असार पहिलो शनिबार पोखरामा ४५ किमी साईकल दौड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २७ गते २०७९ मा प्रकाशित


file pic

पोखरा-असारको पहिलो शनिबार(४गते) पोखरामा ४२ किलोमिटरको साईकल दौड आयोजना गरिदैं छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला साईक्लिङ संघ र साईकल सिटी पोखराको सहयोग एवं व्यवस्थापनमा राष्ट्रियस्तरको महिला तथा पुरुष साईकल दौडका आयोजना गरिने महानगर खेलकुद विकास समितिले जनाएको छ ।

४२ किलोमिटर साईकल दौडका लागि संघले साईकल सिटी पोखरासँगको सहकार्यमा रुट समेत अध्ययन गरी महानगर खेलकुद विकास समितिलाई प्रस्तुत गरिसकेको छ । पोखरामा संघकै आयोजनामा कोरोनाको प्रभाव अघि पोखरा आईभी आयोजना गरिएको थियो । स्वदेशी तथा विदेशी खेलाडीहरुको सहभागिता रहेको थियो । महानगर खेलकुदको आयोजनामा हुने साईक्लिङ रेस पहिलो हो भने महानगरको यो चौथो प्रतियोगिता हो । महानगरले यसअघि व्याडमिन्टन, टेबलटेनिस र भलिबल प्रतियोगिता(मेयर कप) आयोजना गरेको थियो ।

असारको पहिलो शनिबार (४ गते) आयोजना हुने साईकल दौडको लागि पोखरा–१९ अर्मलाको जोईमुरेबाट शुरु हुने छ । रुट जोईमुरेबाट र्यालेचौर भलाम हुदैं मौजाबाट अर्मलाकोट झर्ने रुट छ । अर्मलाकोटबाट झरेर घार्मीको डाँडो उक्लिएर ४५ किलोमिटरको दुरी तय गर्ने साईकल संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । उनका अनुसार रुट उकाली ओराली छ । बजार क्षेत्रमा सवारी साधनको चापले समस्या हुदाँ रुट ग्रामीण क्षेत्रमा बनाइएको उनले बताए । उनका अनुसार साईक्लिङको लागि उपयुक्त बनाइएको छ । सहभागिको विमा गरिएको छ । प्रत्येक खेलाडीको ५ लाख रुपैयाँ बराबरको बिमा छ । पोखराभन्दा बाहिर जिल्लाबाट सहभागित हुने साईक्लिष्टलाई यातायात शुल्क(एक हजार रुपैयाँ) उपलब्ध गराईने छ ।

प्रतियोगितामा पोखरा, काठमाडौं, धरान, बुटवल लगायत विभिन्न शहरबाट साईक्लिष्टहरुको सहभागिता रहने छ । महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार साईक्लिङ विजेता महिला तथा पुरुष विजेताले ३०, २० र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । समितिले साईकल दौडको लागि साढे तीन लाख रुपैयाँ खर्चको अनुमान गरेको छ । खड्काका अनुसार सहभागिताको लागि असार २ गतेभित्र दर्ता गरिसक्नुपर्ने छ ।