
पोखरा-३९ वर्षपछि पोखराले नवौं राष्ट्रिय खेलकुद मार्फत सबै खेलाडीलाई स्वागत र सत्कारको अवसर पायो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले पोखरालाई खेलकुदमय बनाईदिएको छ । शुक्रबार साँझ तामझामको साथ खेल महोत्सवको औपचारिक उदघाटन गरियो । तर उदघाटनमा भने व्यवस्थापकीय कमजोर प्रष्ट देखियो ।

व्यवस्थापकीय कमजोरले विगतमा भएका राष्ट्रिय प्रतियोगिताको उदघाटन समारोह भन्दा खल्लो बन्यो । राष्ट्रियस्तरमा खेलाडीको लागि सबैभन्दा ठूलो खेल महोत्सव नै राष्ट्रिय प्रतियोगिता हो । यद्यपी फितलो व्यवस्थापनले कमजोरलाई उजागार गरिदियो । त्यसो त लामो समयसम्म गरिएको आतिसबाजीले पनि ध्वनी प्रदुषण एकातिर बढाउँदा अर्कोतिर विशिष्ट व्यक्तित्वहरुले पनि निको मानेनन् । प्यारापिट आधा भन्दा बढी खाली रह्यो । खेलकुद आम सर्वसाधारणको पहुँचमा पु्र्याउने भनिएपनि सर्वसाधारणलाई पोखरा रंगशालामा भएको उदघाटन समारोहमा रोक लगाईयो । गीत संगीतसँगै कला सँस्कृतिको प्रस्तुतले सर्वसाधारणलाई केही बेर धैर्य गरायो । ‘यत्रो भव्य कार्यक्रम गर्दा आम सर्वसाधारणलाई छिर्न नदिदाँ प्यारापिट खाली देखिएको गुनासो राष्ट्रिय खेलकुद परिषदकै कर्मचारीले बताए । हामीले पहिलेदेखि नै भनेका थियौं । सर्वसाधारणलाई प्रवेश दियौं भने तर व्यवस्थापकीय कमजोरीले गर्दा दर्शक छिर्न पाएनन् । प्यारापिट खाली भयो ।आतिसबाजी पनि अलि बढी नै भयो । ’ ती कर्मचारीले भने ।

२०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ८ हजार ४ सय २९ जना खेलाडी, प्रशिक्षक, निर्णायक र अन्य पदाधिकारीको उपस्थिति रहेको थियो । प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उदघाटन गरे । उनले उदघाटन मन्तव्य दिदैं विभिन्न स्थानमा सञ्चालन हुने नेपाली खेलाडी र खेलप्रेमीहरुको यो महान् उत्सव नवौं राष्ट्रिय खेलकुदको भव्य सफलताको शुभकामना व्यक्त गरे । राष्ट्रिय खेलकुद खेलाडी, सम्बद्ध पदाधिकारी र समर्थकहरुका लागि यो ठूलो महोत्सव भएको स्पष्ट पारे ।
हरेक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौं संस्करणमा आइपुगेको छ ।

आजभन्दा ४१ वर्षअघि भएको राष्ट्रिय खेलकुदको प्रथम संस्करणबाट ‘यहाँसम्म आइपुग्दा नेपाली खेलकुदले थुप्रै उतारचढावहरु पार गरेको छ । यहाँ थुप्रै किर्तिमान बनेका छन् । अवसरहरु सिर्जना भएका छन् । चुनौतीहरु पन्छिदै गएका छन् । सम्भावनाहरु देखिएका छन् । भौतिक पूर्वाधार निर्माण हुदै गएका छन् । राष्ट्रिय खेलकुद आयोजना हुने सहरहरुले आफूलाई फेर्ने अवसर पाएका छन् र समृद्धिको मार्गमा अग्रसर भईरहेका छन् । खेलकुद आम नेपालीहरुको लागि चाँँसो र प्राथमिकताको विषय बनेको छ । खेलकुदप्रतिको सोंचमा निकै सकारात्मक परिवर्तन आएको छ ।’ उपराष्ट्रपतिको भनाई थियो ।
२०३८ भदौ २७ देखि असोज ४ सम्म भएको प्रथम संस्करणमा १६ वटा खेल समावेश थिए । जम्मा २६६ पदकका लागि भएको राष्ट्रिय खेलकुदमा १४ सय ४३ जना खेलाडी सहभागी थिए । यो पोखरालाई देशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न र यसको मुहार फेर्न कोशेढुंगा सावित भएको २०४० साल चैत्र १२ देखि २० गतेसम्म यसै भूमीमा भएको दोस्रो राष्ट्रिय खेलकुदमा २१ खेलमा प्रतिस्पर्धा गराइएको थियो । जम्मा ३७० पदकका लागि भएको प्रतिस्पर्धामा २ हजार ५७ जना खेलाडी सहभागी थिए । ती खेलकुदमा सबै भूगोलबाट र महिला सहभागीता न्यून मात्रामा थियो । पोखेरेली सहरले ३९ वर्षपछि दोस्रो पटक स्वागत गरेको यो नवौं राष्ट्रिय खेलकुदमा ३६ वटा खेलमा प्रतिस्पर्धा चलिरहेको छ । पदक संख्या १३ सय ८६ पुगेको छ ।

प्रतिस्पर्धामा ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेका छन । ‘राष्ट्रिय खेलकुद हजारौँ खेलाडीको खेल जीवनको भविष्यसँग जोडिएको हुन्छ । दूरदराजमा हुर्किएर खेलकुदमा अघि बढ्दै गरेका खेलाडीहरुको लागि त यो सपना जस्तै हो । किनकी यो खेलाडी र सम्बद्ध सबैका लागि आफ्नो क्षमता र प्रतिभा राष्ट्र सामु प्रदर्शन गर्ने, राष्ट्रले नयाँ प्रतिभाहरु जन्माउने र किर्तिमानहरु सिर्जना हुने प्रमुख अवसर हो । यो प्रतियोगिताबाट थुप्रै विधामा नयाँ राष्ट्रिय किर्तिमानहरु बन्ने मैले अपेक्षा लिएको छु’उपराष्ट्रपतिले थपे –‘राष्ट्रिय खेलकुदको आयोजनाले भौतिक पूर्वाधारको विकास हुन्छ । सहरका मुहार फेरिन्छन् । यसबाट राष्ट्रको समृद्धिको यात्रामा महत्वपूर्ण योगदान पुग्छ । यस्ता अवसरमा हुने छलफल र भलाकुसारीबाट खेलकुद क्षेत्रका विकासका लागि नीतिगत रुपमा महत्वपूर्ण सुधार हुन्छन् । खेलकुद क्षेत्रको विकासका लागि नयाँ कार्ययोजना बन्छन् ।’

आजको विश्वमा भातृत्व, शान्ति र समझदारी विकासका लागि खेलकुद महत्वपूर्ण कडी हो । व्यक्तिगत विषय भन्दा पनि सिंगो समाज र राष्ट्रको महत्वपूर्ण चिनारी र पहिचान हो । मानवीय मूल्य मान्यता, सामाजिक सद्भाव र भाइचारा विकास गर्न तथा शारीरिक र मानसिक रुपले स्वस्थ नागरिक तयार गरी खेलको माध्यमबाट समाजमा शान्ति कायम गर्दै राष्ट्रको प्रगति र अन्तर्राष्ट्रिय जगतमा देशको पहिचान र राष्ट्रिय चिनारी उचो बनाउन खेलकुदको व्यापक विकास आवश्यक छ । त्यसैले त स्वास्थ्यको लागि खेल, पहिचानका लागि खेल, राष्ट्रका लागि खेल, अनुशासन र समृद्धिका लागि खेल, राष्ट्रिय एकताका लागि खेल भनिएको उनको भनाई थियो । खेलकुद विकासको पहिलो शर्त भने पूर्वाधारको विकास भन्दै उनले खेलकुद क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नु नै हो । तर, पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताए ।

वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र छन् । खेलाडीहरुले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नु परिरहेको सुनाए । ‘सरकारले यस क्षेत्रमा अपेक्षाकृत लगानी वृद्धि गर्न सकिरहेको छैन । सरकार, राखेप, खेल सम्बद्ध संघ संस्था, खेलाडी र सरोकारवाला सबैले यो राष्ट्रिय खेलकुदमा हामी संकल्प गरौँ –खेलकुदमा लगानी वृद्धि गर्नेछौँ, सुविधायुक्त पूर्वाधार निर्माणमा ढिलाइ गर्ने छैनौँ, खेलाडी र प्रशिक्षकको समस्या समाधान गर्ने छौं , राष्ट्रलाई सर्वोपरीमा राखेर खेल प्रदर्शन गर्ने छौैँ । किनकी साझा प्रयासविना यसको विकास कठिन हुन्छ ।‘ उपराष्ट्रपतिको भाषणमा उल्लेख थियो ।

ओलिम्पयन टिका बोगटीले ओलम्पिक दिप प्रज्वलित गरे । निर्णायकको तर्फबाट भलिबलका अन्तराष्ट्रिय रेफ्री टहलसिंह थापा र खेलाडीको तर्फबाट १८ औं एसियाडमा प्याराग्लाईडिङमा रजत पदक विजेता खेलाडी सुशिल गुरुङले सपथ लिएका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…