संघहरुको गुनासो–‘परिषदबाट चासो र समन्वय भएन’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १ गते २०७९ मा प्रकाशित


पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदैं गर्दा प्रदेश खेलकुद परिषद एवं खेल व्यवस्थापन उपसमितिले खेलसंघसँग चासो र समन्वय नगरेको गुनासो गरेका छन् । आवश्यक पूर्वाधार मर्मत सम्भार तथा क्लोजक्याम्प राख्ने विषयमा परिषदले संघहरुसँग समन्वय नगरेको गुनासो संघहरुले गरेका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि पोखरा रंगशालामा कुनैपनि पूर्वाधार बनेन् । मर्मत सम्भार समेत हुन सकेको छैन् । खेल व्यवस्थापन समितिले खेलस्थलको निरिक्षण गरिसकेको छ । यद्यपी बजेटको निकासा नहुदाँ काम हुन सकेको छैन् । ६ वटै कोर्टमा प्रतियोगिता खेलाउने योजनामा कास्की जिल्ला टेनिस संघ छ । ‘कोर्टको लागि आवश्यक सुर्की अर्डर गरेर पनि आईसकेको छ । नेट फर्नेुपर्ने छ । चुना चाहिन्छ । तर मर्मतको लागि चासो दिएको छैनन् ।’ संघका अध्यक्ष लोकबहादुर गुरुङले गुनासो गरे–‘हामीले १५ लाख रुपैयाँ माग गरेका थियौं । तर कसैबाट बजेट आएको छैन् ।’ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशको क्लोजक्याम्प अझै शुरु भएको छैन् । उनका अनुसार प्रदेश खेलकुद परिषद र खेल व्यवस्थापन उपसमितिले संघहरुसँग कुनै समन्वय नै गरेका छैनन् । ‘ चासो नदिने र समन्वय नै नगर्ने स्थितिमा खेल खेलाउनै गाह्रो छ ।’ उनको भनाई थियो ।

व्याडमिन्टन हलको समस्या पनि उस्तै छ । हल मर्मत गर्नुपर्ने छ । त्यसतर्फ ध्यान परिषदले दिएको छैन् । ‘हलबाट पानी चुहिन्छ । लाईटको उचित व्यवस्थापन भएको छैन् । बजेट कसैले दिदैंनन् ।’ कास्की जिल्ला व्याडमिन्टन संघले हलको यर्थाथता सुनायो । नवौं राष्ट्रिय खेलकुद नजिकिदैं गएको छ । व्याडमिन्टन हल १३ औं दक्षिणएशियाली खेलकुद प्रतियोगिता अघि मात्रै सम्पन्न गरिएको थियो । हल अहिले चुहिन थालेको छ । मर्मत सम्भार नगरी राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजन ागर्न सकिने सम्भावना नभएको संघले गुनासो गर्दै आएको छ ।
‘छानाबाट पानी चुहिन्छ । चुहिएको ठाँउ मर्मत गर्नुपर्छ ।’ कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिल श्रेष्ठले भने–‘लाईटको व्यवस्था गर्नुपर्छ । अस्थायी प्यारापिट बनाउनुपर्ने देखिन्छ ।’ उनका अनुसार लाईटसँगै प्यारापिट बनाउन आवश्यक बजेट अभावले संघ रुमलिएको छ । ‘मर्मत सम्भारको लागि कति पैसा छुट्टाएका छन् । कहिले मर्मत गर्ने हो मेलोमेसो छैन् ।’ उनको भनाई थियो । केही दिन अघि मात्रै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहितको टोलीले पोखरा रंगशालाभित्रका कभर्ड हलहरुको निरिक्षण गरेर फर्किएको थियो ।

बहुउद्देश्यीय कभर्ड हलमा पनि पानी चुहिन्छ । बत्ती छैन् । उज्यालो कम हुदाँ प्रतियोगिता सञ्चालन गर्नै कठिनाई हुन्छ । आन्तरिक स्रोतमा पोखरा रंगशाला धनी छ । भएको आन्तरिक स्रोतलाई परिचालन गरेर मर्मत सम्भार समेत गर्न सकेको छैन् । आन्तरिक स्रोत के मा खर्च हुन्छ मेसो कसैले पाएका छैनन् । तीन महिन अघि हलमा आगलागी भएको थियो । त्यसपछि हल पूर्णरुपमा बत्तीविहीन छ ।

कभर्ड हल बाहेक अन्य खेलकुद पूर्वाधार समेत मर्मत सम्भार हुनै सकेको छैन् । प्रतियोगिताकै मुखमा मर्मत सम्भार गर्ने परिपाटी बस्दै आएको छ । पोखरा रंगशाला क्रिकेट मैदान अझै पूर्णरुपमा तयारी अवस्थामा छैन् । नियमित पानी परेको छ । आउट फिल्ड पूर्णरुपमा बनाइएको छैन् । उबडखाबड छ आउट फिल्ड । खेलाडीले व्यक्तिगत जोखिममा खेल्नुपर्ने बाध्यता छ । ‘१० लाख रुपैयाँ छुट्टाइएको छ । त्यो बजेटले साईडस्क्रीन र पीच मात्रै बन्छ ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘ग्राउण्ड मर्मतको लागि इष्टिमेट गरेर पैसा दिनुहोस भनेर हामीले भनेका छौं ।’ पैसा नहुदाँ आउटफिल्ड बनाउन सक्ने अवस्था छैन् । ‘जे छ त्यसैमा खेलाउनुको विकल्प छैन् ।’उनको भनाई थियो ।

पोखरा–१९ लामाचौरस्थित गोस्ते खेल मैदानमा फुटबल खेलाउने निर्णय भईसकेको छ । फुटबल खेलाउने निर्णय भएपनि मैदानसहित अन्य पूर्वाधार बनाउनै पर्ने देखिएको छ । खेलाडीलाई अत्यावश्यक चेन्जिङ रुम र शौचालय पूर्णरुपमा तयार भईसकेको छैन् । ‘चेन्जिङ रुम र शौचालय बनाउनुपर्ने छ । त्यसको लागि भुँई ढलान गर्नुपर्छ ।’ गोस्ते खेल मैदान निर्माण उपभोक्ता समितिका सचिव एवं कास्की जिल्ला फुटबल संघका महासचिव बुद्धिबहादुर खत्री क्षत्रीले भने–‘परिषदले छुट्टाएको पैसाले भुँई ढलानलाई मात्रै ठिक्क हुन्छ । अरु बनाउने पैसा छैन् ।’ उनका अनुसार परिषदले १० लाख रुपैयाँ छुट्टाएको छ । छुट्टिएको पैसाबाट मैदान मर्मत, सरसफाई लगायतका सबै काम सक्नुपर्ने दबाव रहेको उनले बताए । उनले प्रदेश खेलकुद परिषदसँग ४५ लाख रुपैयाँ खर्च हुने अनुमानसहित बजेट माग गरिएको सुनाए ।