हेमजा गोल्डकपलाई नेपाल आईसको प्रायोजन

- हेमजा र बीरगन्ज युनाईटेड बीच उदघाटन खेल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २६ गते २०७९ मा प्रकाशित


असार ४ गते पोखरा–२५ हेमजा गौरी शंकर खेलमैदानमा आयोजना हुने छैटौं नेपाल आईस अन्तराष्ट्रिय हेमजा गोल्डकप बारे जानकारी दिदैं आयोजक हेमजा युनाईटेड क्लबका अध्यक्ष इन्द्र कुँवर ।

पोखरा-असारको पहिलो साता पोखरा–२५ हेमजामा छैटौं संस्करणको नेपाल आईस अन्तराष्ट्रिय हेमजा गोल्डकप शुरु हुने छ । हेमजा युनाईटेड क्लबको आयोजनामा पहिलो पटक मुख्य प्रायोजकसँगको सहकार्यमा गोल्डकप शुरु हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । पाँचौ संस्करणसम्म क्लबले नयाँ वर्षको अवसरमा शुभकामना कप आयोजना गर्दै आएको थियो ।

छैटौं संस्करणको गोल्डकप आयोजना गर्न क्लबले तीन वर्ष कुर्यो । पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदान(गैरी) मर्मत सम्भार शुरु गरियो । मैदान निर्माण लगभग तयारी भईसकेपछि आयोजनाकै संघारमा रहँदा कोभिड–१९ ले सार्यो । मैदान बनाउन राष्ट्रिय खेलकुद परिषदले झण्डै डेढ करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

मैदान स्तरोन्नतिसँगै क्लबले पहिलो पटक मुख्य प्रायोजक भेट्यो । नेपाल आईसले मुख्य प्रायोजन गरेपछि गोल्डकपको रुपमा रुपान्तरण हुन पुग्यो । घरेलु मैदानमा घरेलु क्लब हेमजा युनाईटेडले बीरगन्ज युनाईटेडसँग खेल्दै गोल्डकप उदघाटन हुने क्लबका अध्यक्ष ईन्द्र कुँवरले पत्रकार सम्मेलनमा जानकारी दिए । गोल्डकप पोखराको दोस्रो ठूलो राशीको फुटबल प्रतियोगिता समेत हो ।

असार ४ गतेदेखि शुरु हुने प्रतियोगितामा केवल ८ टिमले उपाधि प्रतिस्पर्धा गर्ने छन् । खुमलटार युथ क्लब, बागमती युथ क्लब सर्लाही, चर्च ब्वाईज क्लब काठमाडौं, कालिका स्पोर्टस एकेडेमी, एभेनिर एफसी डाउला क्यामरुन र शसस्त्र प्रहरी बलको एपीएफ क्लबको सहभागिता रहेको क्लबका सचिव सुनिल गायकले बताए ।

उपाधि विजेताले ६ लाख नगद राशीको पुरस्कार प्राप्त गर्ने छ । उपविजेताले नगद ३ लाख रुपैयाँ पाउने छ । क्लबको मैदानको स्तरोन्नतिपछिको पहिलो प्रतियोगिता हो । प्रतियोगिताले एकेडेमी सञ्चालन तथा व्यवस्थापन गरी नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छ । मैदान संरक्षण गर्ने छ । गौरी शंकर मैदानलाई प्रादेशिक खेल मैदान पहल गर्ने समेत क्लबले जनाएको छ । उत्कृष्ठ खेलाडीले नगद ५० हजार, सर्वाधिक गोलकर्ताले २५ हजार रुपैया पुरस्कार थाप्ने छन् । त्यस्तै पाँच विधाका उत्कृष्ठहरुलाई नगद २०÷२० हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचलाई नगद ५ हजार र फेयर प्ले पुरस्कारलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

परिषदको सहयोगमा मैदानको वरपर नाली(ड्रेन) निर्माण गरिएको छ । व्यवस्थित चेन्जिङ रुम बनाईएको छ । प्यारापिट समेत बनाएको छ । यद्यपी क्लबले प्यारापिट निर्माणलाई अझ बढाउन पहल गर्ने लक्ष्य राखेको छ । क्लबले २०७१ सालदेखि क्लबस्तरीय शुभकामना कप आयोजना गर्दैै आएको थियो । पाँचौ संस्करणसम्म शुभकामना कपलाई निरन्तरता दिएपछि क्लबले छैटौं संस्करणलाई मुख्य प्रायोजकको साथ पाएर पुरस्कार राशी बृद्धि गरेको हो । असार ११ गतेसम्म चल्ने प्रतियोगितामा ६१ लख ६८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ६३ लाख ५० हजार अम्दानीको अनुमान गरिएको छ ।