फरक फरक जर्सीमा कास्की कबड्डीका खेलाडी प्रतिस्पर्धा गर्न एरिनामा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १६ गते २०७९ मा प्रकाशित


फरक फरक जर्सीमा कास्कीको कबड्डी टोली

पोखरा-खेलकुदमा जर्सी खेलाडीको एउटै रंगको हुनुपर्छ । नियमले पनि त्यही भन्छ । तर विडम्बना गण्डकी प्रदेशस्तरीय छनोट खेलमै खेलाडीले रंगी विरंगी जर्सी लगाएर एरिनामा उत्रिएका छन् । रंगीविरंगी जर्सी लगाउने अन्य जिल्लाका भने होईनन् । स्वंय कास्की जिल्लाका खेलाडीले लगाउँदै एरिनामा उत्रिएका थिए ।

खेल खेलाउने निर्णायकले त्यो पनि हेक्का राख्न सकेनन् । प्रशिक्षक र सम्बन्धित जिल्लाका पदाधिकारीले पनि त्यसलाई ख्याल राखेनन् । जर्सी पाएर खेलाडीले नलगाई खेल्नु अर्को दुर्भाग्य हो । प्रतिस्पर्धी टोलीले पनि त्यसलाई सहर्ष स्वीकार गरेर खेल्न आफैंमा घातक र लज्जास्पद हो ।
आगामी असोज २८ गतेदेखि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा शुरु हुदैं छ । गण्डकी प्रदेशस्तरीय छनोट खेल बिहीबारदेखि पोखरामा शुरु भएको छ । खेलस्थल विभिन्न ठाँउमा तय गरिएको छ । तय गरिएको मध्ये कबड्डी खेल पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको छ । कबड्डी खेलमा घरेलु जिल्ला कास्कीले रंगीविरंगी जर्सी लगाएर एरिनामा उत्रिएको थियो । जुन लज्जास्पदक देखियो । अन्य जिल्लाले जर्सी तयार गरेर लगाउँदा कास्कीले सेट जर्सी लगाउन नसक्नु आफैंमा दुर्भाग्य नै भएको खेलकर्मी बताउँछन् । जिल्ला खेलकुद विकास समिति कास्कीको व्यवस्थापकीय जिम्मेवारी निकै फितलो र कमजोर देखियो ।

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य समेत रहेका छनोट प्रतियोगिताका संयोजक खगेन्द्र क्षत्रीले जर्सीको लागि सम्बन्धित जिल्लालाई नै बजेट दिइएको उल्लेख गरे । जिल्लाले नै जर्सीको प्रबन्ध मिलाएको उनको भनाई थियो । उनका अनुसार प्रदेश खेलकुद परिषदको अनुगमन टोलीले त्यसलाई हेर्नेुपर्ने थियो । कास्कीबाट ३५ खेलमा ६७३ जना खेलाडीहरु प्रदेशस्तरीय छनोटमा सहभागि छन् । कतिपय खेलका खेलाडीले जर्सी पाईसकेको अवस्था छैन् ।

तयारी समय निकै छोटो भएको जिल्ला खेलकुद विकास समिति कास्कीले बतायो । जिल्ला छनोटको लागि आवश्यक बजेट सुनिश्चितता भएको थिएन् । बजेटको सुनिश्चितता नहुदाँ जर्सी बनाउन ढिलो भएको जिल्ला अध्यक्ष तोरण बानियाँले बताए । ‘जिल्ला छनोट खेल १४ गतेसम्म गर्यौं । १६ गतेदेखि प्रदेश छनोट शुरु भयो । बजेट नआउने हो कि भन्ने चिन्ता थियो । पेश्की बजेट दिएपछि मात्रै हामी अगाडि बढ्यौं ।’ उनले भने–‘समय थोरै थियो । जसरी पनि गर्नुपर्ने थियो । त्यसरी नै अगाडि बढेर काम गर्यौं ।’ केही समय दिएको भए त्रुटि कम हुने थियो । जर्सीको विषयमा आफुँ अनभिज्ञ भएको जिल्ला अध्यक्ष बानियाँले प्रतिक्रिया दिए ।