बजेट छैन्, छनोट सेड्युल दिन सकिएको छैन–गण्डकी खेलकुद परिषद

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित


पोखरा-सबै क्षेत्र स्थानीय तहको चुनावमा व्यस्त । चुनावपछि मतपरिणामको प्रतिक्षाले व्यग्र बनाएको छ । तर खेलाडीहरुलाई भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने नहुने दुविधा एवं अन्यौल बढेको छ । निर्वाचनमा सबै क्षेत्र होमिदाँ खेलकुद पनि त्यसबाट अछुतो रहन सकेको छैन् ।
यही जेठ २२ देखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषदले निर्णय गरेको थियो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र परिषद सदस्य सचिव टंकलाल घिसिङसहितको टोलीले पोखरा भ्रमण गरेर आवश्यक तयारीमा जुट्न निर्देशन दिएका थिए । तर सरकारले बजेट दिने छनक देखाएपनि आवश्यक प्रक्रियाको लागि ३५ दिने सूचना निकाल्नुपर्ने निर्देशन गरेपछि नवौं राष्ट्रिय खेलकुुद प्रतियोगिता अनिश्चित बनेको हो ।

गण्डकी प्रदेश खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक तयारी गरेको थियो । खेलाडीको नामावली संकलन गर्ने काम गर्दै आएको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए । ‘गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी किन नगरेको भनेर मन्त्री र राखेप सदस्य सचिवले सार्वजनिक मञ्चबाटै भने । त्यसै अनुसार हामीले सबै जिल्लामा खेलाडीको नाम संकलन गर्ने र दर्ता प्रक्रियामा थियौं ।’ उनले भने–‘दर्ता प्रक्रिया पुरा भईसकेको छैन् । कुन जिल्लामा कति खेलाडी छन् भन्ने यकिन दर्तापछि मात्रै थाहा हुन्थ्यो ।’ जेठ ४ गतेसम्म खेलाडी दर्ता प्रक्रियाको मिति तोकिएको उनले जानकारी दिए ।

उनका अनुसार कुन जिल्लामा कति खेल र खेलाडी छन् भन्नकै लागि खेलाडी दर्ता शुरु गरिएको हो । सबै जिल्लाहरुको खेलाडी दर्ता भएपछि मात्रै प्रदेश छनोट शुरु गरिने गण्डकी प्रदेश खेलकुद परिषदको योजना थियो । ‘जेठ ५ गतेदेखि ९ गतेसम्म प्रदेश छनोट गर्ने कार्यतालिका थियो ।’उनले भने–‘तर अहिले अन्यौल बढेको छ ।’ उनले जिल्लामा खेलाडी छनोट कहिले गर्ने सेड्युल मागेपनि दिन नसकिएको स्पष्ट पारे । ‘बजेट दिएको छैन् । संघहरुले छनोट कहिले गर्ने भन्दै सेड्युल मागेका छन् ।’ उनले भने–‘प्रदेश सरकारले पनि बजेट दिएको छैन् । बजेटको लागि कार्यतालिका पेश भएको छैन् । कार्यतालिका पेश भएर पास भएपछि मात्रै बजेटको प्रक्रिया अगाडि बढ्छ ।’ बजेट पास नहुदासम्म नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने सम्भावना कमै रहेको उनको बुझाई छ ।

जेठ अन्तिम साता आयोजना गरिने खेलकुद प्रतियोगितामा केही खेल भने मौसमकै कारण सम्भावना नभएको प्रतियोगिता दिएका छन् । सबैभन्दा सम्वेदनशिल मानिएको प्याराग्लाईडिङ मौसमकै कारण सम्भव नहुने जिकिर प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघका महासचिव शैलेन्द्र रावतले गरे । उनले गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयका मन्त्री राजीव गुरुङसँग मौसमकै कारण प्याराग्लाईडिङ प्रतियोगिता हुन नसक्ने भन्दै सार्न आग्रह गरेका थिए ।