पोखरा रंगशालाको स्वामित्व प्रदेशको मातहमा ल्याउन पहल गरिने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २४ गते २०७९ मा प्रकाशित


पोखरा-पोखरा रंगशालाको पूर्वाधार सुधार गर्दै रातको समयमा अन्तराष्ट्रियस्तरको खेलहरु सञ्चालन गर्न सकिने बनाउने गण्डकी प्रदेश सरकारले लक्ष्य लिएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अन्तराष्ट्रियस्तरको प्रतियोगिता रातमा समेत गर्न सकिने योजना छ । त्यसको लागि प्रदेश सरकारले पोखरा रंगशालाको स्वामित्व प्रदेशको मातहमा ल्याउन पहल गरिने उल्लेख गरेको छ ।

प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयले पोखरा रंगशालाभित्रका बनेका पूर्वाधारमा रातको समयमा समेत खेल्न मिल्ने गरी सोलार बत्ती जडान गर्न आवश्यक बजेट छुट्टाई आवश्यक काम अघि बढाई सकेको छ । व्याडमिन्टन, स्क्वास, मार्शल आर्टस लगायतका खेलको लागि रातमा समेत प्रशिक्षण गराउने उद्देश्यसहित सोलार बत्ती जडान अभियान अघि सारिएको छ ।

पोखरा रंगशाला फुटबल मैदानमा फ्लड लाईट जडान गर्ने योजना छ । यद्यपी योजनाले मूर्त रुप पाउन सकेको छैन् । फ्लड लाईट जडान गरिए पोखरा रंगशाला फुटबल मैदानमा अन्तराष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सकिने छ । टेनिस कोर्टमा समेत सोलार बत्ती जडान गर्ने तय भएको छ । ‘सोलार बत्तीको लागि टेण्डर आह्वान गरिसकिएको छ ।’ कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले भने–‘अब छिट्टै जडान गर्ने छ ।’

प्रदेश सरकारले सोलार बत्तीको लागि ४० लाख बजेट छ्ट्टाएको छ । सोलार बत्तीको लागि आशयपत्र जारी भईसकेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक अनिल अधिकारीले बताए । उनले भलिबल, बास्केटबल, पुरानो कभर्ड हल, व्याडमन्टिन, स्क्वास , लनटेनिस तथा बहुउद्देश्यीय कभर्ड हलमा रहेको मुआथाई प्रशिक्षण केन्द्रमा सोलार बत्ती जडान गरिने जानकारी दिए ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै असोज अन्तिम साता पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि नेपाल सरकारसँग समन्वयमा आवश्यक कार्य गर्ने जनाएको छ । प्रदेश सरकारले नै कास्कीको भेडाबारीमा एन्फा टेक्निकल सेन्टर निर्माणको कामलाई नेपाल सरकारसँग समन्वय गर्ने जनाएको छ ।

प्रदेश सरकारले खेल्छ गण्डकी नारा अघि सारेको छ । युवाको बढ्दो चासोलाई सम्बोधन गर्न प्रदेश खेलकुद नीति बनाई कार्यान्वयन गरिने छ । गण्डकी प्रदेशलाई खेलकुदको पर्यटन केन्द्रको रुपमा विकास गर्न युवा तथा खेलाडी स्वास्थ्य, अनुशासित, प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै विभिन्न परम्परागत, साहसिक, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलाडी तथा प्रशिक्षक तयार गरी खेलकुद प्रतियोगिता सञ्चालन गरिने उल्लेख गरेको छ । उत्कृष्ठ खेलाडी तथा प्रशिक्षकलाई खेलकुद पुरस्कार प्रदान गर्ने प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा समेटेको छ । प्रदेशको प्रतिनिधित्व गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन सहयोग गरिने छ ।

एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा रंगशाला निर्माण तथा स्तरोन्नति गरिने छ । उच्च उचाई तालिम केन्द्र स्थापनालाई समेत जोड दिने जनाएको छ । प्रदेश स्पोर्टस एकेडेमी स्थापना गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने नीति लिईने छ । प्रदेशको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बाचन गरेका थिए ।