बागमती माथि सशस्त्रको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २५ गते २०७९ मा प्रकाशित


सशस्त्रकी नेरी थापा प्लेयर अफ दि सिरिज बनिन् ।

पोखरा-मध्यक्रमकी व्याटर रोमा थापाले २२ रनको महत्वपूर्ण इनिङ्स खेलेपछि सशस्त्र प्रहरी बलले मंगलबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ विकेटको जित निकालेको छ ।

एकसमय १७÷३ दयनीय अवस्थामा रहेको सशस्त्र प्रहरीलाई मध्यक्रममा रोमा थापा र ममता चौधरीले ३२ रनको साझेदारी निभाउँदै जितको सम्भावना बलियो बनाएका थिए । ८९ रनको लक्ष्य पछ्याएको सशस्त्रले ओपनर ज्योति पाण्डेलाई एक रनलाई गुमाउन पुग्यो । अर्की ओपनर सीता राना मगरले प्रतियोगिताकै पहिलो छक्का हिर्काउँदै १० बलमा १६ रन बनाउँदै राम्रो शुरुवात गरिन् । उनले दुई चौका समेत हिर्काईन् । तेस्रो विकेटको रुपमा सरिता मगर शून्यमै आउट भएपछि क्रिजमा छिरेकी इन्दु बर्मा पनि लामो समय क्रिजमा टिक्न सकिनन् । उनी रनआउट आउटको शिकार हुदैं पभेलियन फर्किएपछि इनिङ्सलाई रोमा थापा र ममता चौधरीले सम्हालेका थिए ।

रोमाले ३५ बल खेल्दै १ चौकासहित २२ रनमा आउट भईन् । चौधरीले २७ बल खेल्दै १७ रनको योगदान गरिन् । नेरी थापा अविजित १६ रन बनाउँदै सशस्त्रलाई जितको हकदार बनाईन् । नेरीले १८ बलमा १६ बनाउदाँ एक चौका सामेल रह्यो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबारको खेलमा टस हारेर व्याटिङमा उत्रिएको बागमती प्रदेश ७ विकेटको क्षतिमा ८९ रनको स्कोर खडा गर्यो । सुमन खतिवडा र अश्मिना कर्माचार्यले समान १९÷१९ को योगदानमा बागमतीले शसस्त्रलाईलाई मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

ओपनर व्याटरद्वय अस्मिता खरेल र कन्चन श्रेष्ठ सस्तैमा आउट भएपछि बागमती दबावमा परेको थियो । खरेल ६ र श्रेष्ठ ३ रनमा आउट हुन पुगिन् । सुमन खतिवडाले १९ रन बनाई खेल्ने क्रममा नेरी थापाको बलमा एलबीडब्लुको धरापमा परिन् । उनले २० बल खेल्दै २ चौकासहित १९ रनको योगदान गरिन् ।

चौथो विकेटको रुपमा क्रिज छिरेकी विन्दा कटवाल ७ रनमै रनआउट हुदाँ आरती विडारी पनि ७ रनमै बोल्ड भईन् । छैटौ नम्बरमा आएकी अस्मिना कर्माचार्यले ३६ बल खेल्दै १९ रन बनाईन् । हेलिशा गुरुङ ५ रनमा आउट हुदाँ अनिशा माझकोटी १ रनमै रनआउट हुदाँ बागमतीले सबै विकेटको क्षतिमा ८९ रनमा समेटिएको थियो । सशस्त्रका रेखा रावल,नेरी थापा र इन्दु बर्माले समान १÷१ विकेट लिए ।खेलमा नेरी थापा प्लयेर अफ दि म्याच घोषित भईन् ।