पूर्व राष्ट्रिय खेलाडी गौचनको फुटबल एकेडेमी सञ्चालनमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २६ गते २०७९ मा प्रकाशित


रिठेपानी, पोखरा-लामो समय जापान बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले पोखरा २७ रिठेपानीमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएका छन् । व्यक्तिगत १५ रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर गौचनले बि.जी फुटबल एकेडेमी सञ्चालनमा ल्याएका हुन् । एकेडेमीको शनिबारदेखि विधिवत रुपमा उदघाटन गरिएको हो ।

एकेडेमीको उदघाटन गर्दै अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले फुटबल एकेडेमीलाई एन्फाले आवश्यक प्रशिक्षक तथा खेल सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले एकेडेमीले आवश्यक पर्ने प्रशिक्षक र खेल सामाग्री माग गरे उपलब्ध गराउने स्पष्ट पारे । उपाध्यक्ष खड्काले बि.जी फुटबल एकेडेमीले फुटबल विकासमा नयाँ आयाम थपिने विश्वास गर्दै आवाससहितको व्यवस्था गर्न समेत आग्रह गरे । आवाससहितको एकेडेमीलाई एन्फाले सहयोग गर्ने दोहोर्याए ।

पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङले फुटबल एकेडेमीको लागि आवश्यक सबै खाले सहयोग वडाले गर्ने प्रतिबद्धता जनाए । फुटबल एकेडेमी वडाकै गौरवको विषय भएको भन्दै स्थानीय क्लब, आमा समूह, संघसंस्था सबैले सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

अखिल नेपाल फुटबल संघका पूर्व उपमहासचिव गणेशबहादुर भट्टराईले खेलकुदको महत्व विद्यालयबाटै बुझाउनुपर्ने बताए । उनले खेलकुदको महत्व बुझाउन नसक्दा गलत सस्ँकारमा फस्ने भन्दै विद्यालयस्तरबाटै खेलकुदको महत्व बुझाउन जरुरी रहेको उल्लेख गरे ।

एकेडेमीका संस्थापक बसन्त गौचनले आफुले जापानमा सिकेको सीपलाई एकेडेमी मार्फत उजागार गर्ने बताए । ‘विरुवा रोपेर मात्रै नहुने भन्दै विरुवाको संरक्षण, गोडमेल र व्यवस्थापन गर्न सकेमात्रै रुख बन्छ’उनले भने–‘एकेडेमी सञ्चालन गरेर मात्रै हुदैन् । संरक्षण र व्यवस्थापन गर्नु उत्तिकै चुनौति छ ।’उनले जापानमा ८ वर्षदेखि १६ वर्ष उमेर समूहको एकेडेमीलाई प्रशिक्षण दिदैं आएका छन् । उदघाटन समरोहमा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य दिलबहादुर गुरुङ, सहारा हङकङका पूर्व अध्यक्ष दिपक गुरुङ, खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ लगायतले एकेडेमीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

बि.जी फुटबल एकेडेमीको जापानस्थित फन रुट्ससहित अन्य विभिन्न एकेडेमीसँग सहकार्य गर्ने छ । जर्मनीको जुगेण्ड फुटबल एकेडेमी, कोलोनसँग द्धिपक्षीय सम्झौता भईसकेको समेत बि.जी एकेडेमीले जनाएको छ । फनरुट्सकै सहयोगमा यु १२ को नेपाली टोली वर्षेनी जापानमा फुटबल प्रतिस्पर्धाको लागि जाने गरेको छ । एकेडेमीका निर्देशक राजेन्द्र तामाङले एकेडेमीमा यु ८ देखि यु १५ सम्मका बालकहरु एकेडेमीमा प्रशिक्षण रहेका छन् । विभिन्न उमेर समूहका झण्डै ४० जना खेलाडीहरु प्रशिक्षणरत छन् । एकेडेमीमा बरिष्ठ फुटबल प्रशिक्षक शम्भु केसीको टोलीले प्रशिक्षण गराउने छ ।