महानगरद्वारा नवौंमा पदक जित्ने खेलाडीलाई पुरस्कार घोषणा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २६ गते २०७९ मा प्रकाशित


पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो पदकको रुपमा फेन्सिङका विजय अधिकारीले कास्य पदक जितेका छन् । उनले कास्य पदक जितेको भोलिपल्टै पोखरा महानगरपालिकाले खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा गरेको छ ।

व्यक्तिगत विधामा स्वर्ण पदक जित्ने खेलाडीलाई प्रोत्साहन रुवरुप नगद १५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बिहीबार विहान खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा गर्दै थोरै रकम भएपनि महानगरपालिकाले खेलाडीलाई उत्साहित र प्रोत्साहित गर्ने प्रयास गरेको बताए ।

घोषणा अनुसार व्यक्तिगत विधामा रजत पदक विजेता खेलाडीले १० हजार र कास्य पदक जित्ने खेलाडीले ५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिईने छ । टिम इभेण्ट तर्फ भने जनही ५ हजारले प्रदान गर्ने समेत महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पोखरा महानगरबाट दुईसय भन्दा बढी खेलाडीहरु विभिन्न खेलमा सहभागिता रहेको महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले बताए । ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजित प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुने छ । दुई खेल प्रदर्शनी गरिने छ ।