प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टनको उपाधि दिलाशा र क्षितिजलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ११ गते २०७९ मा प्रकाशित


पोखरा-प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि महिला तर्फ कास्कीकी दिलाशा राना र पुरुष तर्फ नवलपुरका क्षितिज खनालले जितेका छन् । कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजित प्रतियोगितामा महिला तर्फ दिलाशाले कास्कीकै अनु रानालाई सोझो सेटमा पराजित गर्दै उपाधि चुमिन् । उनले २१–१५,२१–११ को सेटमा पराजित गर्दै उपाधि उचालिन् ।

पुरुष तर्फको प्रतिस्पर्धामा भने नवलपुरका क्षितिज खनालले उपाधि उचाले । उनलाई कास्कीका विधान अधिकारीले तेस्रो सेटको प्रतिस्पर्धामा खेल त्यागिदिए । पहिलो सेट अधिकारीले आफनो पक्षमा पारेका थिए । दोस्रो सेट भने खनालले कम व्याक हुदैं प्रतिस्पर्धात्मक बनाए । यद्यपी तेस्रो सेटमा आईपुग्दा अधिकारीले खेल बीचैमा छाडे। अधिकारीले पहिलो सेट २१–१९ मा लिएका थिए भने दोस्रो सेट खनालले २१–१५मा आफनो पक्षमा पार्दै निर्णायक सेटमा पुर्याएका थिए ।

कास्कीका विशाल खड्का र लमजुङका सुजन थापा तेस्रो स्थानमा रहे । महिला डबल्स तर्फको प्रतिस्पर्धामा कास्कीका यामकुमारी गुरुङ र दिलाशा रानाको जोडीले कास्कीकी माया पुन र तनहुँकी रुबी श्रेष्ठको जोडीलाई निर्णायक सेटमा पराजित गर्दै उपाधि उचाले । गुरुङ र रानाको जोडीले पुन र श्रेष्ठको जोडीलाई २१–१५, २४–२६ र २१–१५को सेटमा पराजित गर्दै उपाधि चुम्न सफल भए ।मेनुका गुरुङ र आयुष्मा नेपाल तथा कास्कीकै आकृति केसी र अनु रानाको जोडी तेस्रो स्थानमा रहे ।

पुरुष तर्फको डबल्सको उपाधि कास्कीका विधान अधिकारी र पर्वतका विधान गुरुङको जोडीले उचाल्यो । उनीहरुको जोडीले लमजुङका सुजन थापा र स्याङजाका दिपक रानाको जोडीलाई २१–१४, १८–२१ र २१–१८ को सेटमा पराजित गर्दै उपाधि उचाले । कास्कीका विशाल बस्नेत र बिशाल गुरुङको जोडी तथा विशाल खड्का र कृष्ण बस्नेतको जोडी तेस्रो स्थानमा रहे ।

प्रतियोगितामा महिला एकल तर्फकी विजेताले नगद १५ हजार प्राप्त गरिन् । दोस्रो र तेस्रो हुनेले क्रमश १०/१० हजार प्राप्त गरे । पुरुष एकल तर्फको विजेताले नगद २० हजार र उपविजेतासँगै तेस्रो हुने खेलाडीले नगद १०/१० हजार पाउँदा पुरुष डबल्स तर्फको विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश नगद ४०, २५ र २० हजार पाए । महिला डबल्स तर्फको विजेताले नगद ३०, उपविजेताले २० र तेस्रो हुने टोलीले १० हजार नगद प्राप्त गरेको प्रतियोगिताका संयोजक अर्जुन पोखरेलले बताए । प्रतियोगितामा विजेताहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठ लगायतले नगदसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।