ब्याडमिन्टनका लागि ११ खेलाडी छनोट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ११ गते २०७९ मा प्रकाशित


पोखरा-गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । आगामी असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं संस्करणको खेलकुद प्रतियोगिताका लागि कास्कीले खेलाडी छनोट प्रक्रिया सुरु गरेको हो । जस अनुसार कास्की जिल्ला खेलकुद विकास समितिले बुधबार ब्याडमिन्टन खेलाडीको छनोट गरेको छ । कास्की जिल्लाबाट ब्याडमिन्टनका लागि ७ पुरुष र ४ महिला गरी ११ खेलाडीहरु छनोट भएका छन् ।

पुरुषतर्फ भूगोल गुरुङ , बिधान अधिकारी, विशाल खड्का शशांक अधिकारी, ईशान खड्का, शम्भुकुमार श्रेष्ठ र यासिक्सन गुरुङ छनोट भएका छन् । भूगोल र बिधान ब्याडमिन्टनका राष्ट्रिय खेलाडी हुन् । उनीहरु दुबैले गण्डकी प्रदेशस्तरीय छनोटका लागि वाइल्ड कार्ड पाएको अफिसियल ज्ञानेन्द्र भण्डारीले बताए। कार्कीका अनुसार १० जनाले प्रदेशस्तरीय छनोटका लागि १० जनाले प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै, महिलातर्फ यमकुमारी गुरुङ, आकृति केसी, आयुष्मा नेपाल र शितल केसी छनोट भएका छन्। महिलाकी यमकुमारी राष्ट्रिय खेलाडी हुन् । ब्याडमिन्टनको राष्ट्रिय वरीयतामा यमकुमारी ८ औं स्थानमा छिन् ।

कास्की जिल्ला खेलकुद विकास समितिकी सदस्य मनिषा गुभाजू, कास्की जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष बिशाल खड्का, अफिसियलहरु ज्ञानेन्द्र भण्डारी, बीरबहादुर आले, ईच्छा गुरुङ र रबीचन्द्र होनासहितको समितिले खेलाडी छनोट गरेको हो । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रत्येक टोलीबाट ब्याडमिन्टनमा पुरुषतर्फ ७ र महिलातर्फ ५ जनाले प्रतिनिधित्व गर्नेछन् ।

गण्डकी प्रदेश अन्तर्गतका जिल्लाबाट छनोट भएका खेलाडीहरुले यही भदौको १५ देखि १८ गतेसम्म हुने प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अफिसियल रबीचन्द्र होनाले बताए ।

कास्की जिल्ला खेलकुद विकास समितिले प्रदेशस्तरिय जिल्लास्तरिय छनोट प्रक्रियाका लागि कार्यतालिका प्रकाशित गरिसकेको कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरण बानियाले बताए । जिल्लाबाट छनोट भएका खेलाडीहरुले भदौको १५ देखि १८ गतेसम्म प्रदेशस्तरिय छनोटका लागि प्रतिस्पर्धा गर्ने कार्यतालिका छ ।

यही भदौको २५ गतेभित्रमा खेलाडी र प्रशिक्षकको नाम दर्ता र असोजको १० सम्ममा खेलगत इभेन्ट, खेल समयतालिका, खेलस्थलको जानकारी गराउने आयोजक राखेपको कार्यक्रम तालिका छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ पदकालागि प्रतिस्पर्धा गर्नेछन् ।