
पोखरा-कास्की सेन्ट्रल क्रिकेट एकेडेमीले काठमाडौंको नेक्सस क्रिकेट एकेडेमीलाई ५५ रनले पराजित गर्दै तीन एकदिवसीय मैत्रीपूर्ण क्रिकेट सिरिजमा १–०ले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट सघको निमन्त्रणमा पोखरा भ्रमणमा आएको नेक्सस क्रिकेटसँग कास्की सेन्ट्रल क्रिकेट एकेडेमीले पहिलो पटक मैत्रीपूर्ण सिरिज खेलेको हो ।
पोखरा रंगशाला क्रिकेट मैदानमा कास्की सेन्ट्रल क्रिकेट एकेडेमीले टस जित्दै व्याटिङ गर्दै १५१ रनको योगफल तयार पार्यो । सेन्टर्ल क्रिकेट एकेडेमीका कप्तान विपिन खत्रीले ४९ रन बनाउने क्रममा ७०बल खेल्दै १ छक्का र ५ चौका प्रहार गरेका थिए । ओपनरको रुपमा क्रिजमा रहेका मुष्कान थापाले उत्कृष्ट शुरुवात गरे । उनले ३० रनको योगदान दिए । उनले दिपक चन्दको बलमा आउट हुनु अघि ३१ बल खेल्दै एक छक्का र तीन चौका प्रहार गरे ।
अमृत गुरुङले २० बल खेल्दै २३ रनको पारी खेले । उनले तीन छक्का प्रहार गरे । आयुष सैंजुले १६ रनमा अविजित रहे । विधान श्रेष्ठ शून्यमा आउट भए । विधान सुमिष्ट बुढाथोकीको बलमा सुमित कडेंलको हातबाट क्याच आउट हुदैं पभेलियन फर्किए । नेक्ससका लागि दिपक चन्द र अशोक धामीले समान ३÷३ विकेट लिदाँ सुमित बुढाथोकीले दुई विकेट लिए । अशोकले सात ओभर फाल्दा ३ मेडन राखे । सुमितले पनि ७ ओभर नै बलिङ गर्ने क्रममा दुई २ मेडन राख्न सफल भएका थिए ।
१५२ रनको लक्ष्य पछ्याउने क्रममा नेक्सस भने सस्तैमा समेटिन पुग्यो । नेक्ससलाई ६६ रनमै अलआउट गर्ने क्रममा कास्की सेन्टर्ल क्रिकेट एकेडेमीका विपिन खत्रीले सर्वाधिक ५ विकेट आफनो नाममा लेखाए । उनी खेलमा प्लेयर अफ दि म्याच समेत घोषित भए । नेक्ससका लागि सर्वाधिक अमन नाथले १३ रन बनाए । त्यसपछि आठौं नम्बरमा आएका अशोक धामीले दोहोरो अंकको रन बनाउने क्रममा १० रनमा आउट भए । नेक्ससका अन्य व्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । कसिलो बलिङ गर्ने क्रममा अमृत गुरुङले ३ विकेट लिए । सुवास भण्डारीको नाममा एक विकेट लेखियो ।
कास्कीको क्रिकेटको विकाससँगै क्रिकेट एकेडेमीलाई प्रभावकारी बनाउने नेक्सस क्रिकेट एकेडेमीसँग मैत्रीपूर्ण क्रिकेट सिरिज आयोजना गरिएको कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुनले बताए । उनले एकेडेमीका युवा खेलाडीलाई सिरिज मार्फत एक्पोज गर्ने मुख्य उद्देश्य राखिएको स्पष्ट पारे । कोषाध्यक्ष पुनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत लक्षित गर्दै युवा खेलाडीको क्षमता समेत सिरिज मार्फत देख्न सकिने र खेलाडीमा भएका कमिकमजोरीलाई राष्ट्रिय प्रतियोगितासम्म सुधार्न सकिने बताए ।