न्यू डायमण्ड अन्तिम चारमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २६ गते २०७९ मा प्रकाशित


काठमाडौं-साविक विजेता होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । महिला तर्फ समूह ए को आज भएको खेलमा न्यू डायमण्डले एभेरष्ट भलिबल क्लब माथि २५–७, २५–१० र २५–१२ को सहज जित निकाल्दै ६ अंकका साथ सेमिफाईनलमा स्थान बनाएको हो ।

यस अघि डायमण्डले नयाँबजार सामाजिक युथ क्लबमाथि जित निकाल्दै ३ अंक जोडेको थियो । यस समूहबाट नेपाल पुलिस क्लबले पनि अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ । अव न्यू डामण्ड र पुलिस विचको खेलले समूह विजेताको टुङ्गो लाग्ने छ ।

आजै भएको महिला तर्फको अर्को खेलमा एपिएफले विजयी सुरुवात गरेको छ । एपिएफले गण्डकी प्रदेशलाई ३ – ० को जित निकाल्दै ३ अंक जोडेको छ । एपिएफले गण्डकी माथि २५–१५, २५–१० र २५–११ अंकको जित निकालेको हो ।

नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपको पुरुष तर्फको खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई २५–१२, २५–२० र २५–११ ले पराजित गर्दै ६ अंकका साथ अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भएको छ । यस अघि पुलिसले न्यूटन भलिबल क्लबलाइ पराजित गर्दै ३ अंक जोडेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषकै अर्को खेलमा भारतीय खेलाडी सम्मिलित दावाँली मिलन क्लबले आफ्नो दोश्रो खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–१ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ । दावाँलीले मणिमुकुन्दलाई २१–२५, २५–२१, २५–२२ र २५–२३ ले पराजित गरेको हो । समूह ए मा रहेको दाँवाली पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब संग पराजित भएको थियो । यस समूहबाट आर्मी पहिलेनै अन्तिम ८ मा स्थान बनाउन सफल भईसकेको छ ।

यस्तै अर्को पुरुष तर्फकै खेलमा गण्डकी प्रदेशले जित हात पारेको छ । गण्डकीले पहिलो पटक च्याम्पियनसिपमा सहभागिता जनाएको न्यूटन भलिबल क्लबलाई २५–१२, २५–१७ र २५–२२ ले पराजित गर्दै ३ अंक जोडेको छ ।
यस च्याम्पियनसिपबाट नेपाल भलिबल संघले फागुणमा आयोजना गर्ने एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिताका लागि ८ पुरुष र ६ महिला क्लब छनौट हुने छन् ।