
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले ५ करोड २० लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । प्रदेश मुख्यमन्त्रीसहित विभागीय मन्त्री, अर्थमन्त्री लगायत खेलकुद परिषदको उपस्थितिमा भएको छलफलमा राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बजेट प्रस्ताव गरिएको हो ।
‘विभागीय मन्त्रीको उपस्थितिमा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मंगलबार बसेको छलफलमा आवश्यक बजेट प्रस्ताव पेश गर्नुभएको थियो ।’ सरकारका प्रवक्ता एवं भौतिक योजना तथा पूर्वाधार मन्त्री कुमार खड्काले भने–‘मन्त्रालयले गरेको प्रस्तावलाई प्रदेश सरकारले थप छलफल पछि टुग्याउने निर्णय गरेको छ ।’ प्रवक्ता खड्काले गण्डकी प्रदेशको प्रतिष्ठाको विषय भएकोले बजेटकै कारण व्यवधान हुन नहुने मुख्यमन्त्रीको निर्देशन रहेको समेत बताए ।
‘बजेटकै कारण नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यवधान आउन हुदैन् ।’ मुख्मन्त्रीको भनाई उदृत गर्दै प्रवक्ता खड्काले भने–‘राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको प्रतिष्ठासँग जोडिएको छ ।’ पोखरामा ३९ वर्षको अन्तरालमा दोस्रो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जमर्को भएको हो । २०४० सालमा पोखरा रंगशालामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।
गण्डकी खेलकुद परिषदले बजेटको प्रस्ताव गरिरहँदा पोखरा रंगशालामा भने संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी प्रशिक्षण भने शुरु गरेको आभाष भएको छैन् । फुटबल मैदान पूर्ण रुपमा बन्द छ । एथलेटिक्स ट्रयाक बन्द गरिएको छ । ट्रयाक एण्ड फिल्डको प्रतियोगिता हुने फुटबल मैदान प्रवेशमा प्रतिबन्ध लगाइएको छ । यसले खेलाडीहरुले प्रशिक्षण गर्न पाएको अवस्था छैन् ।
पौडी पोखरी पोखरा रंगशालामा निर्माण गर्ने योजना थियो । नवौंलाई लक्षित गर्दै पौडी पोखरी निर्माण गर्ने भन्दै राष्ट्रिय खेलकुद परिषदले कोरोना काल(लकडाउनको समयमा) बजेट छुट्टाएपनि टेण्डर आह्वान नहुदाँ निर्माणको काम अघि बढ्न सकेन् । सुटिङ पोखरामा छैन् । सुटिङको लागि आवश्यक गन(बन्दुक) तथा त्यसलाई प्रयोग हुने गोली समेत उपलब्ध नभएको खेलाडीहरु बताउँछन् ।
आगामी जेठ २२देखि २८ गतेसम्म हुने प्रतियोगितामा ३६ खेल समावेश हुनेछन् । दुई खेल केवल प्रदर्शनीको लागि मात्रै समावेश गरिएको छ । परम्परागत छेलो र क्यानोनिङ प्रदर्शनी खेलको रुपमा समावेश गरिएको छ । गण्डकीमा खेल गतिविधि अत्यधिक हुने भए पनि राष्ट्रियस्तरका प्रतियोगितामा गण्डकीको नतिजा भने अत्यन्तै कमजोर हुने गरेको छ । नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा गण्डकी छैटौं नम्बरमा थियो । उक्त प्रतियोगितामा ७ वटा प्रदेशका अतिरिक्त ३ वटा विभागीय टोली सहभागी थिए । अहिले भने एनआरएनको टोली समेत थपिएर ११ वटा टोलीबीच प्रतियोगिता हुने भएको छ । प्रदेशका सबै जिल्लामा कम्तीमा पनि एक खेलको प्रतियोगिता हुने गरी व्यवस्थापन मिलाउने तयारी प्रदेश सरकार जुटेको छ । प्रदेशका ११ वटै जिल्लामा खेलहरु खेलाउने प्रस्ताव दुईवर्ष अघि नै राष्ट्रिय खेलकुद परिषदमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले प्रस्ताव पठाईसकेको थियो ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा ७ हजार खेलाडी, २ हजार व्यवस्थापक र १ हजार रेफ्री गरी कम्तीमा १० हजार जना प्रत्यक्ष संलग्न हुनेछन् । यसले खेल गतिविधि मात्र नभए पोखराको पर्यटनमा समेत राम्रैसँग प्रवद्र्धन हुनेछ । बैठकमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयराज आचार्य, प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी दिवेश लोहनी, सशस्त्र प्रहरी बलका बाहिनीपति बाबुराम पाण्डे, नेपाली सेनाका प्रतिनिधि, खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद्का अधिकारीहरु सहभागी थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…