नवौं राष्ट्रिय खेलकुद नवलपुरमा पनि हुनुपर्छ- खेलकुदकर्मी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ३१ गते २०७९ मा प्रकाशित


नवलपुर-असोजको अन्तिम साता नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको संघारमा गण्डकी प्रदेश छ । प्रदेशका सबै जिल्लामा खेल खेलाउने योजना छ । यद्यपी राष्ट्रिय खेलकुद परिषदले ठोस निर्णय गरेको छैन् । खेल व्यवस्थापन उपसमिति भने खेल मैदान हेर्न दौडधुपमा छ । कुन खेल कहाँ खेलाउने भन्ने निर्णय नहुदाँ त्यस अनुसारको तयारी समेत गर्न सकिएको छैन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको खेल मैदान व्यवस्थापन उपसमितिसँग जिल्ला खेलकुद विकास समिति नवलपुरले आयोजना गरेको अन्तरक्रिया नवलपुरमा पनि खेल आयोजना गर्नुपर्ने आवाज उठाएका छन् । परिषदले भने सबैजसो खेललाई पोखरामै केन्द्रीत गर्ने ध्येय समेत राखेको बुझ्नमा आएको छ । नवलपुर नगरपालिकाकी उपप्रमुख फुलकुमारी थनेतले नवलपुरमा खेलकुदका पूर्वाधारहरु पर्याप्त रहेको जिकिर गरिन् । नवलपुर नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन् ‘समग्र जिल्ला मात्रै नभई देशकै गौरव बढाउने प्रतियोगिता सञ्चालन हुनु राम्रो हो, यसमा हामीलाई आएको जिम्मेवारी सभ्य र भब्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी राख्दैनौं । त्यसका लागि छिमेकी पालिकासँग सहकार्य गरेर यसको जिम्मेवारी पुरा गर्नेछौं ।’

कावासोती वडा नम्वर १२ वडाध्यक्ष समेत रहेका पूर्व खेलकुद विकास समिति नवलपुरका सचिव ध्रुव खनालले नवलपुरमा नवौं खेलका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरु रहेका हुनाले आफूहरु प्रतियोगिता सञ्चालन गर्न उत्साहित रहेको बताए । जिल्ला क्रिकेट संघ नवलपुर पूर्व अध्यक्ष प्रकाश पौडेलले आफ्नो जिल्लामा क्रिकेटका पूर्वाधारहरु प्रशस्त रहेको भन्दै यसपटक क्रिकेट खेल सञ्चालनको जिम्मेवारी आफूहरुले पाउनुपर्ने दावी गरे ।

जिल्ला फुटबल संघ नवलपुरका उपाध्यक्ष मेघराज पाण्डेले जिल्लामा राष्ट्रियस्तरकै महिला खेल आफूहरुले यसअघि सम्पन्न गरिसकेको हुनाले आफूहरु पुरुष महिला दुबै खेल सञ्चालन गर्न सक्षम रहेको बताए । परिषदले महिला राष्ट्रि फुटबल प्रतियोगितालाई वालिङमा लैजाने सम्भावना प्रबल छ । नवलपुरमा ५ वटा भन्दा बढी कभर्ड हल छन् । असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलमा ४०७ पदका लागि प्रतिस्पर्धा गर्नेछन् ।