खेलकुदको शहर खेलकुदमै टुहुरो

- चार जिल्ला प्रशिक्षकविहीन, ७ जिल्लामा ९ खेलका मात्रै प्रशिक्षक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ११ गते २०७९ मा प्रकाशित


धन बस्नेत,पोखरा-खेलकुदको शहर उपमा दिएपनि पोखरा खेलकुदमै टुहुरो छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहदाँ पोखरा मात्रै होईन गण्डकी प्रदेश नै प्रशिक्षक नहुदाँ खेलाडी टुहुरा बनेका छन् । चार जिल्ला प्रशिक्षकविहनी छ । लमजुङमा जिल्लामा खेलकुद विकास समिति प्रशासनविहीन छ । पूर्वाधार छन् तर सिकाउने प्रशिक्षक छैनन् ।

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल प्रतिस्पर्धा र २ खेल प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय भईसकेको छ । निर्णयसँगै समय घर्किदैं जादाँ मनाङ, मुस्ताङ, तनहुँ र लमजुङ शून्य छ । बाँकी ७ जिल्लामा पर्वतमा एकजना, गोरखामा दुईजना, म्याग्दीमा एकजना, बाग्लुङमा तीन जना, नवलपुरमा दुईजना, स्याङजामा एकजना र कास्कीमा पाँचजना प्रशिक्षक छन् । अधिकांश प्रशिक्षक तेक्वान्दो र सितेरियो कराँतेको मात्रै छन् ।

‘लमजुङमा खेलकुदको प्रशासन नै छैन् । प्रशासन नभएपनि प्रशिक्षक हुने कुरै भएन् ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने–‘मनाङ, मुस्ताङ र तनहुँमा कुनैपनि खेलका प्रशिक्षक छैनन् ।’ उनका अनुसार खेल धान्ने काम स्वयंसेवक प्रशिक्षकले गर्दै आएका छन् । उनै स्वयंसेवक प्रशिक्षकको काँधमा गण्डकी प्रदेशलाई पदक दिलाउने जिम्मेवारी छ ।
प्रदेशकै राजधानी पोखरामा केवल भलिबल, भारोत्तोलन, शारीरिक सुगठन, कराँते(सितेरियो) र तेक्वान्दोको मात्रै राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक छन् । उसुका प्रशिक्षकले केही समय अघि मात्रै स्वेच्छिक अवकाश लिईसकेका छन् । स्याङजामा फुलकन्ट्याक्ट कराँते, नवलपुरमा सितेरियो कराँते, बाग्लुङमा जिमन्याष्टिक, तेक्वान्दो र उसु, म्याग्दीमा तेक्वान्दो, गोरखामा तेक्वान्दो र कराँते तथा पर्वतमा एथलेटिक्सका प्रशिक्षक छन् ।

पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा आउटडोर म्याट विछ्याईएपछि ।

नवौं राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट ,भलिबल, एथलेटिक्स, व्याडमिन्टन, टेबल टेनिस, हक्की, बक्सिङ,कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्न्याष्टिक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराँते, फुलकन्ट्याक्ट कराँते, आईटिएफ तेक्वान्दो, सेपाक ताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रयाथोलन, प्याराग्लाईडिङ, रग्बी(सेभेन ए साईड), छेलो(प्रदर्शनी) र क्यानोनिङ(प्रदर्शन) खेललाई समावेश गरिएको छ ।

जिल्लाले एउटा खेल प्रशिक्षकको भरमा ३८ खेलको छनोट गरेर प्रदेश छनोटमा ल्याउनुपर्ने बिडम्बना छ । प्रशिक्षक नै नभएको जिल्लाले पनि राष्ट्रिय खेलकुद प्रतियोगितमा खेलाडीलाई उतार्दै आएका छन् । नजिता भने शून्यमै छ । प्रशिक्षक नहुदाँ खेलको नियम बारे पनि खेलाडी अनभिज्ञ हुने गरेका छन् । नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको रग्बी नयाँ खेल हो ।

‘रग्बीको पूर्वाधार पोखरामा छैन् । फुटबल मैदानमै खेलाउने योजना छ ।’ कास्की जिल्ला रग्बी संघका अध्यक्ष सुवास खड्काले भने–‘नवौंमा समावेश गरिएको छ । पूर्वाधार नभएपनि तयारीमा छौं ।’ प्रदेश रग्बी संघका उपाध्यक्ष समेत रहेका खड्काले पदकको सम्भावना खेल भएपनि पूर्वाधार नहुदाँ प्रशिक्षण गराउन कठिनाई भएको स्पष्ट पारे । रग्बी खेल पोखरा रंगशाला फुटबल मैदानमै खेलाउनु पर्ने उनको भनाई थियो । पोखरा महानगर खेलकुद विकास समितिको सदस्य सचिव समेत रहेका खड्काले रग्बीको लागि पोखराकै अन्य फुटबल मैदानको अनुगमन गरेर निर्णय गरिने बताए ।

चुनावको राप बढेको छ । चुनावले प्रशिक्षणलाई समेत प्रभावित बनाएको भान खेलाडीले गरेका छन् । जिल्ला छनोट भईसकेको छैन् । जिल्लाबाट प्रदेश छनोट हुन बाँकी छ । प्रदेशबाट छनोट भएका खेलाडीलाई क्लोजक्याम्प राख्नुपर्ने छ । खेल संघहरुले प्रशिक्षणको तालिका सार्वजनिक गरिसकेका छैनन् । ‘नतिजाको लागि खेलाडीलाई क्लोजक्याम्प राख्नुपर्छ । खेलाडी छनोट भईसकेको अवस्था छैन् ’ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले भने–‘प्रतियोगिताको लागि स्पेशल टे«निङ चाहिन्छ । त्यो छैन् । जिल्ला, प्रदेशसँगै क्षेत्रीय खेलकुद विकास समिति छ । तीन संस्थाबीच समन्वय हुनुपर्छ । अहिलेसम्म कसले कसरी गर्ने भन्ने नै अन्योल छ ।’ बजेट निकासा नहुदाँ कठिनाई छ । राष्ट्रिय खेलकुद परिषदले प्रदेश खेलकुद परिषदलाई खेलकुदको पूर्ण जिम्मेवारी दिएको छैन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको स्वीकृतिमै प्रशिक्षण गर्नुपर्ने बाध्यता छ ।