आर्मीलाई दोस्रो पटक मकवानपुर गोल्डकप

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ३० गते २०७९ मा प्रकाशित


हेटौंडा -नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले वर्षको पहिलो उपाधि हेटौडामा उचालेको छ । आर्मीले हेटौडामा उपाधिलाई दोहोर्यायो । हेटौंडाको मैदान त्रिभुवन आर्मीलाई फापेको छ । हेटौंडा–५ को पिप्ले रंगशालामा सोमबार सम्पन्न चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि दोस्रो पटक उचाल्दै आर्मीले वर्षको उपाधि आफनो नाममा लेखायो ।

आर्मीले २०७७ सालमा तेस्रो मकवानपुर गोल्डकपको फाइनलमा पनि घरेलु टोलीलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो । सोमबार सम्पन्न रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली विजयी युथ क्लब हेटौंडालाई २–१ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको छ । आर्मीले उपाधि र शिल्डसगै १५ लाख पाएको छ भने उपविजेता हेटौंडाले शिल्डसँगै १० लाख पुरस्कार पाएको छ ।

आर्मीले तेस्रो मकवानपुर गोल्डकपमा घरेलु टोली मकवानपुरलाई नै १–० गोलन्तरले नै पराजित गर्दै उपाधि जितेको थियो । अघिल्लो पटक फाइनलमा पुगेर उपाधि हात पार्न नसकेको हेटौंडाले यस पटक पनि उपविजेतामा चित्त बुझाएको छ । आर्मीलाई च्याम्पियन बनाउन कप्तान भरत खवास र कमलबहादुर थापाले गोल गरे । घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टीमार्फत् गोल फर्काए पनि पर्याप्त भएन । १५ औं मिनेटमा कप्तान खवासको गोलबाट आर्मीले सुरुवाती अग्रता लिएको थियो । उनले टेकबहादुर बुढाथोकीको पासलाई सुन्दर फिनिसको नमूना प्रस्तुत गरेका थिए । त्यसको १० मिनेटपछि घरेलु टोली बराबरी गोल फर्काउन सफल भयो । युद्ध शाहीले पेनाल्टी बक्समा बिमल रानालाई फाउल गरेपछि रेफ्रीले विजय युथलाई पेनाल्टी प्रदान गर्दा डोना थापा चुकेनन् ।

दोस्रो हाफको शुरुमै थापाले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । लगत्तै आर्मीले पेनाल्टीको अवसर पाए पनि दिनेश हेम्जन गोल गर्न चुके । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले सन्तोष केसीलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा हेम्जन चुकेका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै विजय युथका कप्तान तथा गोलरक्षक बरालले बुलेट बाइक प्राप्त गरेका छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको करिब ६ लाखको मोटरसाइकल बरालले हात पारेका हुन् । उनी युथ–२३ का पूर्वराष्ट्रिय खेलाडी हुन् भने मनाङ मस्र्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेल्छन् ।

प्रतियोगिताको व्यक्तिगत् विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकतर्फका सबै पुरस्कार आर्मीले प्राप्त गरेको छ । आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर बिमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड हेम्जन र प्रशिक्षक नवीन न्यौपाने उत्कृष्ट घोषित भए । उनीहरुले जनही नगद २५ हजार प्राप्त गरे । प्रतियोगिता विजेता र उपविजेता खेलाडी तथा प्रशिक्षकलाई नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पुरस्कार प्रदान गरेका थिए ।

फाइनलको यात्रा तय गर्दा आर्मीले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र विदेशी टोली एभिनियर एफसीलाई पराजित गरेको थियो । दुवै टोलीलाई आर्मीले पेनाल्टीमा पराजित गरेको हो । आर्मीले विपक्षीको पोष्टमा २ गोल गर्दा आफूले पनि २ गोल नै खाएको थियो । विजय युथ उपाधिनजिक पुग्ने क्रममा नवजनजागृति युवा क्लब र नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । विजय युथले दुवै खेल निर्धारित समयभित्र आफ्नो नाममा लेखाएको थियो । विजय युथले ४ गोल विपक्षीको पोष्टमा गर्दा आफूले कुनै गोलको सामना गर्नुपरेको थिएन ।

आर्मीको डिफेन्स लाइन निकै बलियो देखिएको थियो । विजय युथको मिडफिल्ड र फरवार्ड बलियो देखिएकाले फाइनल खेल ‘आर्मीका डिफेन्डरविरुद्ध विजय युथका फरवार्ड’ का रुपमा चित्रण गरिएको थियो । अनुभवी र पूर्वराष्ट्रिय खेलाडी टोलीमा रहेको फाइदा फाइनलमा आर्मीलाई भएको देखियो । जबकि, विजय युथमा युवा प्रतिभावान् खेलाडीको बाहुल्यता थियो । विजय युथका मुख्य डिफेन्डर विदेशी खेलाडी पेपे दोहोरो पहेंलो कार्डका कारण फाइनलबाट बञ्चित हुनु घरेलु टोलीका लागि दुर्भाग्य बनेको थियो । जेठ १९ गते सुरु प्रतियोगितामा १२ टोलीको सहभागिता थियो । प्रतियोगिताको पहिलो संस्करण थ्रीस्टार, दोस्रो मकवानपुर र तेस्रो आर्मीले जितेका थिए ।