्रेष्ठले ३६ बलमा ३४ रन बनाई अविजित रहदाँ पानी परेको थियो । उनले १ चौका र ४ छक्का हिर्काएका थिए । एकदिवसिय प्रतियोगिताको उदघाटन खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले अम्पायर दिलिप अग्रहरीलाई बल हस्तान्तरण गर्दै उदघाटन गरेका थिए । संघका अध्यक्ष सन्जयकान्त सिग्देल, कोषाध्यक्ष विरेन पुन, गण्डकी प्रदेश प्रशिक्षक रिजन प्रजु नेपाल क्रिकेट संघ(क्यान)का क्युरेटर प्रदीप राउत लगायतका उपस्थिति थियो ।