सडनडेथमा आर्मी फाईनल पुग्दा भ्रमणटोलीको बिदाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २८ गते २०७९ मा प्रकाशित


हेटौंडा-विभागीय क्लब नेपाल आर्मी वर्षको पहिलो उपाधि निकट पुगेको छ । उसले उपाधिको लागि आयोजक क्लबसँग प्रतिस्पर्धा गर्ने छ । शनिबार आर्मीले क्यामरुनी टोली एभिनियर एफसीमाथि सडन डेथमा जित निकाल्दै साविक विजेता त्रिभुवन आर्मी क्लब मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको हो ।

शनिबार भएको दोस्रो सेमीफाइनलमा आर्मीले एभिनियरलाई सडनडेथमा पराजित गरेको हो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमार्फत् नतिजा निकालिएको हो । सडनडेथसम्म पुग्दा दुवै टिमबाट १४÷१४ प्रहार भएका थिए । आर्मीको ११ प्रहार गोल हुँदा एभिनियरका १० गोल हुदैं प्रतियोगिता बाहिरिन पुग्यो । फुटबल इतिहासमा यो पनि दुलर्भ नजितामै पछ । पोखरामा आयोजित क्याराभान गोल्डकपमा पेनाल्टी सुटआउटमा बराबर भएपछि टस गर्दै निर्णय गरिएको थियो ।

अन्तिममा प्रहार गर्न पुगेका एभिनियरका डिजिकाको प्रहार बारमा लागेर फर्किएपछि आर्मी भाग्यमानी ठहरिएको हो । खेलमा भने आर्मीले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुवातमै आर्मीले अग्रता लिएको थियो । आर्मीका लागि ५१ औं मिनेटमा दिनेश हेम्जनले गोल गरेका हुन् । एभिनियरका डिफेण्डरको खुट्टामा अल्झिएको बललाई उनले गोलमा परिणत गरेका थिए । अतिरिक्त समयको अन्तिम केही सेकेण्ड बाँकी रहँदा एभिनियर खेलमा फर्किएको थियो । क्यामरुनी टोली आगामी शनिबारदेखि पोखरामा आयोजना हुने छैटौं नेपाल आईस अन्तराष्ट्रिय हेमजा गोल्डकपमा सहभागि हुन पोखरा आउने छ ।

एभिनियरका डिजिकाले हेडमार्फत् गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । आर्मीले उपाधिका लागि सोमबार घरेलु टोली विजय युथसँग प्रतिस्पर्धा गर्नेछ । विजय युथले शुक्रबार भएको पहिलो सेमीफाइनलमा पुलिसलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । खेलको म्यान अफ दी म्याच आर्मीका दिनेश हेम्जन भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे ।

एभिनियरका प्रशिक्षक आशिक थापामगरले पटकपटक पाएको मौकालाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए । ‘हामीले केही राम्रा मौका पाएका थियौं । त्यसलाई सदुपयोग गर्न सकेनौं । अन्तिम केही सेकेण्ड बा“की रहँदा खेलमा फर्किएर पनि हार व्यहोर्न बाध्य भयौं,’ मगरले भने । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले अन्तिममा डिफेन्स लाइन चुक्दा खेल बराबरीमा पुगेको र जितका लागि सडनडेथसम्म कुर्नुपरेको प्रतिक्रिया दिए ।

यसअघि, मकवानपुरको विजय युथ क्लब हेटौंडामा जारी मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको थियो । नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै विजय युथले उपाधि भिडन्त पक्का गरेको हो । शुक्रबारको प्रतियोगितामा विजय युथका लागि खेलको ५२ औं मिनेटमा विदेशी खेलाडी पेपेले गरेको गोल नै निर्णायक बन्यो । अमिर श्रेष्ठको कर्नरलाई पेपेले हेडमार्फत् गोल गरेका थिए । १२ औं मिनेटमा पुलिसका रवि पासवानको प्रहार बारमा लाग्दा पुलिस सुरुवाती अग्रता लिनबाट चुक्यो । पहिलो हाफ दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।

५९ औं मिनेटमा पुलिसले बराबरी गर्ने मौका खेर फाल्यो । पासवानको प्रहारलाई विजय युथका गोलरक्षक अशोक बरालले एक हातले मुस्किलले बचाए । ७४ औं मिनेटमा विजय युथ अग्रता दोब्बर बनाउनबाट चुक्यो । विमल रानाले मिलाइदिएको पासमा डोना थापाको प्रहार बाहिरियो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको अतिरिक्त समयमा भोला सिलवालको प्रहार पोष्ट नजिकबाट बाहिरियो । खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता पेपे भए । उनले नगद १० हजार रुपियाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताका शीर्ष २ टिमले सोमबार उपाधि भिडन्त गर्नेछन् । जिल्ला फुटबल संघले आयोजना गरेको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप विजेताले १५ लाख र उपविजेताले १० लाख रुपियाँसहित ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत् उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपियाँसहित ट्रफी प्राप्त गर्नेछन् ।