सामान नहुदाँ हर्डल्सको छनोट इभेण्ट हुनै सकेन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १८ गते २०७९ मा प्रकाशित


पोखरा-नवौं राष्ट्रिय खेलकुदको लागि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता चलिरहँदा एथलेटिक्सका ६ वटा इभेण्टको भने प्रतिस्पर्धा भएन् । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ ।

आवश्यक सामानको अभाव नहुदाँ एथलेटिक्सको हर्डल्स तर्फको प्रतिस्पर्धा हुनै नसकेको कास्की जिल्ला एथलेटिक्स संघले स्वीकारेको छ । एथलेटिक्सको प्रदेशस्तरीय छनोट प्रतिस्पर्धाको इभेण्ट पोखरा रंगशालास्थित ट्रयाक एण्ड फिल्डमा आयोजना गरिएको छ । हर्डल्ससँगै म्याराथन समेत छनोट प्रतिस्पर्धा आयोजना गर्न नसकिएको नेपाल एथलेटिक्स संघका केन्द्रीय सदस्य गजबहादुर गुरुङले बताए ।

‘हर्डल्सको लागि हामीसँग(एथलेटिक्स संघ, कास्की) सामान नै छैन् । सामानको लागि गण्डकी खेलकुद परिषद र राष्ट्रिय खेलकुद परिषदलाई समेत आवश्यक सामानको विवरणसहित परिपत्र गरेका थियौं ।’ केन्द्रीय सदस्य एवं एथलेटिक्सका प्राविधिक समेत रहेका गुरुङले भने–‘सामान केही पनि आएन् । भएका सामान जोडजाड पारी एथलेटिक्सका इभेण्टलाई व्यवस्थापन गर्यौं ।’ सटफुट, डिसकस थ्रो, ज्याभलिन थ्रो लगायतका इभेण्टहरुलाई व्यवस्थापन गरिएको संघले जनाएको छ ।

राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने उद्देश्यसहित आएका खेलाडीहरु भने निराश बनेको एथलेटिक्स संघका प्राविधिकले स्वीकारेका छन् । महिला तर्फ १०० मिटर, पुरुष तर्फै ११० मिटर हर्डल्सको इभेण्टमा छनोट प्रतिस्पर्धा नै नभएको उनको भनाई थियो । उनका अनुसार महिला र पुरुष ४ सय मिटर हर्डल्सको इभेण्ट समेत हुनै सकेन् ।

केन्द्रीय सदस्य गुरुङले ३ हजार मिटर स्टेपल चेस भने भएका हर्डल्सलाई जोडजाड पारेर खेलाइएको यथार्थता सुनाए । ‘जेनतेन गरेर स्टेपल चेस खेलाईयो ।’ उनको भनाई थियो । म्याराथनको इभेण्ट समेत प्रदेशस्तरीय छनोट आयोजना गरिएन् । म्याराथनका खेलाडीलाई हाफ म्याराथनमा प्रतिस्पर्धा गराई छनोट गरिने प्रचलन छ । एक पटक म्याराथन दौडिएको खेलाडीले तीन महिना आराम गर्नुपर्ने प्राविधिक बताउँछन् । तीन महिना आराम गर्नुपर्ने भएकोले म्याराथनमा सहभागि खेलाडीलाई हाफ म्याराथनको इभेण्ट गरेर प्रदेशस्तरीय छनोट गरिदैं आएको छ ।

‘म्याराथनको छनोट प्रतिस्पर्धा भएन् ।’ उनले भने–‘पोहोरसाल खेलेका खेलाडीहरुलाई बोलाएर प्रशिक्षण शुरु गरिने छ ।’ अप्ठ्यारो परिस्थितिले ती इभेण्टलाई छोड्नुपरेको गुनासो उनका थियो । उनका भनाई अनुसार म्याराथनमा सहभागि हुने इच्छुक खेलाडीलाई पछि सेलेक्सन गरेर प्रशिक्षणमा राख्न सकिन्छ । ‘जे छ त्यही सामान खोजेर काम गर्यौं ।’ उनले भने–‘राष्ट्रिय गेममा केही हुन्छ कि भन्ने आशा छ ।’

एथलेटिक्सका सामान तुरुन्तै ल्याउन सकिने अवस्था नभएको समेत उनले बताए । सामान ल्याउन कठिनाई थियो । ‘सामान धेरै खाँचो छ । खास गरी संघसँग कुनैपनि सामान छैन् ।’ उनले भने–‘एकैपटक सामान ल्याउन पनि कठिन छ । त्यसले गर्दा पनि प्रदेशस्तरीय छनोटमा सामान आउन ढिलाई भएको हो ।’ हाईजम्पको समेत म्याट नहुदाँ खेलाडी घाईते भएको उनले बताए । आवश्यक सामान हुदाँ एथलेटिक्सका खेलाडी मर्कामा परेका छन् । ‘आवश्यक सामानको विवरण पठाईसकिएको छ । राष्ट्रिय प्रतियोगितामा आईपुग्ला भन्ने आशा छ ।’ उनको भनाई थियो । तस्बिर एजेन्सी ।