नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल र खेल तालिका सार्वजनिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित


पोखरा-एक महिना बाँकी रहदाँ राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल तय गरेको छ । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विभिन्न ५ जिल्लामा मात्रै खेल आयोजना गर्ने खेलस्थल सार्वजनिक गरिएको हो ।

कास्की, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा आयोजना गरिने राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । सुटिङ र क्रिकेट काठमाडौंमा आयोजना हुने छ । क्रिकेट गत भदौ २३ गतेदेखि नै काठमाडौंमा सञ्चालित छ । क्रिकेट प्रतियोगिता शुरु भएपनि निरन्तर पानी परेपछि बाग्मती, गण्डकी, शसस्त्र प्रहरी बलभने प्रतियोगिता नखेली बाहिरिएका छन् ।

स्वीमिङलाई काठमाडौंमा सार्ने योजना भएपनि अन्तत पोखराको फिस्टेल एकेडेमीमा आयोजना गर्ने निर्णय परिषदले गरेको छ । म्याग्दी(तेक्वान्दो, महिला भलिबल) बाग्लुङ,(आईटिएफ तेक्वान्दो) नवलपुरमा(सेपाक ताक्रो र कुस्ती) गोरखामा (बुद्धिचाल) खेलाउने तय गरिएको छ । स्याङजाको वालिङमा महिला फुटबल आयोजना गर्ने विषयमा ठोस निर्णय भने नसकेको परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा कुनैपनि खेल आयोजना नहुने परिषदले उल्लेख गरेको छ । लमजुङमा जिल्ला खेलकुद विकास समितिको प्रशासनिक कर्मचारी नै छैन् ।

एथलेटिक्स(ट्रयाक एण्ड फिल्ड) पोखरा रंगशालामा खेलाईने छ । महिला बास्केटबल पोखराको पृथ्वीनारायण क्याम्पसमा खेलाइने छ । शारीरिक सुगठन पोखरा सभागृह, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, रग्बी भण्डारढीक खेल मैदान, कबड्डी रन्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रंगशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाईने निर्णय परिषदले गरेको छ ।

टेवल टेनिस पोखरा इन्द्रमार्गस्थित कोल्माबाहकोट समाज, हक्की पुरुष गौरीशंकर खेल मैदान र महिला हक्की पोखराकै गण्डकी आवासिय विद्यालय लामाचौरमा खेलाईने छ । साईक्लिङ पोखराको रानीबनमा र ट्रायथोलन लेकसाईड(फेवाताल किनार)मा खेलाइने छ । खेलतालिका अनुुसार असोज २३ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता शुरु हुने छ । २४ गते उसु र फेन्सिङ प्रतियोगिता शुरु गराईने परिषदले उल्लेख गरेको छ । असोज २५ गते महिला तथा पुरुष कबड्डी प्रतियोगिता शुरु हुने छ ।

२७ गते बुद्धिचाल, महिला तथा पुरुष हक्की, गल्फ, महिला तथा पुरुष फुटबल र फुलकन्ट्याक्ट कराँते प्रतियोगिता खेलाईने छ । २८ गते पोखरा रंगशालामा उदघाटन समारोह हुने परिषदले जनाएको छ । खेलस्थल तथा खेल तालिका सार्वजनिक समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न आर्थिक अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनले खेलकुद प्रतियोगितालाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।