खेलग्राम तथा गल्फ कोर्ष बनेपछि मुस्ताङ हाईअल्टिच्युट ‘स्पोर्टस हब’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २५ गते २०७९ मा प्रकाशित


उपल्लो मुस्ताङस्थित विश्वकै अग्लो ४ हजार ७ सय मिटर उचाईमा रहेको प्रस्तावित गल्फ कोर्ष । गल्फ कोर्ष अध्ययन गर्ने क्रममा पर्वतीय खेलकुद महासंघका अध्यक्षसहित गण्डकी खेलुकद परिषदका पदाधिकारीहरु । तस्बिर गोविन्द भट्टराईको फेसबुकबाट ।

पोखरा-खेलकुदका धेरै योजना छन् । केही योजना दीर्घकालिन छन् । योजनाहरु अघि सार्दै निर्माणको काम पनि अगाडि बढेको छ । सञ्चालनपछि दिगो बनाई राख्ने योजनाहरुलाई सरकारी ध्यान जान जरुरी छ ।

गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुँ गाँउपालिकामा हाईअल्टिच्युट खेल मैदान(ट्रेनिङ सेन्टर) निर्माणको योजना अघि सारेको छ । केन्द्र सरकारको पनि हाईअल्टिच्युट खेल मैदान बनाउने प्रस्ताव छ । प्रदेश सरकारले मुस्ताङमा बनाउन अघि सर्दा केन्द्रले जुम्लालाई रोजेको छ । प्रदेश र केन्द्र सरकारको तादम्यता नमिले दुवै ठाउँमा हाईअल्टिच्युट टे«निङ सेन्टर बन्न कठिनाई छ । दुवै सरकारको समन्वयमा लगानी हुनुपर्ने पर्वतीय खेलकुद महासंघले आवश्यकता औंल्याउँदै आएको छ । एकै ठाँउमा हाईअल्टिच्युट मैदान बनाउन लगानी गर्नुपर्ने खाँचो महासंघले देखेको छ ।

‘जुम्लामा भन्दा मुस्ताङमा हाई अल्टिच्युट खेल मैदान बनाउन सहज र राम्रो देखिन्छ ।’ पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले भने–‘सडक र हवाई सञ्जालले मुस्ताङलाई जोडिसकेको छ । यसले पनि मुस्ताङमा सहज देखिन्छ ।’ प्रदेश सरकारको योजना भित्र परेको मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकैको बारागँु क्षेत्रमा निर्माणाधिन हाईअल्टिच्युट खेल मैदान निरीक्षण गरेर फर्किएपछि अध्यक्ष भट्टराईले प्रदेश र केन्द्र सरकारको लगानी हुनुपर्नेमा जोड दिए ।

‘मुस्ताङलाई हवाई सेवाले जोडेको छ । सडक पहँुच पनि छ । राजमार्गको स्तरोन्नति समेत हुदैै छ ।’ उनले थपे–‘दुवै सरकारको लगानी एउटै योजनामा हुनुपर्छ ।’ मुक्तिनाथ मन्दिर नजिकै बारागुँ क्षेत्रमा हाईअल्टिच्युटका लागि ५ सय रोपनी क्षेत्रफलमा सम्याउने काम भएको उनले बताए । स्थानीय तहबाट समेत बजेट छुट्टाउँदै जमिन सम्याउने काम भईरहेको उनले जानकारी गराए । प्रस्तावित हाईअल्टिच्युट सेन्टर ३ हजार ६ सय मिटरको उचाईमा पर्छ ।

मुस्ताङमा हाईअल्टिच्युट टे«निङ सेन्टर मात्रै नभई उपल्लो क्षेत्रमा गल्फ कोर्ष सहित खेलकुदका अन्य पूर्वाधार निर्माणाधिन अवस्थामा छन् । उपल्लो मुस्ताङस्थित नेपाल–चीन बोर्डर(कोरला नाका) नजिकै गल्फ कोर्ष बनाउने योजना डेढबर्ष अघिकै हो । योजना अनुसार सडक निर्माण गरिएको छ । ‘गल्फ कोर्षसम्म पुग्ने बाटो निर्माण भईसकेको छ । त्यसको लागि ५०÷६० लाख रुपैयाँ खर्च भईसकेको छ ।’ अध्यक्ष भट्टराईले सुनाए ।

लोमान्थाङमा खेलग्राम निर्माण शुरु गरिएको दुई वर्ष बित्यो । समुद्री सहतदेखि ३ हजार ७ सय ५० मिटरको उचाईमा निर्माणाधिन खेलग्राम गण्डकी प्रदेशकै उचाईको खेलग्राम बन्ने छ । खेलग्राममा फुटबल मैदानसहित, लन टेनिस कोर्ट, भलिबल तथा बास्केटबल कोर्ट समेत निर्माण गर्ने योजना रहेको लोमान्थाङबाट निर्वाचित गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले सुनाए । किमलिङ–६ मा निर्माणाधिन खेलग्राम ३ सय ८ मिटर लम्बाई र १२० मिटर चौडाईको छ । मैदानको पूर्व तर्फ १ सय २० मिटर लम्बाईको पर्खाल लगाइसकिएको छ । पर्खाल ५ मिटर अग्लो र सवा दुई मिटर चौडाईको छ । उत्तर तर्फ १५ सय दर्शक क्षमताको प्यारापिट बनाउने योजनासहित काम गरिएको छ । योजनाको लागि सरकार तथा स्थानीय तहबाट डेढ करोड रुपैयाँ बजेट छुट्टाइएको थियो ।

खेलग्राम निर्माणपछि पोखरापछिको सबैभन्दा ठूलो स्पोर्टस हब बन्ने छ । ‘कोरला–जोमसोम–बेनी– पोखरा जोड्ने राजमार्ग बन्दै छ । स्तरोन्नतिको काम हुदैं छ ।’ अध्यक्ष भट्टराईले भने । उनले गल्फ कोर्ष विश्वकै उत्कृष्ठ कोर्ष बन्ने दावी समेत गरेका छन् । ‘कोर्ष मात्रै बनाएर हुदैन् । दीर्घकालिन योजना र कार्यक्रमलाई अन्तराष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गर्न जरुरी छ ।’ उनले भने–‘निर्माणपछि सञ्चालन र दिगो विकासको लागि रणनीतिक योजना बनाउन सकिएन भने कोर्षको औचित्य हुदैन् ।’ उनका अनुसार विदेशी गल्फर ल्याउने कार्यक्रम बनाउन सकिएको अवस्थामा ‘वल्र्डक्लास कोर्ष’ बन्न सक्छ ।